>

जेष्ठ ३१, २०७८ सोमबार

आमा ! प्रसूति पीडामा छट्पटाएका आमाहरू छाडेर तीजमा आउन सकिन



दरखाने दिनको बिहानी डयुटी जाने तरखर गर्दै थिएँ आमाले फोनमा भन्नुभयो – ‘वरपर सबैका घर उज्यालो भयो तर तिमी आइनौ छोरी, हाम्रो घरमा त नरमाइलो भयो । बोली फुटेन । भक्कानिँदै फोन राखेँ । अनि आाखाबाट गङ्गा बगाएँ । तवमात्र मन अलि हल्का भयो ।

भित्तामा हेरे घडीले साढे सात बजाइसकेछ । खाना खान मन लागेन कपडा लगाएँ । अनि ड्युटी निस्किएँ ।

मलाई पनि घर आउन मन नभएको कहाँ हो र ? सम्हालेर राखेकी छु आमा ती विगतहरू । आफ्नै घर,आफ्नै पाखापखेरा, आफ्नै गाउँका गीत संगीत, हजुरको काख, सबैको सम्झना मुटुभरी छन ।

आमा हाम्रो भेटघाटलाई न झरी, न झरना, न त कुनै खोला, नदी, केही कुनैले पनि छेक्न सक्दैनथ्यो । तर आज विवशता र जिम्मेवारीले मलाई चाडपर्व भन्दा धेरै बाबू आमा र बालबच्चाको स्वास्थ्य नै ठूलो लागिरहेको छ ।

मेरो पेशा यस्तै छ । तर यसले तपाईँ जस्तै धेरै आमाहरूको मुहारमा चमक ल्याइदिन्छ । आमा तपाईँलाई जति पीर चिन्ता छोरीको छ, मलाई त्यति नै पीर अन्य आमाहरूको पनि छ ।

प्रसूति पिडामा छट्पटाईरहेका ती आमाहरू छाडेर म मेरी आमाको अंगालो भर्न आउन सकिन आमा । जतिसुकै पीर चिन्ता अभाव भएपनी हामीले आफ्नो धर्म भुल्ने छैनौँ भनेर बलेको मैनबत्ति समातेर कसम खाएका थियौँ ।

आमा, केही दिन अघिको तपाइँसँगको ममताको कुरा र मेरो जिम्मेवारी सम्झँदा सम्झँदै अर्को समाचार आएको छ । जसको स्वास्थको लागि हामी दिनरात नभनी खटिरहेका छौँँ, आज उनैबाट हामी अपमानित र तिरस्कृत भएका छौँ । तर पनि हामी काममा बिचलित भएका छैनौँ ।

मेरी आमा तपाइँलाई थाहै छ आज विश्व कोरोना भाइरसबाट सर्ने रोग कोभिड १९ को महामारी सँग लडिरहेको छ । सम्पूर्ण स्वास्थ्यकर्मीहरू आफ्नो ज्यानको प्रवाह नगरी जोखिम मोलेर उचित सेवासुबिधा नहुँदा पनि रोगसँग लडिरहेका छौँ, जनतालाइ स्वस्थ बनाउन खटिरहेका छौँ।

आफ्ना र आफन्त नै नजिक पर्न डराइरहेको अवस्थामा हामी प्रत्यक्ष सम्पर्कमा रहेर उपचार गरिरहेका छौँ । यो समय हामिलाई सबै क्षेत्रबाट सहानुभुती र हौसलाको खाँचो छ , सङ्गै सम्पुर्ण जनतामा सचेतनाको पनि जरुरी छ ।

कोभिड १९ लाई मास्कले छेक्छ/रोेक्छ, सेनिटाइजरले मार्छ भन्ने सुनेको धेरै भो तर हालसम्म पनि यो नियन्त्रण बाहिरै छ । औषधि समेत पत्ता लागेको छैन । विभिन्न राष्ट्रहरूमा स्वास्थ्यकर्मीहरू सम्मानित भैरहेको बेला हाम्रो देशमा बसिरहेका घर/कोठा छोड्न बाध्य बनाउने, सामुहिक रूपमा घेराउ गरि अपमानित गर्ने, भौतिक आक्रमण समेत गर्ने गरेका घटनाहरू दैनिक बढिरहेका छन ।

आमा, हजुरलाइ थाहै छ, हामी युद्धमा होमिएका सिपाही जस्तै छौं यो बेला । फर्किनेको टुंगो छैन, हाम्रो रक्षाकबच भनेको तपाईं र तपाईं जस्तै अन्य आमाहरुको आशिर्वाद, सहानुभूति र हाम्रै आत्मविश्वास हो ।

हजुरले ‘जागिर मात्र खाने होइन, अरुले आहा भन्ने गरि काम गर्नु’ भनेको म सधै सम्झिरहन्छु । म जागिर मात्र खानलाई हैन देश र जनताको सेवा गर्नलाई कसम खाएर यो पेशामा प्रवेश गरेकी हूँ ।

मलाई आशिर्वाद दिनुस् आम, तपाइँकी छोरी बाँचेर मात्रै होइन बचाएर फर्किनेछु । हामी सबैको सहकार्य र मेहनतमा मानव जगतकै अभिशाप यस कोरोना भाइरसको विनाश पश्चात मानव जातिको विजय लिएर मुस्कुराउदै फर्किनेछु । हो म फर्किनेछु आमा ।।
(लेखिका नेपाल सरकारकाे स्वास्थ्यकर्मी हुन्)