बैशाख ८, २०८१ शनिबार

नेकपामा शक्ति देखाउने होड



काठमाडौं । नेकपा प्रचण्ड–माधव समूह संसद विघटनविरुद्ध आन्दोलनमा होमिएको एक महिना पुगेको छ ।

कामचलाउ प्रधानमन्त्री केपी ओलीले पुस ५ प्रतिनिधिसभा विघटन गरेपछि यो समूहले पुस १४ मा उपत्यकास्तरीय जनप्रदर्शन गरिसकेको छ । यो समूह अहिले तेस्रो चरणको आन्दोलनमा छ । मंगलबार सुरू भएको तेस्रो चरणको आन्दोलन माघ २८ मा टुंग्याउने तालिका सार्वजनिक भएको छ ।

त्यस दिन राजधानीमा निर्णायक प्रदर्शन हुने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका छन् । त्यसअघि ओली समूहले माघ २३ मा काठमाडौंमा बागमती प्रदेशस्तरीय जनप्रदर्शनको तयारी गरेको छ ।

सोमवार पत्रकार सम्मेलन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले संविधानको रक्षा र समृद्धिबारे जनतालाई बुझाउन विशाल जनसभा हुने बताए ।

पोखरेलको भनाइ थियो, ‘यो जनसभा कसैको काउण्टर दिन होइन, त्यो गलत प्रचार हो ।’ तथापि यो प्रदर्शन भने काउण्टरकै निम्ति तय भएको छ ।

माघ ९ मा प्रचण्ड–माधव समूहले विशाल जनप्रदर्शनको तयारी गरेपछि माघ ६ मा बागमती प्रदेश कमिटीका नेताहरु बैठक बसी प्रदेश स्तरीय मास उतार्ने निर्णय गरेको थियो ।

दुवै समूहको गतिविधि र अभिव्यक्तिबाटै जनमास उतार्ने होड चलेको प्रमाणित हुन्छ । कुनै समूहले जनमास उतार्नासाथ त्यही ठाउँमा सभाको आयोजना गरिनु र आफ्नो पक्षमा जनता भएको दाबी गरिनु त्यसैका प्रमाण हुन् ।

राजधानी उपत्यकामा कार्की ब्याङ्केट र प्रज्ञा भवन एकअर्का विरुद्धको सभा गर्ने साझा थलो बनेका छन् । प्रज्ञा भवनमा प्रचण्ड र माधव समूहको विद्यार्थी, काठमाडौं जिल्ला कमिटी र प्रेस संगठन नेपालको सभा भएको छ भने ओली समूहको पनि काठमाडौं कमिटी र युवाको सभा भएको छ ।

त्यसबाहेक बालुवाटारमा ओलीको भेला लगातार चलिरहेको छ भने पेरिसडाडाँमा दिनहुँजसो अर्को पक्षको कार्यक्रम भइरहेको छ । उपत्यका बाहिर पनि त्यस्तै होड छ ।

ओली पुगेर सुदूरपश्चिम प्रदेशस्तरीय सभालाई सम्बोधन गरेको धनगढीमा माधव नेपाल र प्रचण्ड माघ १७ मा जाँदैछन् । त्यहाँ प्रदेशस्तरीय सभाको तयारी छ । त्यसअघि माघ १५ मा बुटवल र माघ १६ मा विराटनगरमा बृहत प्रदर्शनको तयारी प्रचण्ड–माधव समूहले गरेको छ ।

सभा गर्न दुबैतर्फका शीर्षनेताहरुको दौडधुप तीव्र छ । ओली बढी राजधानी केन्द्रीत सभामा जाने गरेका छन् । सातै प्रदेशको सभा ओली समूहले राजधानीमै राखेर ओलीलाई प्रमुख वक्ता बनाउने गरेको छ । तर, राजधानी बाहिर भने दाङ र धनगढीमा ओली पुगेका छन् ।

माधव नेपाल र प्रचण्ड भने राजधानीसहित देश दौडाहामा छन् । मंगलबार माधव नेपालले एकैदिन पाँचथर र ताप्लेजुङका सभालाई सम्बोधन गरे । त्यस दिन प्रचण्ड चितवनमा थिए ।

यो समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसाल भने ओली समूहसँग आफ्नो जनप्रदर्शनलाई तुलना गर्न नमिल्ने बताउँछिन् । ‘हाम्रो आसय प्रतिगमनबारे जनतालाई बुझाउने अनि प्रतिमनलाई पराजित पार्न जनतालाई सचेत पार्ने हो’ भुसाल भन्छिन्, ‘उनीहरुले चाहिँ प्रतिगमनको पक्षमै जनता छन् भनेर पञ्च र्‍याली गर्ने र राज्यको स्रोत साधन दुरुपयोग गर्ने हो ।’

राजधानी उपत्यकामा शक्ति प्रदर्शन गर्नु दुवै समूहको प्राथमिकतामा छ । प्रचण्ड–माधव समूहले माघ ९ मा सभा आयोजना गरेकै ठाउँमा ओली समूहको सभा माघ २३ मा हुँदैछ ।

ओलीले माघ ९ मा ‘रत्नपार्कमा अलिअलि मान्छे भेला भएको’ र माघ २३ मा सभा कस्तो हुन्छ भन्ने देखाउने अभिव्यक्ति दिएका छन् । त्यसैअनुसार, मास उतार्न ओली समूह जुटेको छ ।

जनसभाको परिचालन सम्बन्धी सचिवालयका अध्यक्ष आनन्द पोखरेल त्यस दिन दुई लाख मानिस उतार्ने दाबी गर्छन् । ‘बागमतीका १३ र उपत्यकाका चार गरी १७ जिल्ला कमिटीबाट मानिस आउँछन् । दुई लाख मानिस आफैं आउँछन्, हामीले ल्याउने होइन । बरु, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ’, उनी भन्छन् ।

ओली समूहको त्यसदिन हुने सभालाई प्रचण्डले भने पञ्च ¥यालीको संज्ञा दिएका छन् । ‘केपीले जत्रो (सभा) गरे पनि पञ्च ¥यालीभन्दा फरक हुने छैन’, सोमवार पेरिसडाडाँमा आयोजित कार्यक्रममा प्रचण्डले भनेका थिए ।

ओली समूहले मान्छे देखाउन कर्मचारी र प्रहरीलाई समेत बोलाएको प्रचण्ड–माधव समूहका नेताहरुको आरोप छ ।

संसद् पुनर्स्थापना भर्सेज निर्वाचन

पार्टी विभाजनपछि एकअर्का विरुद्ध सडक र संगठनमा शक्ति देखाइरहेको दुवै समूहको उद्देश्य भने ठीक विपरीत छ । ओली समूहले संसद् विघटन गर्ने निर्णय उल्टिन हुन नदिने र मध्यावधि चुनाव हुने दावी गर्दै आएको छ ।

प्रचण्ड–माधव समूह भने मध्यावधि चुनाव नहुने र संसद् नै पुनर्स्थापना हुनुपर्ने अडानमा छ । असंवैधानिक कदम चालेर संसद् विघटन गरे संविधान र व्यवस्था नै उल्टिने भन्दै प्रचण्ड र माधव समूहले अन्य राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी, बृद्धिजिवी लगायतलाई समेत आन्दोलनमा उत्रन आग्रह गर्दै आएको छ ।

‘हाम्रो आन्दोलन संसद् पुनर्स्थापना गर्ने र संविधानको रक्षा गर्ने हो । लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता लगायतको रक्षा गर्दै अग्रगमणतिर देशलाई लैजाने हो भन्ने प्रष्टै छ’, भुसाल भन्छिन् ।

तर, ओली समूहका बागमती प्रदेश अध्यक्ष पोखरेल सरकारले चालेको कदम राष्ट्रको हितमा छ भनेर बुझाउन सभाहरू हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘सडक आन्दोलन गर्ने साथीहरुले भ्रम दिनुभएको छ । हामी त छैनौंजस्तो गर्नुभएको छ । त्यो भ्रमबारे जनतालाई बुझाउन हो ।’

यो समूहले जनता मध्यावधि चुनावको पक्षमा छन् भन्ने सन्देश दिन देशभर कार्यक्रमहरु आयोजना गरिरहेको छ । तर, अर्को समूह जस्तो निर्धारित कार्यक्रमहरू भने छैनन् । नेताहरुको समन्वयमा बैठक, भेला, संगठन निर्माण र सभाहरू गरिरहेको छ ।

अदालत र आयोगमाथि दुवैको दबाव

ओली समूहले मूलतः अदालत र आयोगलाई दबाव दिन नचाहेको प्रष्टोक्ति दिइरहे पनि यो समूहको जोड छ– जनता हाम्रो पक्षमा छ, अर्को समूहसँग छैन । संसद् विघटन बाध्यता हो, सर्वोच्च अदालतले यो बुझ्नुपर्छ ।

आधिकारिक पार्टी हामी हौं, निर्वाचन आयोगले त्यस्तै निर्णय गर्नुपर्छ । मध्यावधि चुनाव गरिन्छ, हामी जित्छौं । हामी राष्ट्रवादी छौं, अर्को समूह आत्मसमर्पणवादी हो । विकास र समृद्धि तीव्र गतिमा भइरहेको छ र यसको प्रचार भएन आदि ।

अर्थात्, संसद् विघटन प्रतिगमन नभएर अग्रगमन भएको ओली समूहले दाबी गरिहेको छ । गृहमन्त्री रामबहादुर थापाले त लगातार संसद् पुनर्स्थापना भए मुलुक प्रतिगमनतिर जाने बताउँदै आएका छन् ।

प्रचण्ड र माधव समूहको निष्कर्ष भने संसद् विघटन प्रतिगमन हो । उसले संविधान र मुलुक संकटमा परेको भन्दै त्यसैलाई जोगाउन जनता सडकमा उत्रनुपर्ने आग्रह गरिरहेको छ । यो समूहको अर्को आरोप हो– ओलीले विदेशीको इसारामा संविधान माथि ‘कू’ गरे र कम्युनिष्ट आन्दोलन सिध्याउन खोजे ।

संसद् पुनर्स्थापना नभए मुलुक संवैधानिक संकटतिर धकेलिने निष्कर्षसहित आन्दोलनरत यो समूहले संसद् पुनर्स्थापना नभए जनसागर उत्रने चेतावनी दिँदै आएको छ ।

भुसाल भन्छिन्, ‘संवैधानिक संसद् विघटन विरुद्ध परेको मुद्दामा अदालतले संविधानको सही व्याख्या गर्छ भन्ने विश्वास छ । त्यो भनेको संसद् पुनर्स्थापना नै हो ।’

ओलीले त संविधानले नै संसद् पुनर्स्थापना हुन नदिने अभिव्यक्ति दिने, अदालतमा भइरहेको बहसलाई खिस्सी गर्नेलगायत मार्फत् न्यायालय प्रभावित बनाइरहेकै छन् ।

अर्थात्, जनप्रदर्शनको होड पार्टी विभाजनपछिको संगठन निर्माण भन्दा बढी अदालत र निर्वाचन आयोगलाई दबाव दिने उद्देश्यले भइरहेको बुझ्न गाह्रो पर्दैन ।

एमाले र माओवादी एकता हुँदाकै नेकपा कायम रहेको र पुस ५ यताको निर्णय अमान्य गर्ने आयोगको निर्णयबारे आफू अनुकुल व्याख्या गरिरहेको दुवै समूह जनप्रदर्शनलाई दबावको अस्त्रका रुपमा प्रयोग गर्न चाहन्छन् ।

प्रचण्ड र माधव समूह ओलीले संवैधानिक निकायमा सेटिङ गरेको आशंकामा त्यसविरुद्ध जनता उतार्ने ‘ओपनसेक्रेट’ रणनीतिमा देखिन्छ । त्यसको काउण्टर दिन सक्ने जनता आफूसँग पनि छन् भन्ने ओली समूह प्रमाणित गर्न चाहन्छ ।

वामदेव पनि मैदानमा

पार्टी विभाजनपछि कुनै पनि समूहमा नलागेका वामदेव गौतम आफ्नो छुट्टै शक्ति देखाउन लागि परेका छन् । दुवै समूहको दावीलाई अस्वीकार गर्ने आयोगका निर्णयलाई सकारात्मक मानेका गौतम छुट्टै अभियानको घोषणा गर्दैछन् ।

पार्टी विभाजनको एक महिनासम्म वार्मअप गरेका गौतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान आज घोषणा गर्दैछन् । अभियान घोषणा गर्न गौतम समर्थकहरुलाई देशभरबाट बोलाइएको छ ।

गौतम निकट नेता हरि पराजुली, कम्तिमा ६६ जिल्लाबाट नेताहरु आउने जानकारी आइसकेको बताउँछन् ।

‘केही टाढाका जिल्लाहरुबाट प्राविधिक कारणले आउन नसक्ने बुझिएको छ, बाँकी जिल्लाहरुबाट नेताहरु आउनु हुन्छ’, उनले भने । पार्टी एकता जोगाउन दबाव दिन भन्दै गौतम पक्षधरले यसअघि पनि विभिन्न जिल्लामा प्रदर्शन भइसकेको छ ।