११ कार्तिक २०७७, मंगलवार
-->


प्रोफेसर बन्ने रहर छाडेर विद्युत प्राधिकरणको हाकिम


काठमाडाैं – कहिलेकाहीँ राती १० बजेसम्मै अफिस हुन्छिन, लीला । कार्यालयका सुचनाहरु अद्यावधिक गर्ने, सञ्चार गर्नुपर्ने ठाउँमा तुरुन्त सञ्चार गरिहाल्ने र सबैकुरा चुस्त दुरुस्त राख्ने काम गर्दागर्दै कहिलेकाहीँ अफिसमै मध्यरात हुन लागेको पत्तो हुँदैन । तर आफ्नो काम गर्दा दुःखको अनुभूति पटक्कै छैन, बरु झन जाँगर लाग्छ किनकि जति मेहनेत छ उति जनताको माया पनि छ, प्रशंसा पनि छ ।

त्यसैले त घाटाबाट नाफामा गएको, १८ घण्टे लोडसेडिङबाट निरन्तर विजुली पाएर जनताको मुहार उज्यालो पार्न योगदान गर्नेहरुको सूचीमा केही हिस्सा उनको भाग पनि पर्छ । भन्छिन् ‘प्रमुखको कुशल व्यवस्थापन र सबै साथीहरुको मेहनेतले हामीले जनताको माया पाएका छाैं, हिँजो विद्युतका कर्मचारी भनेपछि लाइन काट्नेहरु भनेर रिसाउने आम मानिसहरुले अहिले बिजुली दिनेहरु भनेर माया गर्नुहुन्छ । त्यसले हामीलाई काम प्रति थप उत्प्रेरीत बनाउँछ ।’

नेपाल विद्युत प्राधिकरण, अहिले जनताले खुलेरै प्रसंसा गरेको र चर्चामा रहेको सरकारी अड्डाहरु मध्येको अगुवा संस्था हो । कार्यालय प्रमुखको कुशल व्यवस्थापन र सबै कर्मचारीहरुको मेहनेतकै कारण त अहिले नेपालमा सबैभन्दा बढी चर्चा नेपाल विद्युत प्राधिकरणको छ । त्यही संस्थाकी एक अधिकृत हुन् लिला अर्याल । जनसम्पर्क तथा गुनासो व्यवस्थापन शाखा प्रमुख तथा सूचना अधिकारीको जिम्मेवारी बहन गरेकी अर्याल मातहतमा आफ्नो शाखामा ७ जना कर्मचारी छन्, त्यसमा महिलामात्रै ६ जना । सबैको मेहनेत उस्तै छ ।

नेपालको संविधानको धारा २७ अनुसार सबै नागरिकको सू–सुचित हुन पाउने हकको प्रत्याभूति दिलाउनका लागि सूचनाको हक सम्बन्धी ऐन २०६४ ले सबै सार्वजनिक निकायमा सूचना अधिकारी तोक्ने व्यवस्था गरेको छ । ऐन र सूचनाको हक सम्वन्धी नियमावली, २०६५ बमोजिम सूचना अधिकारीका काम कर्तव्य तोकिएका छन् । जसमध्ये कार्यालयका सबै सूचना अद्यावधिक गर्ने, प्रवाह गर्न मिल्ने र नमिल्ने सूचना छुट्याएर राख्ने, प्रत्येक ३/३ महिनामा सूचना सार्वजनिक गर्ने, आफ्नो कार्यालयको सूचना नियमित लिने तथा सुरक्षा, संरक्षण र भण्डारण गर्ने, सूचना माग्नेलाई दिने, सूचना उपलब्ध गराउन नसक्ने भएमा जानकारी गराउने, कार्यालय प्रमुखसँग समन्वयदेखि पत्रपत्रिका तथा पत्रकारहरुलाई सूचना तथा जानकारी दिने, फोनहरु रेस्पोन्स गर्ने काम उनको हो ।

आफ्नो जिम्मेवारीलाई कसरी सकेसम्म प्रभावकारी बनाउने भन्नेमै ध्यान दिँदा उनको कार्यालय समय बित्छ । संविधानले प्रत्याभूत गरेको जनताको अधिकार कार्यान्वयन र कार्यालयको सूचना प्रवाह दुवै दायीत्व एकसाथ निर्वाह गर्दा उनको कार्यालय समय कहिलकाहीँ लम्बिन्छ पनि । तर उनलाई यसको पर्वाह छैन, बरु जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न पाएकोमा खुसी छ ।

यो खुसी सम्म आईपुग्न उनको सानो संघर्ष भने छैन । व्यक्तिगत संघर्षदेखि कार्यालयमा आइपर्ने अनेकौँ आरोह अबरोह पार गर्नुपरेको बताउँछिन लिला । स्याङ्गजाको गाउँमा जन्मेर १७ वर्षको उमेरमा बिबाह गरी छोरी हुर्काउने र जागिरको तयारी सँगै गरेकी उनी २०६३ सालमा सहायक तहबाट सार्वजनिक सेवामा प्रवेश गरेकी हुन् ।

मेरो सबै पुरुषहरु प्रति सद्भाव छ । पुरुष प्रति प्रतिशोधको भावना छैन । तथापि पुरुषवादी सोच प्रति विरोध छ । बोलीमा लोली मात्र मिलाएर लैङ्गिक समानताको प्रत्याभुति हुदैन । समानताका नारा दिएर मात्र हुने भए त प्रजातन्त्रको पुनस्र्थापना दखिनै यि कुराहरु लागु हुन पर्नेहो । त्यसो हुन सकेन । किनकि कथनी र करनीमा कहिल्यै तादात्म्यता भएन । सबैको महिला प्रति नकारात्मक सोच हुँदैन । तथापि नेपालका सबैजसो कार्यालयमा महिला प्रति हेरिने आम पितृसतात्मक सोचको एक रुप हो गर्भवतीहरु प्रति गरिने नकारात्मक व्यवहार ।

त्यसपछि पनि पहिलो कुरा त महिला भएको कारण बालबच्चा हुर्काउनुपर्ने र दोश्रो कार्यालयको काम दुईवटै जिम्मेवारी पूरा गर्दैगर्दा अबरोध बन्छ महिलाप्रतिको दृष्टिकोण । तर पनि तीन वटै विषयलाई सहजताका साथ सामना गर्दै उनी खुल्ला प्रतिष्पर्धाबाट २०६८ सालमा सातौ तहको प्रशासकीय अधिकृतमा नाम निकाल्न सफल भइन् । अधिकृत र फेरी उही संघर्षसँग जुध्दै अहिले आठौं तह अर्थात सहायक निर्देशक सम्म आइपुगेकी छन् । कामको मुल्याङ्कनको आधारमा प्रत्येक वार्षिकोत्सवमा उत्कृष्ट कर्मचारीहरुलाई प्रदान गरिने प्रोत्साहन पुरस्कारबाट यस वर्ष उनी पुरस्कृत भइन् ।

‘भदौँ एक गते कार्यालयमै व्यस्त थिएँ, जुम मार्फत चलिरहेको कार्यक्रममा मेरो नाम पनि पुरस्कृतमा परेको सुन्दा पेशागत जीवनमा सबैभन्दा खुसी भएको अनुभुती भयो’, अर्याल भन्छिन्, ‘यसको लागि म प्राधिकरणको व्यवस्थापन प्रति आभारी छु । पुरस्कार उत्प्रेरणाको श्रोत हो । पसिनाको सबैभन्दा उच्च उपहार हो। उत्प्रेरणाले मनोवल बढाउछ । मनोवल उच्च भए कार्यसम्पादन उत्कृष्ट हुन्छ ।’

बच्चाहरुलाई अन्याय गरेँ कि भनेर मुटु फुल्छ

स्याङ्गजा जिल्लामा जन्मेर एउटा सरकारी स्कूलमा पढेको मान्छे । १२ कक्षामा अध्ययन गर्दै गर्दा १७ बर्षको उमेरमै विवाह । त्यसपछि तुरुन्तै बच्चा पनि जन्मियो । पढ्दै यहाँसम्म आइपुग्दा घरायसी जिम्मेवारी, परिवार प्रतिको जिम्मेवारी, बाहिर पनि उत्तिकै प्रतिस्पर्धा ।

उनको आज सम्मको भोगाइमा लाग्छ महिलालाई सबैभन्दा समस्या समय व्यवस्थापनमा छ । अझै रोजगारीमा लागेका महिलाहरुलाई त समय मिलाउन सबैभन्दा गाह्रो छ । ‘घरमा पनि गर्नै पर्‍यो,अफिसको कार्यसम्पादन पनि गर्नैपर्‍यो’, उनी भन्छिन, ‘बच्चालाई पनि समय दिन पर्यो । हामी महिलाहरुको समय भनेको रातीको समय रहेछ । जब खाना खाएर बच्चा सुत्छन, अनि मात्र पढन् शुरु गर्न पर्‍यो ।’

जागिर खान पनि पुरुषको तुलनामा महिलालाई धेरै संघर्ष गर्नुपर्ने उनको बुझाई छ । ‘एउटा केटा मान्छेलाई के हुन्छ भने जागिर खाएपछि उ अफिसको कामको लागि स्वतन्त्र हुन्छ तर हामी महिलाले चाँही त्यसरी समय दिन गाह्रो हुन्छ’, जागिरको भोगाईबारे बताउँदै अर्याल भन्छिन, ‘तर हामीले आफ्नो जिम्मेवारी नै पूरा गर्दैनौँ भन्ने चाँही होइन । पुरुषले भन्दा महिलाले धेरै जिम्मेवार तरिकाले काम गर्छन् भन्छु है मैले ।’

महिलाले दोहोरो जिम्मेवारी सम्हाल्नु परेकोले थप समस्या हुने उनको अनुभव छ । कार्यालयको काम छिटो छिटो सकेर बच्चा देखि घरपरिवारलाई पनि समय दिनुपर्ने हुन्छ । त्यसैले एकदमकम समयमा पनि धेरै रिजल्ट दिन सक्ने क्षमताको विकास महिलाहरुले गरेका हुन्छन् । तर पुरुषहरु भने बेलुका अबेर सम्म कार्यालयमा बसिदिने, कार्यालय समय सकिएपछि काममा धमाधुस गरेको देखिने भएपछि खुबै काम गरेजस्तो देखिन्छ । तर तर महिला अलिक समयमै घर हिँड्नुपर्दा काम नगरेजस्तो देखिने र आरोप लाग्ने उनको भनाई छ । ‘अहिले नै म सूचना अधिकारी छु । म राती १० बजे पनि इमेल गरिरहेको हुन्छु । केही जानकारी हेर्छु र मिडियालाई पठाउँछु । अपडेट गर्छु, र कहिलेकाही साथिहरु मार्फत गराउँछु । सधैँ ५ बजेपछि कार्यालयमा बस्न नसके पनि मेरो जिम्मेवारी पूरा त गरेकै छु नि’, उनी भन्छिन्, ‘तर एउटा पुरुष कर्मचारीहरु भने आठ १० बजेसम्म पनि अफिस बस्दिन्छन्, समय बढी दिएपछि धेरै काम गरेजस्तो देखिन्छ, हामी महिला घरमा आएर राती भएपनि आफ्नो जिम्मेवारी पूरा गरेका हुन्छौँ तथापि त्यो अलि नदेखिए जस्तो आभाष हुन्छ ।’

अर्यालको बुझाईमा महिलाहरु सफल हुन नसक्नुको मूख्य कारण समयको उचित व्यवस्थापन गर्न नसक्नु पनि हो । बच्चालाई कतिबेला, अफिसमा कतिबेला, पढाइलाई कतिबेला भनेर समय व्यवस्थापन गर्न नसकेमा हामी सफल हुन सक्दैनौँ भन्ने उनको निचोड छ । त्यसैले भन्छिन् , ‘आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो, हाकिमलाई खुसी पार्न काम गर्नुपर्छ भन्ने छैन । उच्च अधिकारीहरुलाई खरखुसामद गर्ने जमाना गइसके । मेरो विश्वास छ मोलाहिजामा विश्वास गर्नेहरु कहिल्यै उत्कृष्ट हुन सक्दैनन् । लोकतान्त्रिक शासन व्यावस्थामा प्रतिष्पर्धानै आफूलाई अब्बल पुष्टी गर्ने मुख्य आधार हो । सत्कर्ममा निरन्तर लाग्ने व्यक्ति पेशामा सफल हुन्छ , हुनुपर्छ पनि । ’

तर पुरुष वा महिला जोसुकै भएपनि आफ्नो अफिसियल जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्न नहुने उनको भनाई छ । आवश्यक पर्दा जनताको सेवाका लागि बच्चालाई भन्दा कार्यालयलाई नै बढी समय दिएका उदाहरण बग्रेल्ती छन् । कतिपय अवस्थामा आँफूलाई त्यस्तो विषयमा पछुतो पनि हुन्छ । ‘मैले कतिसम्म गरेको छु भने बच्चालाई अफिसबाट ल्याएर दिउँसो कोठामा ढोका थुनेर चुक्कुल लगाएर अफिस जाने पनि गर्थेँ,’ उनी भन्छिन्, ‘त्यो अवस्थाहरु सम्झँदा,ती पिडाहरु सम्झँदा मैले बच्चाबच्चीलाई ठूलो अन्याय गरें कि भन्ने लागेर एकदम मुटु भक्कानिएर आउँछ ।’

रहर प्रोफेसर बन्ने, विद्युत प्राधिकरणको अधिकृत

सरकारी सेवामा प्रवेश गर्नुभन्दा पहिला छोटो समय उनी नीजि विद्यालयमा पढाउँथिन् ।शिक्षण पेशामा नै लाग्ने रुची थियो, क्याम्पस पढाउने प्रोफेसर बन्ने। त्यसैले डिग्री अर्थशास्त्र विषय लिएर पढीराखेकी थिईन् । पढाउँदा पढाउँदैसाथीहरुको सुझाव र परिवारको सल्लाहले पहिला सामान्य हिसाबले अनुभव र अभ्यासका लागिलोक सेवाको परिक्षा दिने सोँच बनाइन् । तर यति राम्रोसँग अध्ययन पुगेछ कि पहिलो पटकमै सहायक स्तरमा नाम निस्क्यो, २०६३ सालमा । नाम निस्केपछि कालिगण्डकी जलविद्युत आयोजना, स्याङ्जामा पोस्टिङ्ग भयो।

जगिरमा नाम निस्केपनि एकातिर घर, श्रीमानबाट टाढा जानुपर्ने, त्यसमाथी प्रोफेसर बन्ने पहिला देखिकै ईच्छा । जागिर खानका लागि उनले त्यति रुचि देखाइनन् । ‘तर जानुपर्छ पछि अनुकुलता अनुसार मिलिहाल्छ भनेर घरपरिवार, श्रीमान सबैबाट सहयोग भएपछि सरकारी जागिर शुरु गरेँ’, उनी भन्छिन् ।

जागिरमा सफल भइसकेपछि भने उनको सोँच बदलियो । अफिसरमा नाम निकाल्छु भन्ने आँट आयो । अर्थशास्त्रमा डिग्री गरीसकेपनि सार्वजनिक प्रशासन तर्फ प्रतिश्प्रर्धा गर्न सहज होस भनेर काठमाण्डौंमा सरुवा भएपछि दोस्रो डिग्री स्वरुप जनप्रशासन विषय लिएर फेरी भर्ना भइन् । सँगसँगै अफिसर बन्ने तयारीमा लागिन् । ‘अफिसर हुनुपर्छ कुनै पनि हालतमा भन्ने भएकोले तयारी गर्दै थिएँ, प्राधिकरणमै आवेदन खुल्यो’, उनी भन्छिन् ‘अफिसरमा निस्कीहाल्यो । अनि समय, परिस्थति, सरकारी सेवामा पनि हामी महिलाहरु अगाडी जानुपर्छ भन्ने भावनाले नै यो पेशामा आउन उत्प्रेरित पर्‍यो ।’

तयारी पुग्यो भने सार्वजनिक सेवामा नाम निकाल्न गाह्रो नहुने उनी बताउँछिन् । प्राधिकरणको प्रशासकीय अधिकृतमा नाम निस्कँदा त्यतीखेरै सातौँ तहको अर्थशास्त्री, पाचौँ तह प्रशासन गरी तीन ठाउँमा एकै पटक नाम निकाल्न सफल भएकी उनी अन्तवार्तामा प्रशासन अधिकृतमा छनौट भइन् ।

महिलालाई क्षमता अनुसार अवसर पाउन पनि कठीन
सरकारी जागिरमा प्रवेश गर्दा तल्लो तहमा हुँदासम्म सबैजनाले माया गर्छन् । तर जव माथिल्लो तहमा पुगिन्, धेरै सहकर्मीको ब्यवहार परिवर्तन भयो । त्यसैले उनको विचारमा कार्यालयमा महिलालाई हेर्ने दृष्टिकोण नै दोषी छ । महिलाको सक्षमता, कार्यसम्पादन शैलीमा नै खोट लगाउने प्रयत्न गरिन्छ । महिलालाई कुनै उच्च पद वा श्रेणीमा रहेकोमा कार्यालयका अधृकृतलाई पाच्य हुँदैन । ’कार्यालयको हाकीम सकेसम्म पुरुष नै होस् भन्ने सोच पुरुष मात्र हैन केही महिला कर्मचारीहरुमा समेत रहेको देखिन्छ’ उनी भन्छिन, ‘यो सोचबाट ग्रसित कार्यालयमा महिलाहरुको अधिनमा रहेर काम गर्दा पुरुषहरु उकुसमुकुस अनुभव गरीरहेका हुन्छन् ।’

अर्को कुरा महिलाहरु कमजोर हो भन्ने खालको व्यवहार गरेर अवसरहरु दिन नखोज्नेहरु पनि हुने उनको बुझाई छ । उनका अनुसार सरकारी कार्यालयहरुमा महिलालाई अवसर दिनु भन्दा अगाडि नै महिला प्रति नकरात्मक सोच राखिन्छ । महिलाले जतिसुकै राम्रो काम गरे पनि पहिला कमजोरी खोज्ने प्रयत्न हुन्छ । ‘त्यही ठाउँमा ‘पर्फर्मेन्स’ नभएपनि केटाहरु चाँही ठिक छ भन्ने खालको एउटा वातावरण हुने तर हामीलाई चाहीँ कमजोर ठान्ने चलन छ’, अर्याल भन्छिन्, ‘ त्यसैले सबै भन्दा पहिले त महिला प्रति सकरात्मक सोचको विकास गर्नुपर्छ ।’

हाल आरक्षणको व्यवस्था भए पछाडी निजामति सेवामा महिला सहभागितामा वृद्धि भएको देखिए पनि पुर्ण रुपमा कार्य गर्ने वातावरण र अवसर भने नदेखिएको उनी बताउँछन् । उनका अनुसार यो अहिलेको टड्कारो समस्याको रुपमा देखा परेको छ । भन्छिन्, ‘अव महिला आरक्षण मात्र नभएर महिला सशक्तिकरणको आवश्यकता देखिएको छ । यस्ता सोचलाई बेवास्ता गर्दै उच्च मनोवलका साथ काम देखाउनु हाम्रो वाध्यता छ ।’

कुनै पनि क्षेत्रमा अगाडी बढ्नका लागि कामलाई पूजा गर्ने र अबसर खोज्दै जाने हाे भने चाहीँ सफल भइने उनको भनाई छ । ‘पछाडी पर्नुको कारण हामी अलिकति आफैँलाई कमजोर फिल गराएको कारणले पनि हो भने उनीहरुसंग साहनुभूति खोज्यौँ भने त हामीलाई अलि गाह्रो हुन्छ’, उनी भन्छिन, ‘हामीले साहनूभूति भन्दा पनि अवसर खोज्दै अगाडी बढ्यौ भने त्यो पनि ढिलो चाँडो परिवर्तन हुन्छ ।’

अर्को कुरा काम गर्न सक्ने भएपनि पुरुष कर्मचारीको तुलनामा महिलालाई विश्वास नगर्ने प्रबृत्ति पनि उनले भोगिन् । तर कुनै कुरामा आफ्नो अधिकारको लागि बिद्रोह पनि गर्नुपर्छ भन्ने भावना भएकी लीला आफ्नो कुरा जहाँपनि जोडदार रुपमा राख्दै संघर्ष जारी राखिन् । फलस्वरुप उचित जिम्मेवारी पाउन सफल पनि भइन् ।

त्यसैले महिला पनि क्षमतावान् छन् महिलालाई प्रतिनिधित्व गराउने मात्रै होइन, काम गर्ने अवसर पनि दिनुपर्छ भन्ने पक्षमा उनि वकालत गर्छिन् । ‘चुनौती पनि हामीले सामना गर्नुपर्छ, अवसर पनि हामीले पाउनुपर्छ, हामीलाई प्रतिनिधि मात्र राख्ने होइन’, उनी भन्छिन् । महिला सहायक कर्मचारी हुँदा डोमिनेट गर्ने बानी परेकाहरु माथिल्लो पदमा पुगेपछि असहज महसुस गर्छन । तर त्यो नेपाली समाजको संस्कार भएकोलेस्वभाविक भएको उनको प्रतिकृया छ । ‘मान्छेका दिमागले मैले यो गर्दिन भन्दा पनि भित्रैबाट भइरहेको हुन्छ तर उहाँहरुले नचाहेर पनि ढिलोचाडो अवसर दिनैपर्छ’, उनी भन्छिन्।

कार्यालयमा महिला भएकै कारण असहज अनुभुति भएको अवस्था

महिला गर्भवति हुनु, बच्चा जन्माउनु प्राकृतिक प्रकृया हो, सृष्टि धान्नका लागि । यो बेला झन धेरै माया र सहयोगको खाँचो पर्छ । तर जागिरे जीवनमा उनले यस्तो सम्म भोगिन कि गर्भावस्थामा कार्यालय नै नआउन भनियो, त्यो पनि आफ्नै हाकीमबाट । जीन्दगीमा उनलाई सबैभन्दा अविस्मरणीय घटना त्यही लाग्छ ।

‘गर्भावस्थाको जम्मा सात महिना भएकोले म टेवलवर्क त गर्न सक्थे, गरी नै राख्या थिएँ तर पनि त्यो थाहा पाइसकेपछि अफिसमा गर्ने व्यवहारमा फरक ग¥या जस्तो हुन थाल्यो’, उनी भन्छिन्, ‘अन्तिममा त मेरो वोसले के सम्म भन्नुभयो भने म्याडम तपाई यहाँ भएर मलाई अलिकति अफ्ठ्यारो भयो तपाई विदा बस्दिनुभयो भने मलाई अलिकति सजिलो हुन्थ्यो । त्यो क्षण मलाई अत्यन्तै दुःख लागेको क्षण हो । ’

हाकिमले त्यस्तो बेला सहजीकरण गर्नुको साटो असहज अबस्था सिर्जना गर्न खोजेपनि उनी बसिनन् । बरु जवाफ फर्काइन् – सर म त अहिले विदा बस्न सक्दिन । अहिले मलाई अफिस आएर सहज नै छ । म अलिपछि विदा बस्छु । म हुदाँ जुन काम गर्न अप््ठ्यारो भएको हो, त्यसमा मलाई नराखेर गर्नुस सरलाई सहज हुने गरी गर्नुस् ।’

एक त दुइ छोरीमध्ये एउटी शिशुकालमै प्रिम्याचुअर वेवी भएको कारणले गुमाएकी आमाको पीडा थियो, अर्को सुत्केरी विदा सकिएको थियो ।

उनको जवाफपछि पहिला पहिला तपाइँ यहाँबाट सरुवा नहुनुस् तपाइँले काम सिकिसक्नुभएको छ भन्ने हाकिम गर्भवती भएको कुरा थाहा पाएपछि भने ‘उसको सरुवा गर्दिए हुन्थ्यो,मलाई अफ्ठ्यारो भयो भनेर माथिल्लो निकाय सम्म पुगे । ‘यो कुरा सुन्दाखेरी मलाई अत्ति नै दुःख लाग्यो । किनकी यो त जो कोही महिलालाई पर्ने कुरा हो’, उनले तयो तितो यथार्थ सम्झन्छिन, ‘उहाँहरुको पनि घरपरिवार हुन्छ । उहाँहरुले पनि घरपरिवारलाई टाइम दिनुहुन्छ, विदा उहाँहरु पनि बस्नुहुन्छ । तर त्यो कुरालाई मेजर बनाइँदैन । महिलाहरुको चाँही सामान्य कुराहरु जोडेर महिलाहरुको मोरल डाउन गर्ने काम भइरहेको फिल हुन्छ मलाई ।’

महिलाहरुलाई त्यस्तो बेलाको संवेदनशिलाता बुझेर अभिभावकको भूमिकामा सहजीकरण गर्नुुपर्नेमा उल्टो सरुवा गरेर दुःख दिन खोजेको उनले कहिल्यै विर्सन सक्दिनन् । भन्छिन् – ‘त्यो बेला भनेको एकदमै सेन्सटिभ हो, नैसर्गिक अधिकार पनि हो हाम्रो तर त्यो बेलामा गरेका नराम्रा व्यवहार विर्सन गाह्रो हुँदो रहेछ ।

मेरो सबै पुरुषहरु प्रति सद्भाव छ । पुरुष प्रति प्रतिशोधको भावना छैन । तथापि पुरुषवादी सोच प्रति विरोध छ । बोलीमा लोली मात्र मिलाएर लैङ्गिक समानताको प्रत्याभुति हुदैन । समानताका नारा दिएर मात्र हुने भए त प्रजातन्त्रको पुनस्र्थापना देखिनै यि कुराहरु लागु हुन पर्नेहो । त्यसो हुन सकेन । किनकि कथनी र करनीमा कहिल्यै तादात्म्यता भएन । सबैको महिला प्रति नकारात्मक सोच हुँदैन । तथापि नेपालका सबैजसो कार्यालयमा महिला प्रति हेरिने आम पितृसतात्मक सोचको एक रुप हो गर्भवतीहरु प्रति गरिने नकारात्मक व्यवहार ।

सबैभन्दा खुसीको कारण छोरीहरु

लगभग ६ महिनाको प्रेम सम्बन्धलाई १७ वर्षको उमेरमा विवाहमा परिणत गरेपछि उनको जीवनको नयाँ अध्याय शुरु भयो । श्रीमान र परिवारको सहयोग र साथकै कारण अहिलेको अवस्थामा आउन सफल उनको प्रेम कहानी पनि रमाइलो छ ।

त्यतिबेला उनको घर नजिकैको स्कूलमा भर्खर स्नातक तह परीक्षा दिई खाली रहेको समयमा शिक्षण गर्न एक युवा आएका थिए । संयोगले कहिलेकाहीँ उनीहरुको भेट हुन्थ्यो । त्यहिबेलाको सामान्य चिनाजानीमै उनलाई कापीमा लेखेर एउटा प्रस्ताव आयो । केटाको बुझ्ने तरिका र बिचारले आकर्षित भइसकेकी उनले यो प्रस्ताव नस्वीकार्ने कुरै भएन । सहज रुपमा स्वीकारिन् र २०५७ सालमा विवाह भयो । श्रीमानको उमेर पनि काँचोनै भएकोले विवााहपछि पनि घुम्ने, रमाइलो गर्ने भन्दा उनीहरुआफ्नो पढाई र करियर बनाउन तिर लागे । त्यसताका कपीमा लेखेर प्रेम प्रस्ताव राख्ने व्यक्ति अहिले एउटा मेडिकल कलेजमा सिइओको रुपमा छन् ।

बिहे गरेपछि उनको पहिलो छोरी जन्मिईन । श्रीमान म्याग्दीमा रहेकोले उनले पनि काठमाण्डौबाट २०६७ सालमा पोखरा सरुवा मिलाइन् । जीन्दगी खुसी साथ चलेको थियो । दोश्रो बच्चा गर्भमा रहेको सात आठ महिना भएको थियो,पोखरामै हुदा उनको अधिकृत पदको रिजल्ज आयो ।नाम निस्कियो ।तर दुभाग्र्य त्यही बेला पुरै समयको भएपनि उनीहरुले नवजात शिशु बचाउन सकेनन् । यो उनको लागि सबैभन्दा पश्चातापको विषय बन्यो । ‘कतै म त्यतिबेला पोखरा सरुवा भएर नगएको भए केही हुन्थेन की भन्ने कुराले कहिलेकाहीँ आफैप्रति पश्चाताप लाग्छ, तर हुने कुरालाई छेक्न कस्ले नै सक्छ र?’, उनी भन्छिन् ।

एउटा पहिला नै बच्चाको विषयमा पश्चातापमा परिरहेकी उनलाई खुसीको क्षण पनि छोरीले नै ल्याइन् २०७४ फाल्गुण २४ गते नारी दिवसको दिन । अघिल्लो पटक छोरीलाईबचाउन नसकेको कारण निकै दुःखी भएकी उनको यो पटक पनि जब छोरी भएपछि उनी यती खुसी भइन् कि जिन्दगीमा सबैभन्दा खुसीको क्षण त्यहीभयो उनको लागि ।

उनको जीवनमा अर्को पनि यस्तो घटना छ, त्याे उनी कहिल्यै भुल्न सक्दिनन् । २०७५ साल भदौ अष्टमीको दर खाने दिन सबैजना खाना खान लागे । ठूली चाहिँ छोरी एकछिन गर्मी भयो छतमा जान्छु भनेर छतमा गइन् । एकछिनपछि बोलाउँदा कही पनि नदेखेपछि खोज्ने क्रममा छोरी त तीन तलाबाट तल लडेको भेटियो । तत्काल भाइले गाडिमा राखेर छोरीलाई अस्पताल लगे ।

तर उनलाई घरबाट अस्पतालसम्म पुगेको क्षण अहिलेसम्म याद नै आउदैन । उनलाई यति पीडा भयो कि आफू कुन अवस्थामा छु भन्ने पनि थाहा भएन । अस्पतालमा डक्टरले ‘ओ माइ गड तिमी तीन तलाबाट खसेको?’ भनेपछि मात्र उनी झसंग भइन् । त्यो नै उनको जीन्दगीको सबैभन्दा दुःखको क्षण थियो । तर भाग्य संयोग छोरीलाई कुनै ठूलो चोट लागेको रहेनछ । उनलाई केही दिन अस्पतालमा आराम गराएर डिस्चार्ज गरीयो । पछि छोरीले भनिन् हावा खान भन्दै छतको पर्खालमा चढ्दा त्यो घटना भएको थियो।

त्यतिवेला बरिष्ठ अर्थोपेडिसियन डाक्टर चक्रराज पाण्डेले छोरीलाई भगवानले हात थापेकोले यत्रो दुर्घटनामा सामान्य चोट समेत नलागेको भनेर अभिव्यक्त गरेको भनाई सधैँ उनको मानसपटलमा आउँछ । ‘त्यसैले भगवान प्रति आस्था पनि बढेर जान्छ ’, उनी भन्छिन् ।

यसरी जीवनमा अनेक घटना र परिस्थिती भोग्दै, जुध्दै आएकी उनलाई आँफू सफल हुन परिवार पनि सफल हुनपर्छ भन्ने लाग्छ । उनको बिचारमा एकअर्काको समस्या बुझ्ने,कहिले कसको परिवेश सहज होला, कहिले कसको परिवेश बुझेर एक अर्कालाई सम्मान ग¥र्यो भने सबैभन्दा ठूलो सन्तुष्टि त्यही हो । पारिवारिक सफलताको विन्दु त्यही नै हो । सफलता पाउन व्यक्तिले संघर्ष गर्नै पर्छ । तथापि पारिवारीक वातवरण मिलेन भने क्षमता भएर पनि प्रस्फुटन गर्न सम्भव छैन । एउटा महिला सफल हुन उसमा दृढता, परिश्रम गर्ने बानि साथमा पारिवारीक वातवरण पनि सकारात्मक हुनु जरुरी छ ।

error: Content is protected !!