चैत्र १५, २०८० बिहीबार

कोरोना प्रभावित महिलालाई कृषि श्रमिक तथा कृषकको रुपमा तयार पारीने



कोभिड–१९ का कारण समस्यामा परेका महिलालाई कृषि श्रमिक तथा महिला कृषकको रुपमा तयार पार्न यूएन वुमनले कार्यक्रम शुरु गरेको छ ।

रौतहटको राजपुर नगरपालिकामा गैरसरकारी संस्था माण्डवी मार्फत यूएन वुमनले झन्डै २५० जना महिला र विपन्न परिवारहरुलाई कृषि श्रमिक तथा महिला कृषकको रुपमा तयार पार्न सहयोग गरेको हो ।

महिला तथा विपन्न समुदायहरुलाई कृषिका माध्यमले जीविकोपार्जन गर्न सक्षम बनाउने योजना अनुरुप पहिलो चरणमा राहत वितरण गरिएको छ ।

जीवनस्तर उकास्न चरणबद्धरुपमा कार्यक्रम तयार गर्ने योजना अनुरुप तत्कालका लागि चामल, दाल, खाने तेल का साथै एलपीजी ग्याँस चुल्हो १ थान र ग्याँस सिलिण्डर १ थान प्रदान गरिएको माण्डवीका निर्देशक, प्रमुख अंजु झाले बताइन् ।

पछि कृषि सम्बन्धी तालिम तथा व्यवहारीक सीप सिकाएर महिलालाई कृषि श्रमिक तथा महिला कृषकको रुपमा तयार पार्ने योजना रहेको उनको भनाइ छ ।

राहत वितरण कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सामाजिक संस्थाहरुले विभिन्न किसिमले राज्यलाई सहयोग गरिरहेको बताए । माण्डवीले वितरण गरेको राहतले विपन्न समुदाय खुसी भएको उनले बताए ।

कार्यक्रममा राजपुर नगरपालिकाका मेयर सकिल अहमदले आगामी दिनमा नगरका सम्पूर्ण परिवारमा ग्याँस चुल्हो र सिलिन्डर उपलब्ध गराउने घोषणा गरेका छन् ।

राहत वितरण कार्यक्रममा नेपाली सेनाको इन्द्र बक्स गण पुरेनवाका प्रमुख, सशस्त्र प्रहरी बल ११ नम्बर गणका नायब उपरीक्षक, जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपीसमेतको सहभागिता रहेको थियो ।