बैशाख १, २०८१ शनिबार

अमेरिकामा चारवटा इतिहास रचेकी उपराष्ट्रपति कमला : जसले आफू पनि जितीन्, राष्ट्रपतिलाई पनि जिताइन्



अमेरिकामा चुनावको उम्मेदवारी ताका राष्ट्रपति पदमा कमला ह्यारिसको खुबै चर्चा थियो र दावी पनि । इन्डियन–जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद उनले कुनैबेला राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन्।

तर पछि ५५ वर्षीया कमला ह्यारिस डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन् र झन चर्चा पाएकी थिइन् । उनै ह्यारिस हुन जसले अहिले उपराष्ट्रपतिमा निर्वाचन जितेकी छन् । र उनले दाबी छाडेको राष्ट्रपति पदमा उनकै पार्टीका तर्फबाट जो बाइडन बिजयी भएका छन् ।

राष्ट्रपति जितेका बाइडेनले कमलालाई उप–राष्ट्रपतिको उम्मेदावर भएपछि गर्व लागेको ट्विटरमा लेखेका थिए। उनले कमलालाई ‘बहादुर योद्धा र अमेरिकाकी सबैभन्दा उत्तम जनसेवकमध्ये एक’ भनेका थिए। क्यालिफोर्नियाको महान्यायाधिवक्ता हुँदा आफ्नो दिवङ्गत छोरासँग काम गरेकी थिइन् भनेर स्मरण पनि गरेका थिए। जुन छोरालाई बाइडन राष्ट्रपति बनाउन चाहन्थे ।

निर्वाचित भएसँगै कमला ह्यारिसको बहुजातिय पहिचानले गर्दा यो पटक तीनवटा कुराहरूमा पहिलो भएर रेकर्ड राखेकी छन् । पहिलो कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत महिला, दाेश्राे उक्त पदका लागि चुनाव लड्ने एसियन अमेरिकन महिला हुन् । र तेश्राे चुनाव जित्ने भने पहिलो महिला हुन् । यस अघिपनि उनले क्यालिफोर्नियाको पहिलो महिला महान्यायधिवक्ता भएर इतिहास रचेकी थिइन् ।

हालसम्म अमेरिकामा अश्वेत महिलाले राष्ट्रपति उम्मेदवारको टिकट पाएका थिएनन् भने टिकट पाएका दुईजना महिला मध्ये कुनैले पनि निर्वाचित हुन सकेका थिएनन् ।

उप–राष्ट्रपतिका लागि उम्मेदवार बनेकाहरुमा सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो थिए ।

क्यालिफोर्नियाको ओकल्याण्डमा सन् १९६४ को अक्टोबर २० मा जन्मिएकी कमलाले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गरिरहेकी थिइन्।

कमला ह्यारिसकी आमा भारतीय नागरिक श्यामला गोपालन क्यान्सर शोधकर्ता थिइन् भने बुबा जमैकाका नागरिक डोनाल्ड ह्यारिस अर्थशास्त्री थिए । आमा श्यामलाले नै कमला नाम छनौट गरेकी थिइन् । अध्ययनका लागि अमेरिका पुगेका उनीहरुको प्रेम र बिबाह भएको थियो ।

तर जब कमला ७ बर्षकी थिइन्, उनका बुबाआमाबीच पारपाचुके भयो । आमाले कमला र माया दिदीबहिनीलाई एक्लै हुर्काउनुपरेको थियो । अश्वेत र साउथ एसियन पहिचानका साथ कमला बाल्यकालमा हिन्दु मन्दिर र चर्च दुबैमा गइन् ।

कमला आफ्नी मावलकी हजुरआमाबाट निकै प्रभावित थिइन् । उनी बाल्यकालमा भारत पनि गएकी थिइन् । उनकी हजुरआमा भारतीय स्वतन्त्रता संग्राममा भाग लिएकी एक उच्च तहकी सरकारी कर्मचारी थिइन् ।

कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई ‘एक अमेरिकी’ भन्ने गर्छिन्।