१२ कार्तिक २०७७, बुधबार
-->


लुम्बिनीकी कान्छी सरकार प्रमुख : १४ वर्षमै पढाइ छाडेर युद्धमा, शान्तिकालमा डिग्री पढेर सत्तामा


काठमाडाैं – घण्टौं हिँड्दै पिठ्यूँमा बोकेर खाद्यान्न ल्याउनुपर्ने, विहानभरी घरको काम, त्यसपछि घण्टौँ हिँडेर विद्यालय जानुपर्ने पीडा । त्यसमाथी आमा/भाउजु सुत्केरी हुँदा, भिर पहरामा घाँस दाउरा गर्दा आफन्त लडेर घाइते हुँदा, बाजे बजै बिरामी भएर अस्पताल लैजानुपर्दा स्टेचर गाउँमा नभएपछि काम्लोको स्टेचरमा दिनभरी बोकेर अस्पताल पुर्‍याउनु पर्ने बाध्यता । तत्कालिन नेकपा माओवादीले यी समस्याबाट मुक्त गर्ने भनेर भाषण गर्दा भर्खर बन्दुक बोकेर हिँडौ हिँडौँ नलाग्ने को थियो र ? तत्कालिन राज्य संयन्त्रले विकास नदिएर पछाडी परेको गुल्मीको ठूलो लुम्पेक मगर गाउँकी कुमारी बराल यी कुरा बुझ्न सक्ने भईसकेकी थिईन । त्यसैले उनलाई एजेण्डा मन प¥यो र १४ वर्षको उमेर विद्यार्थी संगठनमा इकाई सचिव हुँदै संगठीत भईन् ।

अध्ययन गर्दै गर्दा १५ वर्षको उमेरमा विद्यार्थीको जिल्ला सदस्य भएकी उनलाई सरकारले निगरानीमा राख्यो । गाउँमा धारा पँधेरा पु¥याउन नसक्ने राज्यले त्यसरी परिवर्तनको पक्षमा वकालत गर्नेलाई पक्राउ गर्न हप्तौँ पैदल हिँडाएर सुरक्षाकर्मी पठाउँथ्यो र पक्रेर ल्याउँथ्यो । राज्यको नजरमा आतंककारी संगठनमा बसेकी उनलाई पनि दिनहुँ प्रहरी गएर दुःख दिन थालेपछि पढ्दै गरेका कापी किताब थन्क्याएर उनी १६ वर्षको उमेरमा भूमिगत भईन् । पढ्दा पढ्दै कापी किताब फालेर हिँड्नुपर्दाको पीडाभन्दा धेरै पीडा उनलाई युद्धमा सरकारी सुरक्षाकर्मीको गोलीबाट जोगिँदा पनि भएन ।

१० वर्षे शसस्त्र युद्ध रोकिएर शन्ति सम्झौता भयो । त्यही मौकामा उनले भने आफूले गुमाएको महसुस गरेको सबैभन्दा ठूलो चिज प्राप्तिमा लागिन् । शान्ति प्रकृयापछि एस.एल.सी दिईन, आईए पढिन, बीए, एम.ए समेत समेत पास गरिन् ।

युद्धकालको संघर्ष छाडेर शान्तिपूर्ण प्रकृयामा आउँदा धेरैलाई अब आराम लाग्यो । तर कुमारीको संघर्ष भने झन थपीयो । अध्ययनसँगै राजनीति र आमाको भूमिका निभाउने काम एकसाथ अगाडी बढ्यो । संघर्षकै कारण लुम्बिनी प्रदेशको स्थानीय सरकारको एकमात्र प्रमुख हुँदैगर्दा उनी जीवनकै महत्वपूर्ण पाटो अध्ययनलाई एमफील तर्फ अगाडी बढाईन् ।

मगरकी छोरी, बाहुनकी बुहारी : सफलताको कारण परिवारको सहयोग

पढाई छाडेर बन्दुक बोकेकी एउटी महिलालाई ३४ वर्षको उमेरमा यी सबै सफलता कसरी संभव छ ? उनको जवाफ आउँछ ‘सफल हुनका लागि आफ्नो संघर्ष र परिवारको सहयोग चाहिन्छ, त्यसपछि बल्ल पार्टीे, समाज र बाहिरको कुरा आउँछ ।’

मगरकी छोरी, युद्धकालमै हुँदा रुकुमको ब्राम्हण परिवारमा उनको अन्तरजातीय विवाह भएको हो । जनयुद्धमा लागेको ४ वर्षपछि २ वर्षको प्रेम सम्बन्ध एउटा ठूलो जनसभा मार्फत विबाहमा परिणत भएको थियो । ‘म्याग्दी बाग्लुङ्ग, गुल्मीको एउटा ठूलो कार्यक्रम थियो त्यसमा एक रुपैयाँपनि खर्च नगरीकन बिबाह गरिएको हो’, उनी भन्छिन्, अहिले हाम्रो सम्बन्ध सुखमय नै छ ।’

गाउँपालिकाको अध्यक्ष भएपछि उनको व्यस्तता धेरै छ । नीति निर्माण देखि जनतालाई सेवा सुविधाहरु कसरी दिन सकिन्छ भन्ने विषयहरुमा गृहकार्य, योजनाहरु कार्यान्वयन, कार्यालयका अन्य काम, जनताहरुसँग भेटघाट, राजनीतिक दलहरुसँग छलफल, अन्तरक्रिया, योजनाहरुको अनुगमन, नियमनका काम निरन्तर भइरहेको हुन्छ । त्यसका साथै रुकुम पूर्व नयाँ जिल्ला भएकोले जिल्लामा रहेका सम्पूर्ण कार्यालयहरुसँगको समन्वय, भेटघाट, बैठक, छलफल लगायतका काम पनि धेरै छन् ।

यी कामले व्यक्तिगत फूर्सद कम नै हुन्छ । तर परिवारले पूर्ण सहयोग गरेको छ । ‘आफ्नै घरमा बसेपछि स्वभाविक रुपमा परिवारलाई समय त दिनु पर्‍यो नै, त्यसका लागि बिहान साँझ समय मिलाउने गर्छु। कतिपय अबस्थामा साँझ राती ९/१० बजेसम्म पनि अपिसबाट फर्कनुपर्ने हुन्छ ’, उनी भन्छिन्, ‘साँझ बिहान आफ्नो अध्ययन, बच्चाहरुको पठन पाठनमा ध्यान दिएको छु । त्यसको लागि हामी श्रीमान श्रीमति मिलेर काम गर्छौँ ।’ उनका श्रीमान बालबच्चाको लागि धेरै समय दिन्छन भने आफूले कहिलेकाहीँ मात्र ।

यसरी सफलताको पहिलो पाईलो परिवार बनाउने उनी पारिवारिक जीवन सुखमय बनाउनका लागि एकले अर्कोलाई जीवनसाथीको रुपमा बुझेर सल्लाह परामर्शको आधारमा चल्नुपर्ने ठान्छिन् । ‘भावनात्मक रुपमा र बैचारिक रुपमा पनि एकता भयो भने जीवन सुखमय हुन्छ’, उनी भन्छिन्, ‘एकआपसमा शंकालु व्यवहार, अनैतिक खालका कृयाकलापहरु नगरेर पूर्ण रुपमा विश्वास गर्ने, दुःख परेको बेला साथ सहयोग गरियो भने जीवन सुखमय हुन्छ भन्ने कुरा हामीले अनुभव गरेका छौँ ।’

युद्धमा बाँचेपछि सरकार प्रमुखको जिम्मेवारी

आफ्नो गाउँ राज्यले पछाडी पारेको । त्यही बेला यस्ता पछाडी पारेर गरीब दुःखी बनाइने चलनको अन्त्य गर्नुपर्छ, बर्गबिहीन समाजको निर्माण गर्नुपर्छ भनेर विद्यालयमा प्रशिक्षण दिँदै हिडेपछि कुमारीलाई उक्त कुरा साह्रै चित्त बुझ्यो । त्यसैबाट प्रभावित भएर राजनीतिमा लागेकी उनी युद्धमा बाँचेर अहिले स्थानीय सरकारको नेतृत्व गर्दै त्यही आफ्नो सोँच पूरा गर्ने निकायमा छन् ।

यसबीचमा उनी आवद्ध पार्टीले जनताका लागि धेरै काम गरेजस्तो लाग्छ । ‘वर्गबीचको संघर्ष, उत्पिडनमा परेका मान्छेहरुलाई सहयोग, राजनीतिक बैचारिक सहयोगका लागि आवाज उठाउने कुरा, बर्गीय हिँसा तथा लैंगिक हिँसाको बिरुद्ध आवाज उठाउने कुरा, पीछडिएको क्षेत्र, जातजातीको हितको लागि धेरै कुराहरु युद्धकाल देखि नै गर्‍यौं’, उनी भन्छिन्, ‘युद्धकालमा यसका लागि आवाज उठाउने र सचेत बनाउने काम गरियो भने अहिले विभिन्न कुराहरु कार्यान्वयनको शिलशिलामा गर्दै जाँदा खेरी हामीले कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा व्यवहारमै लागू गर्दे जाने अवसर पनि जुटेको छ ।’ यही अबसरलाई आफूले आवाज बिहीनहरुलाई आबाज दिने कुरा र जनताको जीवनस्तर कसरी उकास्न सकिन्छ भनेर काम गरिरहेको उनको भनाई छ ।

त्यसो त युद्धमा हिँड्दा आजको यो अबस्था आउला भनेर कल्पना पनि थिएन । यसरी परिवर्तन आउला, संविधान नयाँ बन्ला, सबैको अधिकारको लागि संविधान अनुसारका कानूनहरु बन्लान भनेर कल्पना नगरिएको भएपनि यो अबस्था आएपछि जनताको हितको लागि काम गर्ने मौकाको रुपमा लिएकी छन् । ‘हामी जनयुद्धमा हिँड्दा निश्चय पनि शहिद नै भइन्छ भन्ने कल्पना गरेका थियौँ,’ उनी भन्छिन्, ‘जुन अबस्था आयो, यसलाई अबसरको रुपमा लिँदै संविधानले दिएको अधिकार, विभिन्न पीछडीएको क्षेत्र, जाती लिंगहरुलाई नेतृत्व पंक्तिमा ल्याउन र भरपुर कार्यान्वयनको दिशामा म लागेको छु ।’

जनयुद्धमा जस्तो भावनात्मक एकता अहिले छैन

हिँजो युद्धका कम्युनिष्टमा उनीहरु साम्यवादको युगमा पुगेको कल्पना गर्थे । आफूहरुमा भावनात्मक एकता हुन्थ्यो । सबै जनताले पनि माया गर्थेे । सामुहिक बसाइ हुन्थ्यो । सामुहिक दुःखसुख साटासाट हुन्थ्यो । जो दुखि छ, जो गरिब छ, त्यसको समस्यालाई सहजै तरिकाले सहयोग गर्ने र समस्या हल गर्ने त्यो किसीमको अबस्था थियो ।

तर आजका कम्युनिष्टमा त्यो छैन । आफ्ना जनयुद्धका एजेण्डा पूरा गर्नका लागि सत्तामा पुगेर सरकारको नेतृत्व गर्दा त्यो किसिमको महसुस हुन नसकेकोमा उनलाई चिन्ता लाग्छ । चिन्ता मात्र होइन, जनयुद्धबाट अहिले शान्ति प्रकृयामा, शासन सत्तामा पुगेका कम्युनिष्टले सिक्नुपर्ने पाठ पनि हो । ‘हिँजो सरकारी सुरक्षाफौजले घेरा हालीरहेको अबस्थामा, घेरा तोड्नका लागि सहयोगी भावनाले काम सम्पन्न गरिन्थ्यो तर आज त्यो छैन’, उनी भन्छिन्, ‘कार्यकर्ताहरुबीच विभिन्न प्रतिस्पर्धात्मक व्यवहार छ । आजको लागि जनयुद्धको त्यो सिक्न लायक पाठ छ ।’

काम गराई पनि हिँजो युद्धकाल र आजको धेरै फरक छ । ‘हिँजो कम्युन मार्फत सबैले मिलेर काम गर्ने, जमिनका, पशुपालन, आर्थिक व्यवस्थापन, व्यापार बिजनेसमा सामुहिक कार्य हुन्थ्यो’, उनले भनिन्, ‘हामीले मोडल विद्यालय सञ्चालन गरेका थियौँ । त्यहाँ निःशुल्क पढाउने शिक्षकहरुको व्यवस्थापन थियो भने आज चाहिँ हरेक कुरालाई पैसासँग मात्र दाँज्ने, हरेक कुरालाई आफ्नो घमण्डको रुपमा लिने कुराहरु आईरहेको छ । हिँजोबाट सिक्नुपर्ने कुराहरु धेरै नै छन् ।’

यी हुन बराल नेतृत्वको सिस्ने सरकारले गरेका काम

आफू जनयुद्ध लडेर आएको मान्छे भएकोले सकेसम्म जनयुद्धमा उठाएका एजेण्डाहरुको कार्यान्वयनको दिशातर्फ सिस्ने सरकारलाई उन्मुख गराएको बताउँछिन बराल ।

विशेष गरेर शिक्षा क्षेत्रमा स्थानीय पर्यटन, कृषि, विभिन्न पूर्वाधारको अवस्थाहरु, त्यसपछि त्यहाँ रहेको भेषभुषा लगायतका क्षेत्रलाई समेटेर कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम तयार भइसकेको छ भने ७/८ को हुँदै छ । जसमा जनयुद्धको पृष्ठभूमिदेखि कृषिलाई उत्प्रेरणा गर्ने विषय सम्म छन् ।

जनतालाई आत्मनिर्भर बनाउनका लागि कृषि, सहकारी, समूहहरु मार्फत एउटा नमुना किसानको रुपमा भैँसीफर्म, बाख्रा फर्म र तरकारी खेतीका लागि त्यस्ता कार्यहरु, फलफूल माहुरीपालन लगायतका क्षेत्रहरुमा काम भईरहेको छ ।

त्यसैगरी गाउँपालिकामा जन्मिने छोरीहरुको २० वर्षसम्म बिमा, सुत्केरी महिलाहरुका लागि विभिन्न सुविधाका साथै निःशुल्क एम्बुलेन्स सञ्चालन, गाउँपालिकाकै पहलमा प्रसुति गृह बनाइएको छ । लामो द्धन्दलाई सबैभन्दा बढी भोगेको जिल्ला हो रुकुम । त्यसैले यो परिवर्तन सम्म आईपुग्नका लागि भएको शसस्त्र संघर्ष झल्काउने संग्राहलय बनाएर युद्ध पर्यटनको विकासका साथै पर्यटकिय क्षेत्रहरु कमलदह, गुप्ता दह, तातोपानी यस्ता पर्यटकिय स्थलको संरक्षण गर्नको लागि पनि डिपिआरहरु तयार भएको छ । त्यसैगरी औधोगिक क्षेत्र निर्माणको लागि पनि डिपीआर तयार भएको छ ।

गाउँपालिकामा उनी निर्वाचित भएपछि ६२ किलोमिटर सडक निर्माण कार्य पनि भइसकेको छ । खानेपानी, घरघरमा धारा, स्वास्थ्य, विद्युतको काम पनि भइरहेको छ । भौतिक पूर्वाधार भन्दा पनि कसरी नमूना गराउन सकिन्छ भन्ने काममा आफूहरु लागेको उनको भनाई छ । ‘जस्तो संघीय सरकारले लागु गर्नु भन्दा पहिला नै हामीले दिवाखाजा कार्यक्रम संचालन गरेका थियौँ भने विकट र दुर्गम ठाउँमा जाने स्वाथ्यकर्मीलाई निःशुल्क पठन पाठनको व्यवस्था सहित वडा नम्बर एकमा दुई जना अनमी, एकजना ल्याब टेक्नीसियन गाउँमा पठाएका छौंँ’, उनी भन्छिन्, ‘समग्र गाउँपालिकाको विकासका लागि पाँच बर्षे र २० बर्षे आवधिक योजना बनाएर काम गरेको कारणले गर्दा पनि हामीलाई त्यति काम गर्न अप्ठ्यारो छैन ।’

हरेक योजना कार्यान्वयन गर्ने समयमा सर्वपक्षिय बैठक राखेर ती योजना कसरी गर्ने, के गर्ने भनेर आम भेलाबाट नै निर्णय गर्ने र त्यसलाई गाउँसभाद्धारा पास गरेर कार्यान्वयनमा जाने गरेका छन् उनीहरु ।
विकासका काम मात्र होइन, गाउपालिकाको कार्यसञ्चालन तथा विकसका लागि अपरिहार्य हुने नीतिनिमार्णमा पनि अगाडी छ सिस्ने । योे अवधिमा ४९/५० वटा नीतिहरु समेत गाउँपालिकाले बनाएको छ ।

गुल्मेली चेलीलाई रूकुमेलीको साथ

गुल्मी जन्मेर उतै कार्यक्षेत्र रहेकी उनी शान्तिप्रकृया शुरुभएपछि गुल्मीबाट कार्यक्षेत्र परिवर्तन गरेर रुकुम पुगिन् । त्यहीँ संघर्ष गरिन् । पार्टीको निर्देशनलाई पालना गर्दै जनताको बिचमा रहेर समुह सहकारीहरु मार्फत पनि जनतासँग घुलमिल भइन् । जसका कारण चुनावी टिकट पाउने वातावरण बनेको उनी बताउँछिन् । ‘मैले आफूले जनताका बिचमा रहेर निरन्तर काम गरेको र पार्टीको पनि विश्वास जितेको कारणले गर्दाखेरी उम्मेदवारको टिकट पाएँ’, उनी भन्छिन्, ‘आन्तरिक रुपमा प्रतिस्पर्धा त भयो । तर पार्टीले मलाई विश्वास गरेर टिकट दियो। जनताले विश्वास गरेर जिताउनुभयो, काम गर्ने मौका दिनुभयो ।’

नेतृत्वमा पुग्नका लागि ठूलो र महत्वपूर्ण विषय भनेको आफैमा ईच्छाशक्ति र पारिवारिक सहयोग अपरिहार्य रहेको उनी दोहोरयाउँछिन् ।

युद्धमा साथी गुमाउँदा सबैभन्दा दुःख र तिनै साथीहरुको बलिदानी पछि संविधानसभाबाट नयाँ संविधान बनेको बेला सबैभन्दा खुसी लागेको बताउने बराललाई अहिले स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाउँदा पनि निकै खुसी लागेको छ ।

यो मौकामा गाउँपालिका भित्रका सबै जनतालाई आत्मनिर्भर बनाउने, र गाउँपालिकालाई समृृद्ध गाउँपालिका बनाउने उनको सपना छ । त्यसैगरी महिलालाई भिन्नै तरिकाले हेर्ने र अपहेलना गर्ने पितृसत्तात्मक संस्कार अन्त्य गर्न पनि उनी लागेकी छन् । ‘यसमा चाहीँ सबै महिला नेतृत्वहरुको साथ सहयोग र समर्थनका आवस्यकता पर्दछ’, उनी भन्छिन् ।

अन्त्यमा उनी भन्छिन् ‘मैले के भन्न चाहन्छु भने अहिले संघियता कार्यान्वयनको चरणमा छ । यो अबस्थामा हामीले यसलाई कसरी सफल पार्ने भन्ने कुरामा नेतृत्व, सरोकारवाला र आम नेपाली सचेत हुनु जरुरी छ । हामीले नेपालमा नयाँ व्यवस्था लागू गर्दै छौँ । हामीले आफूलाई आलोचना आउने काम नगरौँ । जनताको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय तह हो । संघ र प्रदेशले जुन किसीमका योनजा तर्जुमा गर्छन ति कार्यान्वयन गर्ने पनि स्थानीय तह हो । जनताको सबेभन्दा नजिकको, जनतालाई सुख दुःखमा साथ दिने र आलोचन खेप्नुपर्ने सरकार भनेको स्थानीय सरकार हो । जनताले सबै कुरा राख्नसक्ने, गुनासो गर्न सक्ने, तह र त्यसलाई कार्यान्वयन गर्ने तह हो । यसलाई सही तरिकाले कार्यान्व्यन गरौँ । जनतालाई साँच्चै सिँहदरबारको अधिकार गाउँमा ल्याएका छौँ भनेर लागू गर्न सम्पूर्ण जनप्रतिनिधी र कर्मचारी साथीहरुमा अनुरोध गर्न चाहन्छु । यसलाई अझै सुदृढ र संगठीत तरिकाले कसरी अगाडि बढाउन सक्छौँ भन्ने कुरा हाम्रा विभिन्न महासंघहरु पनि छन । त्यो मार्फत पनि हामीले कार्यक्रमहरु गरिरहेका छौँ । त्यसरी हामी अगाडी बढ्दा जनताबाट गुनासो नआउने तरिकाले सुशासन कायम गर्नमा जोड दिनुपर्छ, दिने प्रतिवद्धता व्यक्त गर्दछु ।’

 

error: Content is protected !!