बैशाख २, २०८१ आईतबार

फलेवासका छात्रालाई कक्षामै प्याड



पर्वत-ग्रामीण क्षेत्रमा अध्ययनरत छात्रा महिनावारी हुँदा विद्यालय नजाने प्रचलन अहिले पनि विद्यमान छ । जसले गर्दा छात्राको पढाइमा समस्या आउने गरेको पाइन्छ ।

यस्तो अवस्थालाई मध्यनजर गर्दै पर्वतको फलेवास नगरपालिकाले सबै विद्यालयका कक्षा कोठामा स्यानिटरी प्याडको व्यवस्थापन गरेको छ । विद्यालयमै रहेका बेला महिनावारी भएर कक्षा छाडेर विद्यार्थीलाई घर जान नपरोस् र उनीहरुको सिकाइ र पढाइले निरन्तरता पाओस् भन्ने उद्देश्यले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याडको व्यवस्थापन गरिएको फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले जानकारी दिइन् ।

कोभिड–१९ को सङ्क्रमणपछि खुलेका सबै विद्यालयमा पुगेर अध्ययनरत कक्षा ६ देखि स्नातक तह सम्मका छात्रालई वर्षभरि पुग्नेगरी प्याड वितरण गर्न थालिएको उपप्रमुख अधिकारीले बताइन् ।

उनका अनुसार केही वडामा रहेका विद्यालयमा वितरण गरिसकिएको छ भने बाँकी वडाका विद्यालयमा पनि आफैँ विद्यालय पुगेर शिक्षकलाई हस्तान्तरण गर्ने अधिकारीले बताइन्।

फलेवास नगरपालिकामा माध्यमिक र आधारभूत विद्यालय कक्षा ८ सम्म गरी ३० भन्दा बढी विद्यालय रहेका छन् । कक्षा ६ देखि स्नातक तहसम्म सञ्चालन हुने क्याम्पसमासमेत स्यानिटरी प्याड उपलब्ध गराउनेगरी नगरपालिकाले बजेट विनियोजन गरेको छ ।

यस वर्ष रु १५ लाख बराबरका स्यानिटरी प्याड खरिद गरी सबै विद्यालयमा उपलब्ध गराउने कार्यक्रम रहेको उपप्रमुख अधिकारीले बताइन् ।
थोरै मूल्यमा पाइने भए पनि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न वर्गका विद्यार्थीले खरिद गरेर प्रयोग गर्नसक्ने अवस्था छैन । घरगाउँमै पाइने फोहर कपडा प्रयोग गर्दा स्वास्थ्यमासमेत समस्या आउने भएपछि नगरपालिकाले यो नमूना कार्य अघि बढाएको नगर शिक्षा अधिकृत कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

यसबाट छात्रा प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । मासिक रुपमा कम्तीमा तीन÷चार दिन छात्राको पढाइमा अवरोध आउने अवस्थालाई यसले अन्त्य गर्ने उनको विश्वास छ ।

यसअघि सरकारले एसइर्ईलगायत जिल्लास्तरीय परीक्षामा मात्र स्यानिटरी प्याड उपलब्ध गराउँदै आएको थियो । अब भने फलेवासका कक्षा ६ देखि क्याम्पस तहका सबै शिक्षालयमा पर्याप्त मात्रामा स्यानिटरी प्याडको व्यवस्था गरिएको नगरप्रमुख पदमपाणि शर्माले बताए ।

अहिले नगरभित्रका निजी विद्यालयमा भने वितरण गरिएको छैन । छात्रालाई महिनावारीका बेलासमेत निर्धक्कका साथ विद्यालयमा गएर पढ्न नगरप्रमुख शर्माले आग्रह गरे । यो महिलाको नियमित प्रक्रिया भएकाले सङ्कोच नमानी यस्तो बेलामा विद्यालय आएर आफ्नो पढाइमा बाधा नपु¥याउनसमेत उनको आग्रह छ ।