बैशाख १२, २०८१ बुधबार

१३ वर्षअघिको कुरा सम्झेर दीपिका पादुकोणले नाम फेरिन, जुन नामले जीवन र करियर बदलेको थियो



१३ वर्षअघिसम्म नामै नसुनिएकी बलिउड फिल्म इन्डष्ट्रिकी सबैभन्दा चर्चित नायिका दीपिका पादुकोणलाई अहिले धेरैले चिन्छन् । तर उनको यो चर्चा, सबैकी प्रिय र सबैभन्दा धेरै कमाउने नायिका कसरी बनिन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

खेलकुद परिवारसँग सम्बन्ध राख्ने दीपिकाले आफ्नो करियरको रुपमा अभिनयलाई अपनाएरबलिउडमा प्रवेश गरेपछि कसरी यहाँसम्म आइपुगिन आउनुहोस् जानकारी लिऔंः

सन् २००६ मा फिल्मी दुनियाँमा पाइला राखेकी दीपिकाले कन्नड फिल्म ‘ऐश्वर्या’ बाट आफ्नो अभिनयको डेब्यू गरेकी थिइन् । यो फिल्म निकै राम्रो चलेपनि नायक उपेन्द्रको अपोजिट लिडमा देखिएकी दीपिकाले यो फिल्मबाट पहिचान पाउन सकिनन् ।
तर आजभन्दा ठीक १३ वर्ष अघि सन् २००७ मा रिलिज भएको फराह खानको फिल्म ‘ओम शान्ति ओम’ मार्फत् दीपिकाले आफ्नो करियर र पहिचान बनाउन सफला भइन्।

९ नोभेम्बर सन् २००७ मा ठूलो पर्दामा रिलिज भएको यो फिल्ममा दीपिका, शाहरुख खान मुख्य भूमिकामा थिए । शाहरुख खानले दीपिकालाई यो फिल्ममार्फत् बलिउडमा लञ्च गरेका थिए । ओम शान्ति ओममा दीपिकाले शाहरुखकी प्रेमिकाको भूमिका निभाएकी थिइन् जसलाई दर्शकले निकै रुचाए । मानिसहरुले दीपिकाको सुन्दरताका साथै उनको अभिनयको पनि निकै तारिफ गरे । शाहरुख र दीपिकाको जोडी निकै हिट भयो । यतिमात्रै होइन, यो फिल्मका लागि दीपिकाले बेस्ट डेब्यू फिमेल क्याटगोरीमा फिल्म फेयर अवार्ड पनि पाएकी थिइन् ।

जुन वर्ष र जुन मितिमा फराह खानको ओम शान्ति ओम रिलिज भएको थियो त्यसै दिन ठूलो पर्दामा अर्को एउटा बिग बजेट फिल्म रिलिज भएको थियो जसको नाम थियो सांवरिया । यो फिल्मका निर्देशक थिए सञ्जय लिला भंसाली । त्यतिबेला सांवरियाको निकै चर्चा भएको थियो किनभने यो फिल्ममा दिवंगत अभिनेता ऋषि कपुरका छोरा रणबीर कपुर र अनिल कपुरकी छोरी सोनम कपुर बलिउडमा डेब्यू गरिरहेका थिए ।

यस्तोमा दुबै फिल्मबीच निकै ठूलो प्रतिस्पर्धा थियो । तर दर्शकले सांवरियालाई खासै रुचाएनन् र दीपिका पादुकोणलाई सबैले स्वागत गरे । यहि यो फिल्म थियो जसले दीपिकालाई स्टार बनाएको थियो ।

हो, आफ्नो करियर बनाउने त्यही फिल्म ओम शान्ति ओम रिलिज भएको १३ वर्ष पूरा भएको उपलक्ष्यमा दीपिकाले आफ्नो इन्स्टाग्राम डीपी र नाम फेरेकी हुन् । नायिकाले आफ्नो डीपीमा शाहरुख खानसँग फिल्मको एक गीतको फोटो राखेकी छिन् । यस्तै नायिकाले आफ्नो नाम फेरेर शान्तिप्रिया राखेकी छिन् । ओम शान्ति ओममा दीपिकाको नाम शान्तिप्रिया थियो ।