चैत्र १६, २०८० शुक्रबार

सरकारले राेक्न नसकेकाे महिलाहिँसा देउताको कारण रोकियो, गाउँ नै शान्त



डाेल्पा । बाहिर ब्यक्त नगरेपनि आजभोली धेरै ठाउँमा पुरुषहरुले दिनहुँ जाँड रक्सी सेवन गर्ने, आम्दानीजति रक्सी खाएरै सक्ने, रक्सी खाएर श्रीमती कुट्ने, परिवारलाई मानसिक तनाव दिने कारणले महिलाहरु चरम हिँसा भोग्न बाध्य छन् ।

कसैले इज्जत जाने डरले श्रीमानको कर्तुत सार्वजनिक नगर्ने र कसैले सार्वजनिक गरेपनि सरकारी निकायले कुनै वास्ता नगर्ने कारण हो महिला हिँसाको ठूलो समस्या बनेको छ । सरकारले हिँसाको यो प्रमुख कारण बन्दै गएको जाँडरक्सी रोक्नुपर्नेमा राजस्व सँकलन हुने भन्दै खुल्ला छाडेको छ ।

दिनहुँको कुटपिट र तनाव र यातनामात्र होइन, मदिरा सेवनकर्ता पुरुष बिरामी भएपछि फेरी घरखर्च चलाउन कमाउनुपर्ने र उपचार गर्नुपर्ने दोहोरो जिम्मेवारी र पीडा महिलाको थाप्लोमा आएको छ ।

प्रहरी प्रशासनले उजुरी परेमात्र पक्राउ गरेर छाड्ने तर गाउँ नै भाँड्नेगरी मनपरी बिक्री गर्नेलाई कारबाही नगर्ने, नियमनको जिम्मा पाएको स्थानीय सरकारले सके आफै मदिरामा मस्ती गर्ने नभएपनि राजश्वका लागि आँखा चिम्लने प्रबृत्तिले समाजमा बिकराल रुप लिँदै छ ।

सरकारी निकायले रोक्न नसकेर हैरान पार्ने जाँडरक्सी उत्पादन र बिक्री वितरण र प्रयोग डोल्पाको एउटा गाउँमा देउताका कारण बन्द भएको छ ।

भगवानको आग्रह भन्दै मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँमा मदिरा उत्पादन, विक्रिवितरण र प्रयोगमा पूर्णतया बन्द गरेपछि अहिले शान्त भएको छ ।

तेत्तीस घरधुरी भएको सो बस्तीमा कोही कसैले मदिरा उत्पादन तथा सेवन नगर्न देवताले नै आग्रह गरेपछि यस्तो भएको बताइएको छ । गाउँका सबै स्थानीय बासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र रक्सीको उत्पादन तथा बिक्री वितरण नै बन्द भएको छ ।

पहिलेदेखि मान्दै आएका कुल देवताहरुले मदिरा सेवन तथा बेचविखन गर्दा राम्रो नहुने भनेपछि पछिल्लो दुई वर्षदेखि मदिरा बन्द भएको पुजारी रामबहादुर बोहोराले बताए । “पहिले मदिरा सेवन गर्ने, होहल्ला गर्ने, घरमा दिनहुँ झैझगडा हुने, र विभिन्न घरेलु हिंसा हुन्थ्यो तर देवताले नै सबै रोक्न लगाएपछि अहिले सबै शान्त भएको छ”, वडा सदस्य मुनलाल बुढाले भने ।

सबै क्षेत्रीको मात्र बसोबास रहेको यो बस्तीमा पहिले मदिरा सेवन गर्नेहरुलाई पनि अहिले देवता प्रकट भएपछि एक किसिमको सकारात्मक सन्देश बाहिर गएको स्थानीय बासिन्दाहरुले बताउने गरेका छन् ।

धर्म संस्कृति बचाउन पुर्खादेखि पूजाआजा गर्दै आएका स्थानीयहरुले यो गाउँलाई मदिराको हिसाबले लगभग नेपालकै नमूना गाउँ बनाएका छन् । देवताहरुले गाउँमा अन्नबाली छर्दा, भित्र्याउँदा तथा अन्य शुभ कार्यका लागि संस्कार निर्माण गरेको स्थानीयवासीको भनाइ छ ।

देउता रिसाउने बाहनामा छाउपडी लगायतका कतिपय कुसंस्कार अँगाल्दा महिलाहरु चरम हिँसा सहन बाध्य भइरहेको बेला डोल्पाको एउटा गाउँमा भगवानप्रतिको आस्थाका कारण महिलाले शान्तिको स्वास फेर्न पाएका छन् ।