बैशाख ८, २०८१ शनिबार

१२ देखि १४ वर्षका ६ हजार किशोरीलाई पाठेघरको क्यान्सरबाट बचाउने खोप लगाइँदै



काठमाडाैं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पाठेघरको मुखको क्यान्सरबाट बचाउन किशोरीलाई खोप लगाउने भएको छ ।

नेपाल सरकारको आफ्नै लगानीमा खोप किनेर लगाउन लागिएको यो पहिलो हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार १२ वर्षदेखि १४ वर्षभित्रका ६ हजार किशोरीलाई खोप लगाइदैछ ।

एक जनालाई दुई डोज खोप लगाउनुपर्ने हुन्छ । रु पाँच करोडको खोप खरिदका लागि बोलपत्र आह्वान भई सम्झौता भई सकेको उहाँले जानकारी दिनुभयो । आउँदो चैतसम्ममा खोप लगाउने योजना छ ।

चितवनमा पालिकासँग सहकार्य गरेर खोप लगाइने गौतमको भनाइ छ । विदेशी दाताको सहयोगमा विभिन्न जिल्लाका किशोरीलाई खोप लगाइएको भए पनि सरकारले आफ्नै खर्चमा पहिलो पटक खोप लगाउन लागेको उनको भनाइ छ ।

यहाँको क्यान्सर अस्पतालको गत वर्षको तथ्याङ्कअनुसार कूल क्यान्सर भएका बिरामीमध्ये ११ दशमलब ५७ प्रतिशत महिला पाठेघरका रहेका छन् । महिला मात्रैको क्यान्सरको तथ्याङ्क हेर्दा यो २१ प्रतिशत हुन आउने गौतमको भनाइ छ । किशोरीलाई खोप दिन सकेमा क्यान्सरबाट रोक्न सकिने उनले बताए ।