बैशाख ६, २०८१ बिहीबार

१७ हजार ३ सय महिला बैंकमा जागिरे, कुन बैंकमा कति महिला कर्मचारी ?



काठमडौं – रोजगारीका लागि महिलाहरु अगाडि बढ्दै जाँदा नेपालमा वाणिज्य बैंकहरुमा जागिर खाने महिलाको संख्या १७ हजार ३ सय पुगको छ । बैंकको जागिरलाई निजी क्षेत्रमा सबैभन्दा आकर्षक जागिर मानिन्छ ।

गत आर्थिक वर्षसम्म सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमा १७ हजार ३ सय जना महिला कर्मचारी रहेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । यो बैंकमा जागिर खाने कूल कर्मचारीको तुलनामा ३८.७१ प्रतिशत हो । सो अबधिसम्म वाणिज्य बैंकहरुमा करार र स्थायी गरी कूल ४४ हजार ५०२ जना करार र स्थायी बैंकिङ कर्मचारी कार्यरत थिए ।

कुल कार्यरत कर्मचारीमध्ये २७ हजार २ सय २ जना पुरुष कर्मचारीको छन् । यो कुल कर्मचारीको ६१.२९ प्रतिशत हो । बैंकमा जागिर खाने महिला कर्मचारकिो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको देखिन्छ ।

वाणिज्य बैंकमध्ये प्रभु बैंकले महिला कर्मचारी सबैभन्दा बढी राखेको छ । प्रभुमा कार्यरत २ हजार ४०४ जना कर्मचारीमध्ये ५३ प्रतिशत अर्थात् १ हजार २९३ जना महिला कर्मचारी कार्यरत छन् ।

त्यस्तै प्राइम बैंकमा कुल कर्मचारीको ५२.१५ प्रतिशत महिला कर्मचारी छन् । बैंकमा रहेका कुल २ हजार ४६ जना कर्मचारीमध्ये महिला कर्मचारीको संख्या १ हजार ६७ छ । यो नेपालका वाणिज्य बैंकमध्ये पुरुष र महिलाको अनुपातमा महिला कर्मचारी धेरै रहेको दोश्रो बैंक हो । पुरुष महिलाको अनुपातको हिसाव गर्दा बैंक अफ काठमाण्डूमा ४८.६४ प्रतिशत महिला कर्मचारी छन् । बैंकमा कार्यरत कुल १ हजार २८ जना कर्मचारी मध्ये महिला कर्मचारीको संख्या ५ सय जना छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकमा ४६.८३ प्रतिशत महिला कर्मचारी कार्यरत छन् । बैंकमा कार्यरत कुल १ हजार ८ सय ९४ जना कर्मचारी मध्ये महिलाको संख्या ८८७ छ । कूल ५ सय ३५ जना कर्मचारी कार्यरत स्ट्याण्डर्ड चार्टर्ड बैंकमा ४५. ४२ प्रतिशत अर्थात् २ सय ४३ जना महिला कर्मचारी छन भने पुरुषको संख्या २ सय ९२ छ । महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेको मेगा बैंकमा १ हजार ८ सय २५ जना कर्मचारीमध्ये ४२.८५ प्रतिशत अर्थात् ७ सय ८२ जना महिला कार्यरत छन् ।

त्यस्तै माछापुच्छ्रे बैंकमा कुल १ हजार ४ सय ८६ जना कर्मचारी मध्ये ६ सय ३० जना अर्थात ४२.४० प्रतिशत, एनआइसी एशिया बैंकमा कुल २ हजार ९ सय ८ जना कर्मचारीमध्ये १ हजार २ सय ७ जना ४१.५१ प्रतिशत, सिटिजन्स बैंकमा कुल १ हजार ४ सय ७३ जना ६ सय ४ जना ४१ प्रतिशत, हिमालयन बैंकमा कुल १ हजार ५ जनामध्ये ४ सय १२ जना ४१ प्रतिशत, कुमारी बैंकमा कुल १ हजार ७ सय ८१ जना ७ सय ४ जना ३९.२२ प्रतिशत महलिा कर्मचारी छन् ।

एनएमबी बैंकमा कुल १ हजार ६ सय ५४ जना कर्मचारीमा ३९.२४ प्रतिशत अर्थात् ६ सय ४९ जना, एनसीसी बैंकमा कुल १ हजार ३ सय ४१ जना कर्मचारीमा ३९.२२ प्रतिशत अर्थात् ५ सय २६ जना, सिभिल बैंकमा कुल ९ सय ६० जना कर्मचारीमा ३८.७५ प्रतिशत अर्थात् २३ सय ७२ जना, सिद्धार्थ बैंकमा कुल १ हजार ८ सय ८७ जना कर्मचारीमा ३८.३१ प्रतिशत अर्थात् ७ सय २३ प्रतिशत, नबिल बैंकमा कुल १ हजार १ सय २८ जना कर्मचारीमा ३६.१७ प्रतिशत अर्थात् ४ सय ८ प्रतिशत, नेपाल बैंकमा कुल २ हजार ६ सय ८९ जना कर्मचारीमा ३५.८१ प्रतिशत महिला र ग्लोबल आइएमई बैंकमा कुल ३ हजार ७४ जना कर्मचारी रहेकामा ३५.६२ प्रतिशत महिला कर्मचारी कार्यरत छन् ।

यस्तै, लक्ष्मी बैंकमा कुल १ हजार २ सय १८ जना कर्मचारी रहकोमा ३५.४७ प्रतिशत अर्थात् ४ सय ३२ जना महिला, सेञ्चुरी बैंकमा १ हजार ४ सय ९८ जना कर्मचारीमा ३४.७८ प्रतिशत महिला र सनराइज बैंकमा कुल १ हजार ४ सय ८४ जना कर्मचारी रहेकोमा ३३.०२ प्रतिशत अर्थात् ४ सय ९० जना महिला कर्मचारी कार्यरत छन् ।

नेपालको संविधानले राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । तर बैंकिङ क्षेत्रको तथ्यांक हेर्दा २७ मध्ये ५ वाणिज्य बैंकमा ३३ प्रतिशत महिला कर्मचारी अझै पुगेका छैनन् ।

बैंकर्स संघको तथ्यांक अनुसार नेपाल बंगलादेश बैंकमा कुल १ हजार १ सय ९४ जना कर्मचारी मध्ये ३२.४१ प्रतिशत, सानिमा बैंकमा कुल १ हजार ५ सय ४१ जना कर्मचारी मध्ये ३१.८० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकमा कुल २ हजार १ सय १६ जना कर्मचारीमा ३०.८८ प्रतिशत, नेपाल एसबीआई बैंकमा कुल १ हजार ४ जना कर्मचारीमा ३०.८८ प्रतिशत, एभरेष्ट बैंकमा कुल १ हजार ३ सय १५ जना कर्मचारीमा ३०.०४ प्रतिशत र कृषि विकास बैंकमा कुल २ हजार १४ जना कर्मचारीमा २७.१६ प्रतिशत महिला कर्मचारी कार्यरत छन् ।