चैत्र १६, २०८० शुक्रबार

महिनावारीमा शरिरकाे हेरचाह कसरी गर्ने ?



किशोरावस्थामा शुरु भएपछि साधारणतया महिनामा एक पटक महिलाहरूको योनिबाट रगत बग्छ जसलाई नछुने हुनु, सर्नु वा महिनावारी हुनु भनिन्छ । यो साधारणतया एघार देखि तेह्र बर्ष उमेरका महिलाहरूमा शुरु हुन्छ र प्रायः पैंतालिस देखि पचास बर्षको उमेरमा बन्द हुन्छ ।

महिला रागरस (हर्मोन) हरूको प्रभावमा पाठेघर भित्रको तह बिस्तारै बढ्दै जान्छ र सो तह बाक्लो बन्छ । डिम्ब निसेंचन नभए पाठेघरको यो भित्री तह झर्छ । यसरी भित्री तह झरेर रगत आउनुलाई नै रजस्वला अथवा महिनावारी हुनु हो । यो रगत आफैमा फोहर वा दुषित होईन ।

तर यसबेला प्रजनन अंङ्गका सरसफाई एकदम आवश्यक छ । सावुनको प्रयोग गरी नियमित तवरमा नुहाउने गर्नु पर्छ । महिनावारीको रगत सोच्नलाई स्यानिटरी प्याड वा सफा सुति कपडाको प्रयोग गर्न सकिन्छ । प्याड दिनमा कम्तिमा एकपटक र चाहिएमा सो भन्दा बढी पटक फेर्नुपर्छ । प्रयोग गरेका प्याडहरूलाई जथाभावी नफालीकन राम्रो तरिकाले फ्याल्नु पर्छ । फोहर फाल्ने ठाऊँमा कुनै कागज वा प्लास्टिकको ब्यागमा राखेर फ्याल्नु पर्छ ।

यदि बजारमा पाईने स्यानिटरी प्याड किन्न सकिँदैन भने घरैमा प्याड बनाउन सकिन्छ। सफा सुति कपडाको ठूलो टुक्रा लिई त्यसलाई पट्ट्याउँदै आफुलाई चाहिने आकारको प्याड बनाउनु पर्छ । यस्तो प्याड बनाउँदा सिन्थेटिक (नाईलन, पोलिस्टर) वस्तु वा सिल्क प्रयोग गर्नु हुँदैन । प्रयोग गरिएको कपडा भरसक हल्का रंगको हुनु पर्छ त्यसले राम्ररी सफा भए नभएको हेर्न सकिन्छ । यसलाई पुनः प्रयोग गरिने भएको हुनाले राम्ररी धोएर घाममा नै सुकाउनु पर्छ ।

महिनावारी हुँदा तल्लो पेट वा ढाड एकदमै दुखेमा निम्नकुरा गरेमा केही आराम हुन्छ जस्तै तातो वस्तुले सेक्ने, आफुलाई सजिलो लाग्ने कुनै हल्का काम गर्ने, तातो पानीले नुहाउने, केही तातो पेय पदार्थ पिउने, पेटमा हल्का मालिश गर्ने । यति गर्दा पनि नभएमा स्वास्थकर्मीको सल्लाहमा दुखाई कम गर्ने औषधी खानु पर्छ ।

o १६ वर्षसम्म महिनावारी नभएमा स्वास्थ्यकर्मीसंग सम्पर्क राख्नुपर्छ ।
o महिनावारी हुन शुरु भएको केहि महिना सम्म महिनावारी नियमित नहुन पनि सक्छ त्यसैले चिन्ता लिनु पर्दैन ।
o नियमित भइसकेको महिनावारी रोकिन गएमा तुरुन्त स्वास्थ्यकर्मी संग सम्पर्क राख्नु पर्छ ।
o किशोरावस्थामा किशोर किशोरीहरू (विशेष गरेर किशोरीहरू)लाई सजिलै नियन्त्रणमा लिन वा फकाउन सकिने भएकोले यौन दुव्र्यवहार वा यौन शोषणमा पर्न सक्छन् त्यसैले त्यसवाट कसरी बच्ने भन्ने कुराको जानकारी दिनुपर्छ । किशोर किशोरी माथिको शारिरीक, मानसिक तथा यौन जन्य हिंसा कानुनी रुपमा दण्डनीय छ ।