चैत्र १६, २०८० शुक्रबार

श्रीमतीले विदेशमा कमाएको ७१ लाख लिएर श्रीमान् फरार, खोजी गरिदिन हारगुहार



बलेवा । विदेशमा पसिना बगाएर कमाएकाे रकम कुम्ल्याएर श्रीमान् फरार भएको भन्दै बागलुङ एक महिलाले श्रीमानकाे खोजी गर्न हार गुहार गरेकी छन् । आफूले जापानमा कमाएको रकम रु ७१ लाख लिएर बोकेर श्रीमान् प्रेम पौडेल फरार भएको भन्दै जैमिनी नगरपालिका–१ कुश्मीशेराकी सरीता सुवेदी पौडेलले श्रीमानको खोजी गर्न हार गुहार गरेकी हुन् ।

उनले जिल्ला प्रहरी कार्यालय बागलुङ र आप्रवासी स्रोत केन्द्र बागलुङमा श्रीमानको खोजी गरिदिन भन्दै निवेदन दिएकी छन् । दुई वर्षसम्म कमाएको श्रीमान् फरार भएको प्रहरीमा दिएको निवेदनमा उल्लेख छ । बागलुङ नगरपालिका–१४ नारायणस्थान माइतीघर भएकी सरीता र प्रेमबीच विसं २०६७ मा परम्परागत विवाह भएको थियो ।

विसं २०७१ मा विद्यार्थी भिसामा जापान पुगेका प्रेमले तीन वर्ष पहिला सरीतालाई डिपेन्डेण्ट भिसामा जापान लगेका थिए । ‘जापान पुगेपछि दुई वर्षको भिसा लगाइदिए, काम पनि थालेँ, तर कमाइ मैले राख्न पाइनँ’, उनले भनिन्, ‘कुटपिट गरेर सबै पैसा लगेपछि म शरणार्थी बन्नुपर्यो ।’ उनले जापान पुगेदेखि नै सम्बन्ध राम्रो नभएको बताइन् ।

धेरैपटक सम्बन्ध सुधार गर्न खोजे पनि श्रीमान् फरार भएको उनले बताइन् । लामो समय सम्बन्धमा दरार आएपछि उनीहरू एनआरएनए जापान र बलेवा सेवा समाजको पहलमा नजिकिएका थिए । भिसा सकिएपछि डिपेन्डेण्टमा जापान पुगेकालाई सहमति आवश्यक पर्छ । श्रीमान्ले सहमति नदिएपछि एक वर्षसम्म शरणार्थीका रूपमा आफन्तकोमा बस्नुपरेको सुवेदीले बताइन् ।

‘पछि छलफल भएर नेपालसँगै फर्किने, सँगै बस्ने र फर्किँदा भिसाको प्रक्रिया गर्ने भनेपछि नेपाल आयौँ, नेपाल आएपछि काठमाडौँमा दुई दिन र बागलुङमा १२ दिनको क्वारेन्टिइन बसेर उहाँ फरार हुनुहुन्छ”, उनले भनिन्, ‘होटलमा क्वारेन्टिनका फरक–फरक कोठा थिए, मङ्सिरको २३ गतेदेखि सम्पर्क छैन ।’

उनीहरू मङ्सिरको १३ गते नेपाल आएका थिए । सँगै आएको श्रीमान् र कमाएको पैसासमेत नरहेकाले आफू बेसहारा भएको भन्दै उनले खोजीका लागि आग्रह गरेका थिए ।

उनीहरूको आठ वर्षको एक छोरा छन् । ‘पहिले देवरसँग घरमा रहेको छोरा माइतीमा राखेकी छु’, उनले भनिन्, ‘पहिलेदेखि नै मसँग टाढिन चाहनुभएका श्रीमान् हराउनुभयो, मेरो न टेक्ने डाली छ न समाउने हाँगा ।’

सुवेदीले निवेदन दिएपछि ७७ वटै जिल्ला प्रहरी कार्यालय र त्रिभुवन विमानस्थलमा समेत प्रहरीले फरार भएका उनका श्रीमान्को हुलिया पठाएको छ ।

‘हामीले खोजी थालेका छौँ, तर केही पत्ता लागेको छैन’, प्रहरी निरीक्षक विजय भण्डारीले भने, ‘हाम्रो ‘इन्क्वायरी’भन्दा उनी पहिलै देशभन्दा बाहिर पुगेको पनि हुनसक्छन् ।’

यता परिवारले भने प्रेम र सरीताबीचको सम्बन्धका विषयमा जानकारी नभए पनि घरमा आएर सरीताले बस्न नचाहेका कारण समस्या पैदा भएको बताएको छ । आफ्नो घर र काम गरेर खान सक्दिनँ भनेर जापानबाट फर्केकी भाउजू घर छाडेर हिँडेको सरीताका देवर राजु पौडेलले बताए ।