बैशाख १३, २०८१ बिहीबार

रुपन्देहीमा कोरोनाबाट दुई महिलासहित ४ जनाको निधन



रुपन्देहीमा कोरोना संक्रमणबाट दुईजना महिलासहित चार जनाको मृत्यु भएको छ । बुटवल ११ की ६१ वर्षीया र तिलोत्तमा नगरपालिका–३ की ६६ वर्षीया महिला तथा बुटवल–११ का ८४ र बुटवल–१ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण निधन भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकराी दिए ।

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत बुटवल ११ की ६१ वर्षीया महिलाको आज बिहान २ बजे मृत्यु भएको छ । असोज २१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि आईसीयूमा भर्ना गरीएको थियो ।

सोही अस्पतालमा बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे मृत्यु भएको छ । असोज २२ गते कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया र श्वासप्रश्वासको पनि समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका थिए । उनको आईसीयूमा राखेर उपचार भैरहेको थियो।

त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ घर भई दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार राती मृत्यु भएको छ । बुटवलमा आईसीयू बेडको अभावका कारण ती महिलालाई रुपन्देहीबाट शुक्रबार राति साढे १० बजे बेलझुण्डी अस्पतालमा पुर्याइएको थियो ।

उच्च रक्तचाप र मधुमेहको दीर्घ रोगी रहेकी उनलाई आईसीयूमा राखेर उपचार शुरु गरेपनि शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए । कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोनाका कारण मृत्यु हुने उनी नै पहिलो व्यक्ति हुन् ।

बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको छ । मुटुका दीर्घरोगी समेत रहेका उनलाई बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल वा नेपालगन्ज मेडिकल कलेज, कोहलपुर लैजान रिफर गरिएकोमा बाटोमै आइतबार बिहान मृत्यु भएको गौतमले जानकारी दिए ।