चैत्र १६, २०८० शुक्रबार

५ सयको नोट खुट्टामा राखेर ढोगेपछि बलात्कारीलाई छुट



बझाङ मस्टा गाउँपालिका–२ की १४ वर्षीया बालिकालाई घट्टमा गएका बेला साउन २९ गते साँझ १८ वर्षीय राजेन्द बोहराले बलात्कार गरे । गर्भ रहे स्विकार्ने सर्तमा गाउँमै उक्त घटनामा मिलापत्र गराइयो । बलात्कार गरेबापत ५ सयको नोट जरिवानास्वरूप ती बालिकाको खुट्टामा राखेर बोहराले ढोगे ।

मिलापत्र भएको डेढ साता नबित्दै बोहराले १२ वर्षीया सम्झना कामीलाई बलात्कार गरे । उनले बलात्कारपछि ती बालिकाको हत्यासमेत गरे । बलात्कार र हत्या आरोपमा उनी पक्राउ परे । त्यसपछि मात्र पहिले गाउँमै मिलापत्रमा टुंग्याइएको बलात्कार घटनाकी पीडित बालिकाका आफन्त न्यायका लागि प्रहरीसमक्ष पुगे ।

बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बिहे गरेको ६ महिनामै सुत्केरी भइन् । ६ महिनामै बच्चा जन्माएपछि उनका आफन्तले केरकार गरे । आफन्तको चर्को दबाबपछि मात्र किशोरीले बलात्कृत भएका कारण गर्भ बसेको बताइन् । उनलाई पढाउने शिक्षकलगायत पाँचजनाले बलात्कार गरेको घटना सार्वजनिक भयो । घटना सुरुमा गाउँमै मिलाउन खोजियो तर दबाब बढेदै गएपछि प्रहरीले आरोपित पाँचैजनालाई पक्राउ गर्‍याे ।

सिगास गाउँपालिकाकै १८ वर्षीया अर्की किशोरी बलात्कृत भएको घटना ६ महिनापछि सार्वजनिक भएको छ । पीडितलाई एकतोला सुन दिने कागज बनाएर घटना गाउँमै सामसुम पार्न खोजिएको थियो । असार दोस्रो साता पानी भर्न जाँदा दीपकसिंह धामीबाट बलाकृत किशोरीलाई कात्तिक मसान्तभित्र एकतोला सुन दिने सर्तमा मिलापत्र गरिएको घटना अहिले आएर सार्वजनिक भएको हो । मिलापत्र गरिए पनि पीडितले पटकपटक धम्की र सुन नदिएपछि घटना बाहिरिएको हो । यो विषय बाहिर आएपछि प्रहरीले घटनामा संलग्नलाई कारबाहीको तयारी गरेको छ ।

बैतडी पञ्चेश्वर गाउँपालिका–४ का ४५ वर्षीय पुरुषले आफ्नै १० वर्षीया छोरीलाई दुई वर्षदेखि बलात्कार गर्दै आएको घटना गत असारमा बाहिर आएको छ । आमा अर्कै लोग्नेसँग गएपछि बाबुले पटकपटक छोरीलाई बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

बाहिर कसैलाई भने मार्ने धम्की बाबुले दिएकाले ती बालिकाले लामो समयदेखि पीडा सहदै आएकी थिइन् । ती बालिकाले पीडा सहन नसकेर गत असारमा घटना सार्वजनिक गरेपछि प्रहरीले उनका बाबुलाई पक्राउ ग९यो । अहिले उनी पुर्पक्ष थुनामा छन् ।

यी त सार्वजनिक भएका बलात्कारका केही प्रतिनिधि घटना हुन् । सुदूरपश्चिमका दूरदराजका गाउँमा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराइन्छ । प्रहरीले पनि सुदूरपश्चिमका दूरदराजमा बलात्कारका घटनामा मिलापत्र गराइने गरेको पाइएको जनाएको छ । धेरैजसो यस्ता घटना प्रहरीकहाँ पुग्दैनन् र पुग्न चाहनेलाई पनि तगारो हालिन्छ । यो समाचार आजको नागरिक दैनिकमा दिलबहादुर छत्याल र बिरा गडालले लेखेका छन् ।