बैशाख १, २०८१ शनिबार

बुटवलमा महिलाकाे स्कुटर खोसेर जलाउने ४ जना पक्राउ, काे हुन उनीहरू ?



बुटवल । बुटवलमा प्रदेश राजधानी माग गर्दै महिला कर्मचारीले चलाएको स्कुटर खोसेर जलाउने ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवल ११ बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देविनगर बस्ने ३५ वर्षका रोशन थापा, तिलोत्तमा नगरपालिका २ बस्ने २८ वर्षिय सन्दिप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका–८ घर भई बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा पढ्ने ३० वर्षका सुरज क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश सरकारले दाङको देउखुरीलाई राजधानी प्रस्ताव गरेपछि उनीहरुले गत असोज १६ गते बुटवल–११ देविनगरको होराईजन चोकमा आन्दोलनका नाममा तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ प २४७० नम्बरको स्कुटर महिला कर्मचारीबाट खोसेर जलाएका थिए ।

उनीहरुलाई आपराधिक उपद्रो गरेको अभियोग अभियोगमा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले बताए ।