चैत्र १५, २०८० बिहीबार

‘न्यायाधीश सपना मल्ल प्रधान संसारकै भाग्यमानी व्यक्ति’ : संविधान निर्माण र ब्याख्या दुबै कार्यमा सहभागी



संविधानको मेकिङ (निर्माण) र बुल्डिङ (ब्याख्याद्वारा समृद्ध पार्ने) दुई चरण हुन्छ । संसारमा कहीँ पनि एउटै व्यक्ति संविधानको मेकिङ र बुल्डिङ दुवै प्रक्रियामा सहभागी हुने संयोग हत्तपत्त जुर्दैन, वा मौका पाउँदैन ।

तर नेपालकी सपना मल्ल त्यो भाग्यमानी व्यक्ति हुन्, जो संविधान निर्माण प्रकृयामा सहभागी भएर व्याख्याको प्रकृयामा पनि सहभागी हुने संयोग मिलेको छ । पहिलो संविधान सभामा सदस्य रहकी मल्ल अहिले संसद विघटनको रिट सुनुवाइ गर्ने संवैधानिक इजलासमा रहेकी छन् ।

यसरी संविधानको निर्माण र ब्याख्या दुवै प्रकृयामा सहभागी हुने मौका पाएकी न्यायाधीश मल्ललाई बरिष्ठ अधिवक्ता सुनील पोखरेलले संसारकै भाग्यमानी व्यक्तिको संज्ञा दिएका छन् ।

आइतबार संसद विघटनको रिटमाथि निवेदकका पक्षबाट बहस गर्ने क्रममा वरिष्ठ अधिवक्ता पोखरेलले यो इजलासलाई राम्रोसँग व्याख्या गरी संविधानलाई समृद्ध बनाउने दायित्व रहेको बताए । संविधान व्याख्याको प्रक्रियामा नागरिकको अधिकार वृद्धि हुने र कार्यकारीको अधिकार सीमित हुने उनको भनाइ छ । ‘संविधानको ब्याख्या गर्दा नागरिकको हकको संकुचन र कार्यकारीको अधिकार वृद्धि भएमा दुर्भाग्य हुन्छ’ उनले भने ।

पोखरेलले नेपालमा सपना प्रधान मल्लसँगै पूर्वन्यायाधीश विश्वनाथ उपाध्याय पनि यस्तो प्रकृयामा सहभागी भएको बताए । ‘उहाँले संविधान बनाउनुभयो र केही हदसम्म बुल्डिङमा पनि सहभागी हुनुभयो । उहाँले संविधानसभाको इन्टरनल कुरा पनि थाहा पाउनुभयो’, उनले भने ।

न्यायाधीश प्रधान पहिलो संविधानसभा सदस्य थिइन् । संविधान नबनाए पनि उक्त संविधानसभाले गरेको काम दोस्रो संविधानसभाले स्वीकार गरेको थियो ।

संसद विघटनको रिट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा भइरहेको छ ।