बैशाख १, २०८१ शनिबार

श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ



चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खबाङका ४२ वर्षीय ओमबहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको छ।

उनले आइतबार राति चिर्पट प्रहार गरी ४४ वर्षीया श्रीमती रिमाको हत्या गरेको प्रहरीले जनाएको छ। घरायसी बिषयमा विवाद हुँदा उनले श्रीमतीलाई चिर्पटले हानेका थिए। उनलाई इलाका प्रहरी कार्यालय दरवाङबाट गएको टोलीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक किरणजंङ्ग कुँवरले बताए।

घरायसी विवादमा भनाभन हुँदा मदिरा सेवन गरेका ओमबहादुरले श्रीमतीलाई दाउराको चिर्पट प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

स्थानीयवासीले इलाका प्रहरी कार्यालय दरवाङलाई खबर गरेपछि राति नै प्रहरी टोली घटनास्थल पुगेको थियो। ओमबहादुरलाई पनि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइने घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक पौडेलले बताए।

गत आर्थिक वर्ष २०७६र७७ मा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका कुल १५७ वटा मुद्दामध्ये ४२ वटाको कारण मदिरा सेवन देखिएको प्रनाउ कुँवरले बताए।

प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामध्ये २७ प्रतिशत मदिरा र बाँकी अन्य कारणबाट भएको प्रहरीको तथ्याङ्क छ।