बैशाख १२, २०८१ बुधबार

नेपाल पत्रकार महासंघमा उपाध्यक्ष सहित ९ जना महिलाको प्रतिनिधित्व अनिवार्य



नेपाल पत्रकार महासंघमा एकजना उपाध्यक्ष सहित ९ जना महिला पत्रकारको प्रतिनिधित्व अनिवार्य गरिएको छ । अहिलेसम्म महिलाका लागि १ सचिव र ३ सदस्य सहित ४ पद मात्रै आरक्षित रहेकोमा एक उपाध्यक्ष र एक सचिव र ७ सदस्य गरी ९ जनाको प्रतिनिधित्व अनिवार्य गरिएको महासंघका सचिव लक्ष्मी पुनले बताइन् ।

पत्रकार महासंघको केन्द्रीय समिति थप समावेशी बनाउन एक जना महिला उपाध्यक्ष र १ जना महिला सदस्यको पद थप गरी केन्द्रीय समिति अब ४७ बाट ४९ सदस्यीय हुने व्यवस्था गरिएको छ ।

त्यस्तै केन्द्रीय समितिमा मधेशी, आदिवासी जनजाति, खस आर्य र दलितबाट एक एक जना महिला प्रतिनिधित्व हुने सुनिश्चितता पनि गरिएको छ ।

यसरी महासँघमा मधेशी, आदिवासी जनजाति र दलित तर्फका महिलाको अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरिएकाले उनीहरुको अहिले कायम २/२ आरक्षित प्रतिनिधित्व बढेर ३/३ जना सदस्य हुने भएको छ ।

त्यस्तै, पहिलेदेखि नै कायम रहेको मधेशी, आदिवासी जनजाति र दलितको २/२ सदस्य सिटमा अब तत् तत् समूदायका १÷१ जना महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ ।

महासंघले सचिव पदमा मधेशी, आदिवासी जनजाति र दलिततर्फका १/१ जना अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरेको छ । यो सँगै केन्द्रीय समितिमा मधेशी, आदिवासी जनजाति र दलितको ५० प्रतिशत महिला सहित चार चार जनाको अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ ।

यस उपलब्धिमाथि टेकेर महासंघलाई थप समावेशी बनाउन सबैको सहकार्य र संघर्ष अनिवार्य रहने सचिव पुनको भनाई छ ।