बैशाख १३, २०८१ बिहीबार

प्रधानमन्त्री ज्यू : बलात्कारीकाे डरले, छोरीकाे पीरले मन आत्तिन थाल्यो



नायीका ऋचा शर्माले देशमा बढेका बलात्कारका घटना र कानून कार्यान्वयनको लाजमर्दो अबस्थले गर्दा महिलाहरु डरत्रासमा बाँच्नुपरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नायीका शर्माले बलात्कारजन्य अपराधका कारण आफैलाई लाज र डर लाग्नुका साथै मन आत्तिन थालेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी हुन् ।

‘एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ डर लाग्न थालेको छ, मन आत्तिन थालेको’, उनले लेखेकी छन्, ‘ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ,।’

नायीका शर्माले अहिले आफूमात्र होइन, यस्तो अपराध र दण्डहिनताको कारण भोलीको आफ्नो सन्तान छोरी जन्मिएला र छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकिएला भन्ने डरले सताउन थालेको भन्दै देशको गम्भिर अबस्थाप्रति सचेत गराएकी छन् ।

देशमा बालिकाहरु बलात्कारीबाट जोगाउन नसेर कठैबरा हुनुपर्ने अबस्था रहेको भन्दै शर्माले हिजोआज डरले आप्नो पैताला डगमगाउन थालेको बताएकी छन् ।

शर्माले प्रधानन्त्रीका नाममा लेखेकाे चिठी
आदरणीय प्रधानमन्त्री ज्यू,
एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ,। मलाई भोलीको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ ।

मलाई भोली छोरा पाउन नि डर लाग्न थालेको छ । मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानूनले केहि नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ । दिनहुँ स-साना नाबालिकाहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ ।

जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौ झै लाग्छ। हामी टेक्नोलॉजीले चाहि विकसित भयौं तर अफसोस सोचले अझै पिछडिएका छौ ।

यहाँ बालिकाहरुलाइ खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौ । जनताको नभए पनि एकचोटी परिवारमा छोरी-नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन  ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउदैछन।

बाँकी तपाईहरु बुझकी !
निवेदक एक आम नेपाली नारी
ऋचा शर्मा