बैशाख ११, २०८१ मंगलबार

युट्युवको विषयमा विवाद हुँदा अभिनेत्री सुष्मा कार्कीमाथी कुटपिट, प्रहरीमा उजुरी दिने प्रतिस्पर्धा



काठमाडौं । अभिनेत्री सुष्मा कार्कीमाथी कुटपिट भएको छ । गएराती (सोमबार) दरबारमार्गको लन्डन पब क्याफेमा आफूमाथी गालीगलौज र कुटपिट गरेको भन्दै कार्कीले प्रहरीमा उजुरी दिएकी छन् ।

उजुरीमा उनले आफूलाई अर्की अभिनेत्री श्वेता खड्का उनका पति विजयेन्द्र राउत, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट गरेको उल्लेख गरेकी छन् । प्रहरीले छलफलका लागि श्वेतासहित आरोपित पक्षलाई पनि दरवारमार्ग बोलाएको छ ।

आफू जन्मदिनको पार्टी आयोजना गर्न भेन्यु खोज्न जाने क्रममा लण्डन पबमा पुगेको र सोही क्रममा श्वेताको परिवार र उत्सव झगडा गर्न गएको उनको उजुरीमा उल्लेख छ ।

उजुरीमा श्वेताले अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको र बहिनी आरतीले कुटपिट गरेको उल्लेख छ । आफूमाथि भएको कुटपिट र दुर्व्यवहारको प्रमाणको रुपमा भिडियो समेत उनले प्रहरीकहाँ पेश गरेकी छन् ।

कार्कीले विवादको जड भने यूट्यूवर उत्सव रसाइली भएको बताएकी छन् । रसाइलीले आफूलाई पहिलेदेखि नै नानाथरि ट्रोल गरेर अपमान गर्दै आएको उनको भनाइ छ ।

‘मलाई देखेपछि यो केटी को हो यसलाई निकाल भन्दै उसले ह्यारेसमेन्ट ग¥यो, अनि श्वेताका मान्छेहरु आएर हात हाल्ने काम गरे,’ उनले भनिन् ।

यूट्यूवर रसाइलीले भने सुष्माले आफूलाई अपशब्द प्रयोग र जातीय गाली गरेपछि झगडा शुरु भएको बताएका छन् । झगडाकै क्रममा श्वेताकी बहिनी आरतीले सुष्लाई एक थप्पड हानेको र कपाल लुछेको भने उनले स्वीकारेका छन् ।

‘सुष्मा कार्कीले भिडियो अन्तर्वार्तामा श्वेता र पूजा शर्मा लगायतलाई मात्र फेवर गर्ने र आफूलाई सपोर्ट नगर्ने भनेर कराउन थालिन्’, उनि भन्छन्, ‘कराउने क्रममा उनले ममाथि अपशब्द प्रयोग गर्दै जातीय गाली गरेको देखेर श्वेता दिदीको बहिनी आरती पनि आउनुभयो । उहाँले सुष्मालाई कपाल भुत्लाएर एक झापड हान्नुभएको हो । अलिअलि धकेलाधकेल पनि भएको थियो ।’

विवाद बढ्दै गएपछि अरुहरुले उनीहरुलाई छुट्टाएका थिए । सुष्माले गरेको गाली र अपमानविरुद्ध उनी आफू पनि बुधबार बिहान प्रहरीकहाँ निवेदन लिएर जाने रसाइलीले बताए ।

‘ममाथि गरिएको जातीय गालीले मलाई दुःखित तुल्याएको छ । जहाँसम्म श्वेता दिदीले दुब्र्यबहार गरेको कुरा छ, त्यो सरासर गलत हो’, उनले भने, ‘हामी पनि प्रहरीकहाँ गएर सुष्माविरुद्ध कारवाहीको माग गर्नेछौं ।’

नायिका सुश्मा कार्कीले प्रहरीमा उजुरी गरेपछि शालिन स्वभावकी नायिका श्वेता खड्का विवादमा तानिएकी छन् । तर सुष्मा कार्की भने आफ्नै सहकर्मीहरुसँग बेला बेला झगडा गरेका घटना सार्वजनिक भइरहन्छन् ।