चैत्र १६, २०८० शुक्रबार

खोप लगाएको एक हप्ताभन्दा पछि नर्सलाई नै कोरोना संक्रमण



क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्नियामा एकजना नर्सलाई कोभिड १९ विरुद्धको खोप लगाएपछि कोरोना भाइरस संक्रमण भएको छ।

फाइजरले निर्माण गरेको कोरोना खोप लगाएकी स्थानीय अस्पतालकी नर्स म्याथ्यू डब्ल्यूलाई खोप लिएका एक हप्ताभन्दा पछि कोरोना संक्रमण भएको हो ।

स्थानीय दुई अस्पतालका ४५ नर्सले डिसेम्बर १८ मा खोप लिएका थिए । खोप लगाएपछि उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा फोटो पनि सार्वजनिक गरेका थिए । तर खोप लगाएर कोभिड–१९ युनिटमा काम गरेको ६ दिनपछि उनी बिरामी परेकी थिइन् ।

अमेरिकी सञ्चारमाध्यम टेनन्यूजका अनुसार शुरुमा उनको मांशपेसी दुख्ने तथा चिलाउने हुन थाल्यो । पछि कोरोना परीक्षण गर्दा उहाँमा कोरोना संक्रमण भएको पाइएको थियो । यो घटनापछि संक्रमण विशेषज्ञ डा. क्रिश्चियन र्‍यामर्सले म्याथ्यूलाई खोप लिनु पहिले नै संक्रमण भएको हुन सक्ने बताएका छन् ।

‘पहिलो डोज लिँदा ५० प्रतिशत सुरक्षित गराउँछ, अनि दोस्रो डोज लिएपछि ९५ प्रतिशत’, उनले भने, ‘म्याथ्यूको केसमा उहाँलाई खोप लिनुभन्दा पहिले नै संक्रमण भएको पनि हुन सक्छ ।’
तर यदि म्याथ्यूलाई खोप लिएपछि संक्रमण भएको हो भने यसबारे जान्न अझै बाँकी रहेको डा। र्‍यामर्सले बताएका छन् ।