बैशाख ४, २०८१ मंगलबार

पाँच वर्षअघि आफैले शिलान्यास गरेको रानीपोखरी राष्ट्रपति भण्डारीले आज उद्घाटन गर्ने



भूकम्पले क्षति पु¥याएको करिब साढे ५ वर्षपछि रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ वैशाख ११ गते भत्किएको रानीपोखरी निर्माण सम्पन्न भएपछि भोली उदघाटन हुने भएको हो ।

पुनर्निर्माणपछि बत्ती जोड्ने, रंगरोगन गर्ने, सरसफाइ गर्ने लगायतको काम सकिएपछि रानीपोखरीको भोली बुधबार दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

२०७२ माघ २ गते राष्ट्रपतिले रानीपोखरीको शिलान्यास गरेर भूकम्पपछिको पुनर्निर्माण अभियान सुरु गरेपनि लामो समयको अलमल र विवादपछि रानीपोखरी हालै मात्र पुनर्निर्माण सम्पन्न भएको हो ।

मल्लकालीन शैलीमा रानीपोखरी र बालगोपालेश्वर मन्दिर मल्लकालमै रहेको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।

पुनर्निर्माणको क्रममा शुरुमा रानीपोखरी काठमाडौं महानगरले जिम्मा लिएपनि कंक्रिट प्रयोग गरेर निर्माण गर्न थालेपछि विवाद भएको थियो ।

त्यसपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरी तथा पुरातत्व विभागले मन्दिर पुनर्निर्माणको जिम्मा लिएर भक्तपुरका कालीगढ ल्याएर परम्परागत तवरले कालोमाटोको प्रयोग गरेर पोखरीलाई पानी अडिने बनाइएको थियो ।