चैत्र १५, २०८० बिहीबार

देशमा विशिष्ट योगदान पुर्‍याएका ३०० महिलाहरुको जीवनी लेखिँदै



नेपालका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ३०० विशिष्ट महिलाहरुको सचित्र जीवनी प्रकाशित हुने भएको छ।

महिलाहरुले विभिन्न क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सांस्कृतिक संग्रहालयले सचित्र जीवन प्रकाशित गर्न लागेको हाे ।

सो संस्थाले यसअघि पुराना र नेपालमा कुनै पनि काम पहिलो पटक गर्ने महिलाबारे ‘नेपालका विशिष्ट महिलाहरुः ऐतिहासिक फोटो प्रर्दशनी’ गर्दै आएको थियाे ।

सांस्कृतिक संग्रहालयका अध्यक्ष क्षितीज अरुण श्रेष्ठका अनुसार नेपालका प्रथम नर्स लामु अमात्यको नाममा ‘विशिष्ट महिला अभिलेखिकृत अभियान –२०७७/७८’ अन्तर्गत महिलाहरुबारे अध्ययन अनुसन्धान गरी लेखन र प्रकाशन गर्न लागिएकाे हो।

जीवनी लेखनको जिम्मा विभिन्न पुस्तक लेखन तथा प्रकाशन गर्दै आएको घोष्ट राईटिङ नेपालले लिएको श्रेष्ठले बताए।

आगामी ६ महिनाभित्र सचित्र जीवनी प्रकाशित गरिसक्ने गरी दुई संस्थाबीच सम्झौता भइसकेको छ। जीवनी लेखनका लागि देश तथा विदेशमा रहेर विभिन्न विधामा विशेष योगदान पु¥याउने महिलाहरुको खोजी भइरहेको जनाइएको छ।

अभिलेखिकृत अभियान अन्तर्गत डिजिटल आर्काइभ, फोटो पुस्तक प्रकाशन र साताव्यापी फोटो प्रदर्शनीलगायत काम पनि गरिने भएको छ। जीवनीमा नेपालका ‘विशिष्ट महिलाहरू’, ‘प्रथम महिलाहरू’, ‘साहसिक महिलाहरू’ र ‘नेपालका चर्चित महिलाहरू’ लाई समावेश गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।