बैशाख ७, २०८१ शुक्रबार

‘माया राम्रो डिम्पल गालैले’की गायीका पारू मोफसलबाटै साङ्गीतिक क्षेत्रमा जम्दै



बाँके । गायक बनेर नाम र दाम कमाउने सोँच भएका धेरै मान्छे संघीय राजधानी काठमाडौं हानिन्छन् । आफ्नो आबाजमा गीत निकाल्न भन्दै धेरै स्टुडियो श्रष्टा, सर्जक तथा एरेन्जर अनि संगीतकारका साथै स्टूडियोमा धाउँछन् । म्युजिक भिडियोको लागि उस्तै संघर्ष गर्छन, काठमाडौंमा ।

तर तपाईँले ‘बर्दिया राम्रो बढैया तालैले, माया राम्रो डिम्पल गालैले’ भन्ने गीत सुन्नुभएको छ ? यो गीतकी गायीका पारु मेफसलबाटै लोकदोहोरी क्षेत्रमा जम्न सफल भएकी छन् ।

विद्यालयस्तरदेखि नै विभिन्न साङ्गीतिक प्रतियोगितामा भाग लिएर प्रतिस्पर्धीलाई सहजै पराजित गर्न सक्ने क्षमता प्रदर्शन गर्ने पारु बर्दियाबाटै साँगीतिक क्षेत्रमा अघि बढेकी हुन् ।

नेपाल टेलिभिजनको कोहलपुर प्रसारण केन्द्र र बाँके बर्दियाका विभिन्न एफएम रेडियोमार्फत प्रत्यक्ष लोकदोहोरी गीत प्रस्तुत गरेर यस क्षेत्रका दर्शक स्रोतासामु आफ्नो कला र क्षमता प्रदर्शन गर्दै आएकी उनी स्रोता दर्शकको मन जित्न पनि सफल भएकी छन् ।

बर्दियाको बाँसगढी नगरपालिका–९ माछागढमा जन्मिएकी गायिका केसी अहिले बाँकेको कोहलपुरमा आएर साङ्गीतिक क्षेत्रमा सङ्घर्ष गरिरहेकी छन् ।

उनको पहिलो लोकदोहोरी एल्बम “बर्दिया राम्रो बढैया तालैले, माया राम्रो डिम्पल गालैले” बोलको गीतमा बर्दियाको प्राकृतिक सुन्दरता र पर्यटनको बयान गरिएकाले जिल्लावासीमा मात्रै नभई देशभरका स्रोता, दर्शकमाझ निकै लोकप्रिय बन्न पुगेको छ ।

पहिलो गीतको सफलतापछि उनी आफ्नो गीति यात्रालाई निरन्तरता दिने सोचमा बनाएकी छन् । “अहिले कोरोना महामारीको कारण सबै कार्यक्रमहरु स्थगित भएका छन्, त्यसैले यतिबेला दशैँ तिहारसम्बन्धी गीत निकाल्ने तयारी गरिरहेकी छु”, उनले भनिन्, “मोफसलमा बसेर साङ्गीतिक क्षेत्रमा लाग्नु धेरै चुनौतीपूर्ण कुरा हो तैपनि दर्शक स्रोताको मायाले सदैव हौसला दिने गरेको छ ।”

कोरोना महामारीका कारण औपचारिक कार्यक्रम तथा मेला महोत्सव नभएका कारण यतिबेला एफएम रेडियो र टेलिभिजनमार्फत लोकदोहोरी र कोरोनाविरुद्धको सचेतनामूलक गीत सङ्गीत प्रस्तुत गर्दै आएको उनले बताइन् । “कोरोना महामारी फैलिएको अहिलेको विषम परिस्थितिमा पनि एफएम रेडियो र टिभीमार्फत लाइभ लोकदोहोरी गाएर दर्शक र स्रोतासामु उपस्थित हुने प्रयत्न गरिरहेकी छु”, उनले भनिन्, “अहिलेको तीज यस्तै गरेर बित्यो, हेरौँ दशैँ तिहारमा के हुने हो ?”

साङ्गीतिक क्षेत्रमा लाग्ने सानैदेखिको इच्छाले अहिले विस्तारै सफलता पाउँदै गएको उनको अनुभुव छ । “सानैदेखि गीतसङ्गीतमा लागेर एउटा सफल कलाकार बन्ने मेरो सोच हो, यो क्षेत्रमा अझ धेरै गर्न बाँकी छ”, नवगायिका केसीले भनिन्, “अन्य दुई तीनवटा गीत लेखिसकेकी छु, कोरोना महामारी कम भएपछि म्यूजिक भिडियो निकाल्ने तयारीका साथ काम गरिरहेकी छु ।”

मोफसलमा बस्दा साङ्गीतिक क्षेत्रमा अवसर कम हुने भएकाले कलाकारले धेरै सङ्घर्ष गर्नुपर्ने उनको अनुभवले देखाएको छ । “दर्शक तथा स्रोताको मन जित्न सके मोफसलमा बसेर पनि साङ्गीतिक क्षेत्रमा जम्न सकिने आत्मबल बढेको छ । साङ्गितिक बजारका लागि मोफसललाई बिर्सनु हुँदैन”, उनले भनिन्, “म मोफसलमै बसेर यहाँका डाँडापाखा, नदीनाला र जनताका दिनचर्याका गीत गाउँदै छु ।”
प्राकृतिक सौन्दर्यले भरिपूर्ण पश्चिम नेपालका सामाजिक पक्षलाई आफूले गीतका माध्यमबाट उजागर गर्ने उनी बताउँछिन् ।