बैशाख १, २०८१ शनिबार

तीन किर्तिमान सहित कमला बनिन् अमेरिकाको पहिलो महिला उपराष्ट्रपति



अमेरिकी इतिहासमा तीन नयाँ किर्तिमान कामय गर्दै उपराष्ट्रपति पदमा निर्वाचित भारतीय मुलकी कमला ह्यारिसले सपथ ग्रहण गरेकी छन् । ५६ वर्षीया ह्यारिसले बुधबार वासिङटन डिसीमा आयोजित शपथ ग्रहण समारोहमा सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोनोमेयरबाट शपथ लिएकी हुन् ।

शपथ सँगै अमेरिकाकी पहिलो महिला उपराष्ट्रपति बनेकी कमलाले तीनवटा नयाँ किर्तिमान बनाएकी छन् । ती हुन् ः पहिलो महिला उपराष्ट्रपति , पहिलो अश्वेत उपराष्ट्रपति र एसियन मूलकी अमेरिकी उपराष्ट्रपति ।

ओक्ल्यान्ड क्यालिफोर्नियामा जन्मेकी ह्यारिस भारतीय( जमैकन मूलकी अमेरिकी नागरिक हुन्। उनकी आमा भारतीय थिइन् भने बुवा जमैकन।

उनी अमेरिकाको पहिलो अश्वेत महिला महान्यायाधिवक्ता समेत हुन् । क्यालिफोर्नियाबाट सिनेटर हुनुअघि उनले लामो समय महान्यायधिवक्ताको जिम्मेवारी सम्हालेकी थिइन् ।

कानुनकी विद्यार्थी ह्यारिस सन् २००३ मा स्यान फ्रान्सिसको डिस्ट्रिक्ट एटर्नी समेत बनिन्। सन् २०१७ मा उनी क्यालिफोर्नियाबाट जुनियर सिनेटर चुनिइन्। सन् २०१९ को जनवरीमा उनले आफूलाई राष्ट्रपति पदको उम्मेदवारकै रुपमा प्रस्तुत गरेकी थिइन्। तर डिसेम्बरमा उनी राष्ट्रपति दौडबाट बाहिरिएकी थिइन्।

राष्ट्रपतिको प्रतिस्पर्धामा रहेका बेला बाइडेन र कमला एक अर्काका कट्टर आलोचक थिए । तर बाइडेनले कमलालाई आफ्नो उपराष्ट्रपतिको उम्मेदवार बनाएर सबैलाई आश्चर्यमा पारिदिएका थिए ।

सपथ ग्रहणपछि ह्यारिसले उपराष्ट्रपति पदसम्मको यात्रा सबै महिलाहरुलाई समर्पित गरेकी छिन्।

बाइडेन र ह्यारिसको सत्तारोहणसँगै अमेरिकी सिनेटमा डेमोक्र्याट पार्टी बहुमतमा पुग्ने छ।

अमेरिकी उपराष्ट्रपति सिनेटको अध्यक्ष हुने भएकाले महत्वपूर्ण मुद्दामा रिपब्लिकन र डेमोक्रेटबीच बराबरी भएमा उनले निर्णायक मत दिनेछिन् । अमेरिकी सिनेटमा दुवै पार्टीको समान ५०–५० सिट रहेको छ ।

थप पढ्नुहाेस् :