बैशाख १२, २०८१ बुधबार

महिला उद्यममीहरुलाई नबिल बैंकले सहज कर्जा र ब्याज अनुदान दिने



कोभिड १९ बाट प्रभावित महिला उद्यमीहरुलाई नबिल बैंकले व्याज अनुदान र सहज रुपमा कर्जा प्रदान गर्ने भएको छ।  नेपाल महिला उद्यमी महासंघ (फेवान)सँग सम्बन्धीत महिला उद्यमीलाई ब्याज अनुदान र सहज कर्जा प्रदान गर्ने सम्झाैता भएकाे छ ।

बिहीबार भएकाे सम्झौतामा बैंकको तर्फबाट एस.एम.ई. तथा लघुबित्त प्रमुख निरज कुमार बस्नेत (डनिल), र फेवानको तर्फबाट अध्यक्ष रीता सिम्हाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। रणनीतिक साझेदारी गर्ने सम्झौतामा महिला उद्यमी महासंघ सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम कर्जा प्रदान गर्ने उल्लेख छ ।

यसका साथै ती उद्यमीहरुले फेवानबाट वित्तीय सल्लाह र विकास सहयोग पाउने छन् भने यस साझेदार अन्तर्गत नबिल बैंकले वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने छ। साझेदारीको बारेमा बोल्दै निरज कुमार बस्नेत (डनिल) ले भने ‘नबिल बैंकले महिला सशक्तिकरणलाई अत्यधिक प्रोत्साहित गर्ने बताए ।

उनले महिला उद्यमीलाई दिगो उत्पादनमा बृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक सीप विकास गर्न सजिलै वित्तिय पहुँच प्रदान गर्दै महिलालाई सहयोग पुर्याउने कार्यमा अगाडि बढेको बताए। ‘फेवानका सदस्यहरूको आवश्यकताअनुसार उनीहरूको व्यवसाय बढाउनका साथै देशको आर्थिक विकासमा योगदान पुर्याउन नबिल बैंक उत्साहित छ’, उनले भने ।

त्यस्तै फेवानकी अध्यक्ष रीता सिम्हाले महिलाको पूर्ण सहभागिताबिना शान्ति, समृद्धि, प्रगतिहुन नसक्ने र महिला उद्यमीलाई वित्तिय पहुुँचका माध्यमबाट सहयोग गरेकोमा नबिल बैंक प्रति कृतज्ञ रहेकाे बताइन् ।

देशको आर्थिक प्रगतिमा महिला उद्यमीहरूको तर्फबाट सामूहिक प्रयास गर्ने लक्ष्य राखेकाे फेवान नेपालका महिला उद्यमीहरूको केन्द्रीय निकाय हो । महासंघले महिला उद्यमशीलताको दृष्टिकोणलाई आर्थिक बृद्धि र गरिबी निवारणको योगदानलाई सामाजिक आर्थिक क्षेत्रमा सबै तहमा महिलाको सहभागितातर्फ परिमार्जन गर्न खोजेको छ। अहिले सम्म फेवानको २५०० भन्दा बढी सदस्यता छ।