बैशाख ३, २०८१ सोमबार

यौनजन्य हिंसाका घटना वृद्धि



कोभिड–१९ बाट आक्रान्त भइरहेका बेला पर्वतमा महिलामाथि हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । अमानवीय र पाशविक घटना छताछुल्ल भएका छन् ।

बालबालिका एवं महिलामाथिको हिंसालाई मानव अधिकारको मुद्दाका रूपमा सम्बोधन गर्न नसकिएका कारण पर्वतमा अघिल्लो वर्षको तुलनामा यो वर्ष बलात्कार तथा यौन दुव्र्यवहारका घटनामा वृद्धि भएका हुन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्वतले सार्वजनिक गरेको तथ्याङक अनुसार बाल यौन दुराचारका घटनामा उल्लेखनीय वृद्धि भएका छन् ।

सन् २०२० को जनबरीदेखि डिसेम्बरसम्म प्रलेखिकरण गरेको तथ्याङ्कअनुसार पर्वतमा बालयौन दुराचारका घटना मात्रै ११ वटा रहेका छन् । तीमध्ये पाँच बालिका यौन दुव्र्यबहारबाट पीडित भएका छन् भने ६ बालिका बलात्कार घटनाबाट पीडित भएका हुन् ।

अघिल्लो अङ्ग्रेजी वर्ष २०१९ को सङ्कलित तथ्याङ्कअनुसार बालयौन दुव्र्यवहारका घटना सात, महिला बलात्कारका घटना चार, हत्याका दुई, बम विष्फोट १, घरेलु हिंसाका १० र भौतिक सम्पत्ति क्षतिको एक गरी २९ ओटा घटना अभिलेख गरिएको थियो ।

यो अङ्ग्रेजी वर्षमा बालयौन दुव्र्यवहारका पाँच, बालिका बलात्कारका ६, महिला बलात्कारका एक, घरेलु हिंसाका १६, परिवारका सदस्यबाट हत्या एक, गैर न्यायिक गिरफ्तार चार र आत्महत्या दुरुत्सहानको एउटा घटना सार्वजनिक गरेको छ ।

पर्वतको विहादी गाउँपालिकाका विभिन्न वडामा आफ्नै बाबुबाट तीन बालिका पीडित बनेका छन् । २०७६ पुसदेखि २०७७ पुस सम्मको इन्सेकको तथ्याङ्कअनुसार तीन वर्षीया बालिकादेखि १९ वर्षीया बालिकासम्म जन्मदिने बाबुबाट पीडित बनेका हुन् ।