बैशाख ८, २०८१ शनिबार

यौन दुर्व्यवहार आरोपीतसँगै मञ्चमा बस्नुपर्ने भएपछि ३ लाख राशीकाे ‘पद्मश्री साहित्य पुरस्कार’ अस्वीकार



यौन दुर्व्यवहारको आरोप लागेका व्यक्तिसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन आफूले नसक्ने भन्दै उपन्यासकार सञ्जीव उप्रेतीले ‘पद्मश्री साहित्य पुरस्कार’ अस्वीकार गरेका छन्।

उक्त पुरस्कार लिन यौन दुर्व्यवहारको आरोप लागेका राजनीतिज्ञ तथा लेखक मोदनाथ प्रश्रितसँग बस्नुपर्ने भन्दै अयोजकलाई पुरस्कार लिन नसक्ने जानकारी गराएका हुन् ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्मश्री साधना सम्मान प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको थियो। दुवै पुरस्कारको राशि ३/३ लाख रुपैयाँको छ।

अर्घाखाँचीकी भ्रष्टाचारबिरोधी अभियन्ता शारदा भुसालले प्रश्रितले आफूमाथि पटकपटक बलात्कार गरेको आरोप लगाएकी थिइन्। भुसालले लेखेको आत्मकथा ‘धरातल’मा उनले १३ वर्षको उमेरमा आफूसँग प्रश्रितले पटक–पटक जबर्जस्ती सम्बन्ध राखेको र यौन हिंसा गरेको आरोप लगाएकी छिन्। प्रश्रितले भने भुसालको पुस्तकमा लगाइएको आरोप निराधार रहेको बताएका थिए।

सोही कारण आफू लैंगिक हिंसा, उत्पीडन, जातीय विभेदका बिरुद्ध बोलिरहने व्यक्ति भएर यौन उत्पीडनको आरोप लागेका व्यक्तिसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन नसक्ने उप्रेतीले बताएका हुन् ।

‘प्रश्रितको देवासुर संग्राम मैले पनि पढेको छु, साहित्यकारका रुपमा मेरो उहाँलाई सम्मान छ तर उत्पीडनको आरोपमा उहाँमाथि किताब नै लेखिएको छ, त्यसलाई म बेवास्ता गर्न सक्दिन’, उनले भने ।

साहित्यकार उप्रेती आफू कुनै पुरस्कारका लागि पनि आफै आवेदन नदिने तर पद्मश्री सम्मानस्वरुप दिएकोले अस्वीकार नगरी हुन्छ भनेको भएपनि अहिले आएर प्रश्रितसँगै पुरस्कृत गर्ने थाहा पाएर आफूले लिन नसक्ने सूचना आयोजकलाई गराएको उनले बताए ।

आफूले पुरस्कारका लागि नलेखेको र पाठकको माया नै सर्वोपरी भएको उनले बताए। ‘मलाई एकजना पाठकले फोन गरेर मेरो किताबको बारेमा भन्यो भने त्यो नै मेरो पुरस्कार हो, एप्लाई गरी गरी पुरस्कार लिन मलाई मन लाग्दैन,’ उनले भने।