बैशाख १२, २०८१ बुधबार

सीडीओ शर्माको पहलमा घाइतेको उपचारका लागि १ लाख सहयोग संकलन



आर्थिक अभावमा अस्पतालमा अलपत्र बालकको उपचारका लागि गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको पहलमा रू १ लाख भन्दा धेरै आर्थिक सहयोग संकलन भएको छ।

लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचार खर्च तिर्न नसकेर ३ दिनदेखि अलपत्र परेका रेसुङ्गा नगरपालिका–२ का १६ बर्षीय  सुनिल बिकको उपचारका लागि प्रमुख जिल्ला अधिकारी शर्माकोको पहलमा सो रकम संकलन भएको हो ।

गत पुस ३ गते गुल्मी दरबार गाउँपालिकाको गैँडाकोटबाट तम्घासतर्फ जाँदै गरेको लु १ ह २७४३ अटाे रेसुङ्गा नगरपालिका–१३ दुबीचौरमा दुर्घटनामा परेर घाइते भएका बिककाे लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भएकाे थियाे  ।

अस्पतालकाे खर्च तिर्न नसकेर बालक घर फर्कन नपाएकाे जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी शर्माले लुम्बिनी मेडिकल कलेज र पाल्पा प्रशासनसंग समन्वय गरेर उपचारमा लागेको रकम छुट गराउन पहल गरेकी थिइन् । तर अस्पतालले रकम छुट गर्न नसकिने बताएपछि उनले बुधबार जिल्ला प्रशासन कार्यालयबाटै सहयोग संकलन अभियान शुरु गरेकी थिइन् ।

शर्माले आफै रू ४ हजार सहयोग गरेर अभियानको सुरुवात गरेपछि बुधबार रु १ लाख १२ हजार १४० संकलन भएको थियो । विकका लागि गुल्मी उद्योग बाणिज्यसंघबाट २० हजार, निर्माण व्यावसायी संघबाट १० हजार, जिल्ला प्रशासन कार्यालयका कर्मचारीबाट ११ हजार ५ सय ५०, सुनिल समिर निर्माण सेवाबाट १० हजार र गुल्मी अस्पतालका कर्मचारीबाट ११ हजार ८ सय १५ सहयोग प्रदान भएको थियो ।

जिल्ला समन्वय समिति, जिल्ला स्वास्थ्य कार्यालय, मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, खानेपानी कार्यालय लगायत जिल्लाका सरकारी कार्यालयका कर्मचारी र अन्य क्षेत्रका व्यक्तिहरुले पनि उनको अभियानमा साथ दिँदै बालकका लागि नगद सहयोग गरेका थिए ।

प्रजिअ शर्माले संकलित रकम सुनिलकी आमा सुन्तली विकलाई हस्तान्तरण गर्दै अस्पतालबाट बालकलाई घर फर्काउन पहल गरेकी थिइन् । अस्पतालले मागेको रकम बुझाएर सुनिललाई घर फर्काइएको छ ।

शर्माले केहीदिन अघिमात्रै गुल्मीको प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हालेकी हुन् । घाइतेको उपचारका लागि सहयोग जुटाउन सीडीओ आफै खटेपछि गुल्मीका जनता तथा सरोकारवालाले धन्यवाद दिएका छन् ।

पूर्वसचिव भीम उपाध्यायले पनि जनताको हितका लागि काम गर्ने जनसेवक कर्मचारी देख्दा खुसी लागेको बताएका छन् ।