बैशाख ९, २०८१ आईतबार

निजी क्षेत्रलाई राष्ट्रपतिको सुझाव : रोजगारी र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्नुस्



राष्ट्रपति विद्यादेवी भण्डारीले रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न निजी क्षेत्रलाई सुझाव दिएकी छन् ।

आइतबार शीतलनिवास पुगेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग उनले अहिले पनि हामी अरुकै भर पर्नुपर्ने र रोजगारीका लागि बाध्य भएर बाहिर जानुपर्ने परिस्थितिलाई अन्त्य गर्न गम्भीर भएर लाग्न सुझाव दिइन् ।

चुलिँदो व्यापार घाटाप्रति पनि राष्ट्रपतिले चिन्ता व्यक्त गरिन् । हर कुरामा हामी बाह्य देशसंग निर्भर रहनुपर्ने अवस्था रहेको भन्दै उनले यो अवस्थालाई अन्त्य गरी आफ्ना लागि आवश्यक वस्तु आफैं उत्पादन गर्नुपर्ने धारणा राखिन् ।

स्वदेशी लगानी आकर्षण राज्यको प्रमुख प्राथमिकता हुनुपर्ने र स्वदेशी लगानी आकर्षण हुन सकेमात्र वाह्य लगानी समेत आकर्षित हुने राष्ट्रपति भण्डारीको भनाइ छ । कृषि, उर्जा, पर्यटन क्षेत्रको विकास मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने पनि उनले बताइन् ।

भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिड–१९ महामारीको असरबाट बाहिर ल्याउन सबैभन्दा बढी सहयोग आवश्यक परेको बताए ।

साना तथा मझौला व्यवसाय चल्न सके भने ठूला उद्योग स्वतः चल्न सक्ने भन्दै उनले यस्ता उद्योगका लागि सरकारले ल्याएका राहत कार्यक्रम कार्यान्वयन हुनुपर्ने धारणा राखे । उनले उद्योग वाणिज्य महासंघले ल्याउने भिजन पेपरले वार्षिक ४ लाख युवाका लागि रोजगारी सिर्जना गर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य लिएको पनि जानकारी गराए ।

सरोकारवालासँगको छलफल र विज्ञका सहयोगमा भिजन पेपर तयार गरिने र सरकारसँगको सहकार्यमा कार्यान्वयन गर्ने योजना आफूहरुको रहेको उनले बताए ।

आइतबार राष्ट्रपतिसँगको भेटमा महासंघका अध्यक्ष गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनसहितका पदाधिकारी सहभागी थिए ।