बैशाख ४, २०८१ मंगलबार

ट्रम्पको सम्बन्धविच्छेद हुने : ह्वाइटहाउसबाट निस्कने दिन कुर्दै पत्नी मेलानिया



काठमाडौं : अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पको पत्नी मेलानिया ट्रम्पसँग सम्बन्ध बिच्छेद हुने भएको छ । राष्ट्रपतीय निर्वाचन हारेसँगै ट्रम्पसँग सम्बन्धविच्छेदका लागि मेलानियाले ह्‍वाइट हाउसबाट निस्किने दिनको प्रतीक्षामा रहेको ट्रम्प प्रशासनका एक पूर्व सहयोगीले बताएका छन् ।

यी जोडीको १५ वर्ष पुरानो वैवाहिक सम्बन्ध अब करिब करिब समाप्त भएको पूर्व सहयोगी ओमारोजा म्यानिगोल्ट न्युम्यानले बताएको बेलायतको चर्चित पत्रिका डेली मेलले जनाएको छ । ‘मेलानिया अहिले बितिरहेका हरेक मिनेट गनेर ट्रम्प कार्यालय बाहिर निस्किएपछि डिभोर्स दिने प्रतीक्षामा छिन्’ उनले भनेका छन्।

अमेरिकाकी प्रथम महिला रहेकी मेलानिया ट्रम्पका वरिष्‍ठ सलाहकारका रुपमा नियुक्‍त भएकी पूर्वसहयोगी स्टेफनी वोल्कोफले ट्रम्प दम्पती व्‍हाइट हाउसमा पनि अलग अलग बेड रुममा सुत्ने गरेकोले राम्रो सम्बन्ध नभएकाे बताएकी छन् । बिहे त उनीहरुका लागि एक सम्झौता मात्रै रहेको वोल्कोफको भनाई छ ।

अहिलेसम्म भने ५० वर्षीया मेलानियाले आफ्ना ७४ वर्षीय पतिसँगको सम्बन्ध सधैँ राम्रो रहेको बताइरहेकी थिइन् । तर पनि दुईबीचको सम्बन्ध कहिल्यै सुमधुर हुन नसकेको पुष्टि गर्ने धेरै घटना भएको उनका सहयोगीहरुले बताएका छन् ।

यसअघि डोनाल्ड ट्रम्पले आफ्नी दोस्री पत्नी मार्ला मेपल्ससँग कुनै किताब प्रकाशित नगर्ने र अन्तर्वार्ता पनि दिन नपाउने गरी सम्झौता भएको थियो। यता मेलानियाको मौनतालाई हेर्दा उनीसँग पनि त्यस्तै सम्झौता भएको हुन सक्ने समाचारमा जनाइएको छ।