चैत्र १५, २०८० बिहीबार

भक्तपुरमा कार दुर्घटना हुँदा युवतीको मृत्यु, तीन युवक घाइते, भागेका चालक पक्राउ



भक्तपुर । मध्यरातमा तिब्र गतिमा हुइँकिएको कार अनियन्त्रित भएर पल्टदा भक्तपुरमा एक युवतीको मृत्यु भएको छ भने तीन युवक घाइते भएका छन् ।

भत्तपुर हुँदै काठमाडौंतर्फ हुइँएिको बा. ८ च. ४७५६ नम्बरको कार कौशलटारमा फलामको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा काठमाडौंको धुम्बाराही पिपलबोट बस्ने ३० वर्षकी रिया श्रेष्ठको मृत्यु भएको हो ।

गएराति १२ बजेर ४७ मिनेटमा कार दुर्घटना परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले बताए ।

घटनामा मध्यपुरथिमी नगरपालिका– १, लोकन्थी बस्ने कार चालक २६ वर्षका रञ्जित कार्की, सोही नगरपालिका– ५ राधेराधे बस्ने वर्ष २६ का विजय देउजा सुर्यविनायक नगरपालिका– ४ गाम्चा बस्ने २७ वर्षका सुदप थापा घाइते भएको उनले बताए ।

घटनास्थल पुगेको प्रहरीले सडक किनारमा अचेत अवस्थामा लडेकी रियालाई तत्कालै उपचारार्थ मध्यपुर अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

मृतक श्रेष्ठ समेत तीन जनालाई लिएर काठमाडौँतर्फ जाने क्रममा दुर्घटना भएको आइतबार बिहान मात्र प्रहरीको नियन्त्रणमा आएका चालक कार्कीले प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन् ।
यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकारी डीएसपी गिरीले जानकारी दिए ।