बैशाख ९, २०८१ आईतबार

यी निर्दयी आमा, जसले परपुरुषको सल्लाहमा २७ दिनको बच्चा जंगलमा फालिन



सल्यान शारदा नगरपालिका–२ पानीखोलाका  दान बहादुर भण्डारी ३ सन्तानका बाउ हुन । रोजगारीका लागि भारत गएका बेला श्रीमतीले सकुशल घर फर्कने कामना गरेर बस्छीन् ।

यसपाली कोरोना महामारीले समस्या भयो । श्रीमतीले दुःख सुख घरै गरौँला भनेर बोलाईन् । क्वारेण्टाइन बसेका श्रीमानमा कोरोना संक्रमण नदेखियोस र चाँडै घर आउन भन्ने उनको कामना थियो ।

तर सोमबार बिहान क्वारेण्टाइनबाटै प्रहरीले समाएको थाहा पाउँदा उनको  मन अताल्लियो । आफ्ना श्रीमानले अर्कै महिलाबाट जन्माएको बच्चा जंगलमा फालेको कुरा थाहा पाइन् छाँगाबाट खसेजस्तै भईन् ।

प्रहरीका अनुसार सोमबार बिहान सल्यानको श्रीनगरमा मर्निङ्ग वाकमा गएकाहरुले जंगलमा बच्चा फेला पारेका थिए ।

खलंगा श्रीनगर सडकखण्ड अन्तर्गत शारदा नगरपालिका २ माझी पौवाको छहरा नजिक जंगलमा बच्चा रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बच्चा भेटिएको नजिकै बालकको कपडा र एउटा झोला पनि फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए ।

त्यसपछि नवजात शिशुलाई उद्धार गरी सल्यान जिल्ला अस्पतालमा राखेर अभिभावकको खोजी शुरु गरेको प्रहरीले केही घण्टामै बच्चाका आमा बाबु पत्ता लगाएको हो ।

किन फालियो २७ दिनको बच्चा जंगलमा

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्द थापाका अनुसार बच्चाका बाबु दान बहादुर र शारदा नगरपालिका–३ की  ३५ वर्षीया आमा शान्ता परियार  दुवैजना विवाहित हुन । गतवर्ष भारत जाँदा सँगै गएका दान बहादुर र शान्ता एकवर्ष लिभिङ्ग टुगेदरमा बसे र त्यहि समयमै २७ दिन अघि बच्चा जन्मियो ।

अहिले गाउँफर्केका उनीहरुलाई कोरोना महामारी नियन्त्रणका लागि स्थानीय सरकारले क्वारेण्टाइनमा राख्यो । दान बहादुर विद्यालयमा स्थापना गरेको क्वारेण्टाइनमा बसे भने शान्ता सुत्केरी भएकोले होम क्वारेण्टाइनमा बसिन् ।

सल्लाहले बच्चा र आमालाई घर लिएर आएका दान बहादुरले क्वारेण्टाइन बस्दा  के सोँचे, शान्तालाई बच्चा जंगलमा फाल्न लगाए ।

रोजगारीको शिलसिलामा भारतको उत्तराखण्डमा बस्दै आएका उनीहरु बीच अवैध यौन सम्पर्कबाट बच्चा जन्मिएको र घरमा दुबै जनाले बच्चा नलैजाने सहमतिमा बाटोमै पर्ने जङ्गलमा छाडेको प्रहरी समक्ष बयान दिएका छन् ।

‘मेरा पनि घरमा छोराछोरी छन, तिम्रो पनि त्यस्तै, बच्चा जंगलमा छाडेर आउ कसैले पनि थाहा पाउँदैनन भनेपछि मैले जंगलमा छोडेर आएकी हुँ’, शान्तले प्रहरी समक्ष भनिन् । उनले हिँजो बेलुका ६ बजेतिर बच्चा जंगलमा छाडेको बताएकी छन् ।

शान्ता पहिलो श्रीमानतर्फ ३ बच्चा छाडेर डिभोर्स गरेकी महिला भएको प्रहरीले जनाएको छ ।

प्रहरी सक्रियताका कारण जंगलमा बेबारिसे रहेको बच्चा भेटिएको ६ घण्टामै प्रहरीले अविभावक पत्ता लगाएर पक्रन सफल भएको छ। घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।