बैशाख २, २०८१ आईतबार

सत्ता छोड्न नसकेर अमेरिकी राष्ट्रपतिले मच्चाए हिँसा : एक महिलाको मृत्यु, वाशिङ्टन डिसीमा कर्फ्यू



निर्वाचनमा आएको परिणाम स्वीकारेर सत्ता छोड्न गाह्रो मानेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले राजधानी वाशिङ्टन डिसीमा हिँसा मच्चाएका छन् ।

वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ) मा मच्चिएको हिँसामा गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कफ्र्यू लगाइएको छ।

अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको बेला यो घटना भएको हो ।

एजेन्सीहरुका अनुसार संसद भवन (क्यापिटल बिल्डिङ) भित्र बहस सकिएपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रमको तयारी थियो । तर मत परिणाम उल्टाउने प्रयास स्वरुप हालका राष्ट्रपति डोनाल्ड ट्रम्पका सयौं समर्थकहरु भेला भएर प्रदर्शन सुरु गरे ।

प्रदर्शनकारी क्यापिटल बिल्डिङ भित्रै प्रवेश गरे र अमेरिकी राष्ट्रपति चुनाव रद्द गर्न माग गर्न थाले । यसै क्रममा हिंसा सुरु भयो । प्रदर्शनकारीलाई रोक्ने प्रयासमा नेशनल गार्डस् एक्सनमा उत्रियो । क्यापिटल बिल्डिङमा प्रदर्शन गर्ने एक महिलालाई गोली लाग्यो । ती महिलाको अस्पतालमा मृत्यु भयो । उनको परिचय भने खुलेको छैन ।

करिब तीन घण्टाको तोडफोड र हिंसात्मक प्रदर्शनपछि अहिले स्थिति नियन्त्रणमा रहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकामा भएको यो हिंसात्मक घटनाको चौतर्फी निन्दा भइरहेको छ । चुनावमा धाँधली भएको भन्दै ट्रम्पले विनाप्रमाण आफ्ना समर्थकलाई उक्साएको कारण हिंसा फैलिएकाले अमेरिकी लोकतन्त्र विश्वसामु लज्जित बनेको टिप्पणी भइरहेको छ ।

यस हिंसाका बीच राष्ट्रपतिमा निर्वाचिन बाइडनले ट्रम्पसँग हिंसालाई अन्त्य गर्न र संविधानको रक्षा गर्न अपिल गरेका छन् ।