बैशाख ४, २०८१ मंगलबार

संसद बैंठक बस्ने पूर्वसन्ध्यामै प्रजातन्त्रवादी नेतृ पक्राउ, सेनाद्वारा सत्ता कब्जा



काठमाडौँ – म्यानमारमा नेसनल लिग फर डेमोक्रेसी पार्टी(एनएलडी)की सर्वोच्च नेता आङ सान सू कीलाई त्यहाँको सेनाले हिरासतमा लिएको छ । योसँगै म्यानमारमा पुनः अर्को सैन्य ‘कू’ को आशंका गरिएको छ ।

गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले सरकार बनाउन आवश्यक सिट जितेदेखि म्यानमारमा सरकार र सेनाबीच तनाव देखिएको थियो । एनएलडीको जीतलाई सेनाले भने निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ । सोमबारबाट पहिलोपटक नयाँ संसदको सत्र शुरु हुनुपर्ने थियो तर सेनाले त्यसलाई स्थगित गर्न माग गर्दै आएको थियो ।

तर आइतबार राती नै सेनाले अर्को सैनिक कू गरेको छ । गत शनिबार म्यानमारको सेनाले संविधानअनुसार अघि बढ्ने चेतावनी दिएको थियो। बीबीसीका संवाददाताकाअनुसार राजधानी लगायत देशका मुख्य सहरहरुमा सैनिकहरुको उपस्थिति बाक्लो रहेको छ ।

रोयटर्स न्यूज एजेन्सीसँग फोनबाट कुरा गर्दै एनएलडीका प्रवक्ता म्यो न्यून्टले सूकी र पार्टी अध्यक्ष विन मिन्टलगायत अन्य नेताहरुलाई बिहानै ‘लगिएको’ जानकारी दिए । सेना  मुख्यमन्त्रीहरूका घरमा पुगेर उनीहरुलाई पक्राउ गरेको परिवारिक स्रोतले जानकारी दिएका छन् ।

सरकारी मिडिया एमआरटीभीले प्राविधिक कारण बताउँदै प्रशारण बन्द गरेको छ भने टेलिफोन र विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ । म्यानमारमा सन् २०११ सम्म सेनाले प्रत्यक्ष रुपमा शासन गरेको थियो ।

उक्त समयमा सुकीलाई लामो समय घरमै नजरबन्दमा राखिएको थियो । उनलाई सन् १९८९ देखि २०१० सम्म नजरबन्दमा राखिएको थियो । सुकी म्यानमारका स्वतन्त्रता सेनानी जनरल आङ सानकी छोरी हुन् । उनी मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताका लागि लड्ने व्यक्तिका रुपमा विश्वमै परिचित छिन् । प्रजातन्त्रको पुनस्स्थापना र मानव अधिकारका लागि अहिंसात्मक तवरले लड्दै आएको भन्दै उनलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पनि दिइएको थियो ।