बैशाख १, २०८१ शनिबार

किशोरावस्थामा यसरी विकास हुन्छ प्रजनन क्षमता तर परिपक्व हुँदैन



किशोरावस्था भनेको यस्तो समय हो, जुन समयमा मानव शरीर वाल्यावस्थाबाट वयस्क अवस्थामा परिवर्तन हुन्छ । यसै समयमा पुरुष तथा महिलामा प्रजनन क्षमता अर्थात बच्चा जन्माउने क्षमताको विकास हुनथाल्छ ।

महिलाको शरीरमा डिम्व उत्पादन गर्ने क्षमताको विकास हुन्छ भने पुरुषको शरीरमा वीर्य र शुक्रकीट उत्पादन गर्ने क्षमताको विकास हुन्छ । तथापि, महिला कम्तीमा २० वर्ष नपुगेसम्म सन्तान जन्माउनका लागि मानसिक, भावनात्मक एवम शारीरिक रुपमा तयार भएकी हुँदिनन् ।

केटाकेटीहरू किशोरावस्था प्रवेश गरिसके पछि उनीहरूको शरीर पूर्णरुपमा परिपक्क भएर वयस्क नहुंदासम्म उनीहरूलाई किशोर तथा किशोरी भनिन्छ । सामान्यतया यो अवस्था १० देखि १९ वर्षको उमेरसम्म रहन्छ ।केटीहरूमा सामान्यतया १०–११ वर्षको उमेर देखि किशोरावस्था (यौवनावस्था)प्रारम्भ हुन्छ, तर यो उमेर केही चाँडो वा ढिलो पनि हुनसक्छ ।

यस अवस्थामा, केटीहरूले आफूमा तल उल्लेख गरिएका शारिरीक तथा मानसिक परिवर्तनहरू देख्न सक्छन् :
o स्तन वृद्धि हुन थाल्छ
o योनि क्षेत्र र काखीमा रौं उम्रिन थाल्छ
o महिनावारी प्रारम्भ हुन्छ
o केटाहरू प्रति आकर्षण बढ्छ
o यौन सम्बन्धी कुरामा रुची बढ्छ

केटाहरूमा किशोरावस्थामा देखिने मुख्य परिवर्तनहरु(यौवना अवस्था सम्वन्धि) को शुरुआत केटीको तुलनमा केही ढिलो अर्थात सामान्यतया १२–१३ वर्षमा हुन्छ । तर, यो उमेर केही चाँडो वा ढिलो पनि हुन सक्छ । यो उमेरमा केटाहरूले आफूमा निम्नलिखित शारिरीक तथा मानसिक परिवर्तनहरू देख्न सक्छन् :
o स्वर धोद्रो हुन थाल्छ
o छाती, लिङ्ग वरिपरी, काखीमुनि रौं उम्रिन थाल्छ र दारी जुङ्गा आउन थाल्छ
o स्वप्नदोष हुन सक्छ (आफै स्खलन हुनसक्छ)
o वीर्य र शुक्रकीटको उत्पादन हुनथाल्छ
o केटीहरू प्रति आकर्षण बढ्छ
o यौन सम्बन्धी कुरामा रुची बढ्छ

किशोरावस्थामा हुने परिवर्तनहरू किशोर किशोरीका लागि अत्यन्त तनावपूर्ण हुन सक्छन् । अतः उनीहरूले यस्ता परिवर्तनहरू सामान्य हुन् र शारीरिक वृद्धि कै क्रममा हुन्छन् भन्ने बुझ्न महत्वपूर्ण हुन्छ । यसबाट उनीहरूमा भएको अनावश्यक डर तथा चिन्ता हटाउन मद्दत पुग्छ, र यस्ता परिवर्तनहरू हुंदा उनीहरू आफैले आफ्नो हेर विचार (के कस्तो सर्तकता अपनाउनु पर्छ) कसरी गर्नुपर्छ भन्ने थाहापाउन पनि सहयोग पुग्छ ।

आमाबाबुले यस उमेरका आफ्ना छोरा छोरीहरूलाई यी परिवर्तनहरू आउनु अगावै जानकारी गराउने र परिवर्तनहरूलाई आत्मसात गर्न सहयोग गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । खास गरेर केटीहरूलाई महिनावारीका बारेमा र केटाहरूलाई स्वप्नदोषका बारेमा जानकारी दिएर उनीहरूलाई सहयोग गर्न सक्छन् । आमाबाबुले किशोर किशोरीहरूले आफूलाई स्वस्थ राख्नुपर्छ भन्ने कुरा विशेष जोड दिएर सम्झाउनुपर्छ । यदि आमाबाबुले आफ्ना छोराछोरीहरूसंग यस्ता सवालहरूवारे कुरा गर्न अप्ठ्यारो मान्छन् भने उनीहरूले महिला स्वास्थ्य स्वस्यंसेविका अथवा स्वास्थ्य कार्यकर्ता अथवा शिक्षकको सहयोग लिने प्रयत्न गर्नुपर्छ ।

सामान्यतया शारीरिक, मानसिक र भावनात्मक परिवर्तनहरू हुने समयमा विपरित लिङ्गी व्यक्ति प्रति (केटा केटी प्रति केटी केटा प्रति) आकर्षण पनि बढ्न थाल्छ र योैन प्रति रुची पैदा हुन्छ । यसबेला नयाँ कुराको प्रयोग गर्ने र जोखिम लिने प्रवृत्ति हुन्छ । साथीहरूको दवावमा पर्ने पनि हुन्छ । त्यसकारण, किशोर किशोरीहरूले अपरिपक्व तथा जोखिमपूर्ण यौन कृयाकलापबाट आफूलाई कसरी सुरक्षित राख्ने भन्ने सम्वन्धमा जान्न अति महत्वपूर्ण हुन्छ । किनभने अपरिपक्व उमेरमा यौन कृयाकलापमा संलग्न हु‘दा नचाहंदा नचाहंदै गर्भ रहने तथा यौनरोग एवम् एच्.आइ.भी./एड्स सर्ने सम्भावना हुन्छ । केटा र केटी दुवैले अर्को के कुरा महशुस गर्न महत्वपूर्ण हुन्छ भने केटीको महिनावारी शुरु हुंदैमा उनी स्वस्थ बच्चा जन्माउन पूर्णरुपमा सक्षम हुन्छिन्, वा सो उपयुक्त उमेर हो भन्ने कुरा सत्य होईन । केटीको उमेर कम्तीमा २० वर्ष नपुग्दा सम्म उनको शरीर आमा बन्नको लागि पूर्णरुपमा तयार भएको हुंदैन ।