चैत्र १५, २०८० बिहीबार

गाउँमा लगालग दृष्टिविहीन



गोरखा । आर्खेत बजारबाट साढे तीन घण्टा उकालो बाटो छिचोलेर स्वाँरा गाउँ पुगिन्छ। गाउँको सौन्दर्य देखेर जो–कोही आगन्तुक छिनमै थकाइ बिर्सिन्छन्।

तर, आफ्नो गाउँको सुन्दरता नियाल्न स्थानीय क्षितिज आलेसँग आँखाको दृष्टि छैन। भलिभाँती बयान गरिदिन उनकी पत्नी स्वीकृतिसँग पनि आँखाको दृष्टि छैन। उनीहरूको ३ वर्षकी छोरी छन्। डाक्टरले नाबालिकाको आँखाको ज्योति पनि कम छ भनेका छन्। त्यसैले क्षितिजलाई सुन्दर गाउँ पनि फिक्का लाग्दोरहेछ।

यही गाउँका केशर आले दम्पतीका १७ वर्षका छोरा रामकुमार र १४ वर्षकी छोरी प्रतीक्षा दृष्टिविहीन छन्। त्यही भएर केशर दम्पती पनि गाउँको चमकलाई बिरंगी देख्छन्।

होमबहादुर आलेका दुई छोरा मनबहादुर र डिलबहादुर अनि छोरी विष्णु दृष्टिविहीन छन्। अर्का स्थानीय सार्की आलेका छोराहरू टीकाराम र छविलाल अनि छोरी झकमाया ९खुशी० आँखा देख्दैनन्।

आरूघाट गाउँपालिका–३ स्वाँरा गाउँमा १३ जना दृष्टिविहीन छन्। १२ जना त आले परिवारका हुन्। एक जना थापा परिवारका छन्। यहाँ १ सय २७ घरधुरी मगर समुदायको बसोबास छ।

‘खै हाम्रो गाउँमा किन यस्तो भयो ? थाहा पाउनै सकिएन’, स्थानीय शिक्षक केशर आले भन्छन्, ‘पोहोर हाम्रो गाउँमा आँखा शिविर सञ्चालन भएको थियो। डाक्टरहरूले वंशाणुगत समस्या हो भन्नुभयो।’

तर, सबैभन्दा जेठा दृष्टिविहीन नै ३६ वर्षका क्षितिज हुन्। त्यसैले डाक्टरले भनेको कुरामा पूरै विश्वास गर्न गाउँलेले सकेका छैनन्।

होमबहादुरले पत्नीलाई पछिल्लो पटक सुत्केरी गराउन माइत पठाए। पछिल्लो सन्तानको आँखा दृष्टियुक्त छ। तीन सन्तान लगालग जन्मजात दृष्टिविहीन जन्मेपछि सार्कीले पनि पत्नीलाई सुत्केरी गराउन काठमाडौं लगे। नभन्दै परिवारका नयाँ सदस्यको आँखा सकुशलै रह्यो।

त्यो देखेपछि शंका पैदा भयो र पछिल्लो पटक सुत्केरी गराउन पत्नीलाई माइत पठाएको स्थानीय केशर आले बताउँछन्। मामाघरमा जन्मेकी कान्छी छोरी प्रतिमाको आँखा सकुशल रहेको उनको भनाइ छ।

अर्का शिक्षक क्षितिजले पनि पत्नीलाई सुत्केरी गराउन पोखरा पठाए। दम्पती दृष्टिविहीन भए पनि छोरी भने दृष्टियुक्त जन्मिइन्। ‘अरूले सुन्दा त अन्धविश्वासजस्तो पनि लाग्ला। तर, यहाँ यस्तै भयो’, उनी भन्छन्, ‘हामी पनि विश्वास गर्ने कि नगर्ने ?’

उनका अनुसार सन्तान जन्मजात दृष्टिविहीन हुन थालेपछि कतिपयले सुत्केरी हुनुअघि देवीदेवता भाकल गर्ने गरेका छन्। ‘छोराछोरी जन्मजात दृष्टिविहीन नहोऊन् भनेर कोही मन्दिरमा पूजाआजा गर्छन्, कोही चर्चमा प्रार्थना गर्छन्’, उनी भन्छन्, ‘संयोगले हो कि के हो, त्यसरी जन्मेका बच्चा सकुशल छन्।’

स्थानीय जलकुमारी माविमा अतिरिक्त सेवासुविधासहितको दृष्टिविहीन विशेष कक्षा सञ्चालन गरिएको छ। सेवासुविधा भने सधँै अपुग हुने गरेको विद्यार्थीको गुनासो छ।

‘न बेलामा ब्रेल आउँछ न त अरू सामग्री नै’, विद्यार्थी राजी विश्वकर्मा भन्छिन्, ‘अनि, हाम्रो नाममा कर्मालय फाउन्डेसनबाट आएको मासिक ५ सय रुपैयाँ पनि हेडसरले दिनुभएको छैन। यो कारणले दिन सक्दिनँ भन्नुभएको भए हामी चित्त बुझाउँथ्यौँ। दिन्छु मात्र भन्नुहुन्छ तर दिनुभएको छैन।’

छात्रावासको वातावरण पनि दृष्टिविहीनमैत्री नभएको विद्यार्थीको गुनासो छ। ‘हाम्रो होस्टेलको आँगनमा सधैँ गाउँका मान्छे आउनुहुन्छ। तास खेल्नुहुन्छ। रक्सी खानुहुन्छ। हामीलाई एकदम ठीक लाग्दैन’, एक दृष्टिविहीन विद्यार्थी भन्छन्, ‘यहाँ नआउनू भन्न पनि हामीलाई गाह्रो लाग्छ। व्यवस्थापन समिति, हेडसरहरूले यो वातावरण मिलाइदिनुपर्ने हो।’

विद्यार्थीको गुनासो जायज रहेको प्रधानाध्यापक टेकबहादुर दाहाल स्विकार्छन्। ‘पाँच सय रुपैयाँ पकेट खर्च दिने भन्ने संस्थाको उद्देश्य रहेछ।

त्यो रकम नदिने हाम्रो मनस्थिति होइन’, उनी भन्छन्, ‘विद्यालयको व्ययभार टार्न त्यतातिर खर्च भइरहेको छ। ठीक छ, अब यो वर्षबाट दिऊँ भन्ने सहमति भएको छ।’ छात्रावासको वातावरण पनि विद्यार्थीको गुनासोअनुसारकै रहेको उनको स्विकारोक्ति छ।