बैशाख ११, २०८१ मंगलबार

कृष्णलीलामा अभिनेत्री हेरफेर : दीपिका आउट श्रद्धा इन



काठमाडौं : ‘चलचित्र ‘कृष्णलीला’ को प्रमुख अभिनेत्री हेरफेर भएको छ । सुटिङमा जाने तयारीमा रहेको ‘कृष्णलीला’बाट दीपिका प्रसाईं बाहिरिएर श्रद्धा क्षेत्री भित्रिएकी हुन् ।

लेखक लक्ष्मण सुवेदीले सामाजिक सञ्जालमा दीपिका बाहिरिएको जानकारी गराउँदै अब उनको ठाउँमा श्रद्धा क्षेत्रीले अभिनय गर्ने बताएका छन् ।

‘स्वास्थ्य समस्याका कारण दीपिका प्रसाईं चलचित्रबाट बाहिरिएकी छिन भने निर्माण पक्षले सो भूमिकाका लागि मुम्बईमा मोडलिङरत श्रद्धा क्षेत्रीलाई अनुबन्धित गरेको छ,’ सुवेदीले फेसबुकमा लेखेका छन् ।

दीपक ओलीको निर्देशन, रोहित कट्टेल र रत्न श्रेष्ठको निर्माण रहेको फिल्ममा पुष्प खड्का, बुद्धि तामाङ्ग, रबिन्द्र झा, नवीन रेग्मीलगायतका कलाकार प्रमुख भूमिकामा छ्न्।

निर्माण टिमले दीपिकाले छाडेपछि उनको ठाउँमा पूजा शर्मालाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर, पूजा शर्माले २५ लाख मागेपछि निर्माण टिम विकल्पतर्फ लागेको थियो ।

यही क्रममा निर्माण टिमले स्वस्तिमा खड्कालाई पनि अभिनयका लागि प्रस्ताव गरेको स्रोत बताउँछ । फिल्मको सुटिङ तिहार लगत्तै झापामा हुने निर्माण टिमले जनाएको छ ।

नयाँ अभिनेत्री श्रद्वा मुम्बईमा मोडलिङरत मोडल हुन् । उनले यसअघि पल शाहसँग ‘हृदयभरि’ शीर्षकको फिल्ममा अभिनय गरेकी छिन् । तर, सुटिङ भएको लामो समय भइसक्दा पनि फिल्मको काम सकिएको छैन ।