बैशाख ४, २०८१ मंगलबार

महिलाहरुमात्रै मिलेर खोले दुई करोडमा ‘मिल मि’ रेष्टुरेण्ट



भक्तपुर – भक्तपुरका महिलाहरुले संयुक्त लगानीमा ठूला व्यवसाय शुरु गर्न थालेका छन् । पर्यटन तथा होटल व्यवसायमा महिलाहरुको लगानी गर्न थालेका हुन् ।

यसको नमूनाको रुपमा आजदेखि मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा रु. दुई करोडको संयुक्त लगानीमा ‘मिल मि’ रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ । ‘मिल मि’ को आज पूर्वमन्त्री एवं नेकपाका नेता महेश बस्नेतले उद्घाटन गरे । स्वदेशी तथा विदेशी पर्यटकदेखि परिवारसम्मलाई लक्षित गरी भक्तपुर जिल्ला मै पहिलो पटक एउटै छानामुनी स्वदेशी तथा विदेशी खानाका परिकार खुवाउने उद्देश्यले ‘मिल मि’ सञ्चालनमा ल्याएकोे प्रबन्ध निर्देशक विपना सापकोटा पौडेलले बताइन् ।

सापकोटा सहित दुर्गा राई, रमिता कासिछ्वा र भावना खरेलको संयुक्त लगानीमा ‘मिल मि’ सञ्चालनमा ल्याइएको हो । प्रबन्ध निर्देशक सापकोटाले ‘मिल मि’ ले विहान ७ देखि राति १० बजेसम्म सेवाग्राहीलाई सेवा दिने बताइन् ।

‘नेपाली, थकाली खाना, नेवारी तथा एशियाका बिभिन्न देशका खाना तथा खाजाका परिकार पस्कने गरी ‘मिल मि’ सञ्चालनमा ल्याएका छौ’, उनले भनिन्, ‘केही समय मै होम डेलिभरीको समेत व्यबस्था गर्दैछौं ।’

तत्कालका लागि भक्तपुरमा खोलिएको रेष्टुरेण्टको देशव्यापी रुपमा शाखा विस्तार गर्ने उद्देश्य रहेको सापकोटाले बताइन्। बेकरी उत्पादन आफ्नै रहेको ‘मिल मि’ मा एक पटकमा ३० जना अटाउने क्षमताको सेमिनार हल र १२० जना ग्राहक अटाउने बताइएको छ । ‘मिल मि’ मा २५ जनालाई रोजगारी समेत दिइएको छ । यहाँबाट भएको आम्दानीको दुई प्रतिशत रकम भक्तपुर जिल्लाको सामाजिक सेवाका क्षेत्रमा खर्च गरिने घोषणा गरिएको छ । एक महिनासम्म २० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको प्रबन्ध निर्देशक सापकोटाले जानकारी दिइन् ।

पूर्वमन्त्री बस्नेतले बैठक बस्नदेखि खाना खानसम्म राम्रो ठाउँ खोज्दै काठमाडौं जाने परम्पराको अब अन्त्य भएको बताउदै भक्तपुर विकाससंगै व्यवसायको केन्द्र बन्न थालेको बताए ।

‘प्रतिष्ठित व्यक्तिहरुको बसाईदेखि ठूला व्यवसाय भक्तपुरमा सञ्चालन हुन थालेका छन्, व्यवसायमा महिला लगानी पनि बढ्नुले थप हौसला प्रदान गरेको छ’, उनले भने । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, व्यवसायी विज्ञान राईले व्यवसायको नौलो आयामहरु भक्तपुरमा थपिँदै जानु उपलब्धीमूलक भएको बताउदै व्यवसायले बेरोजगार अन्त्यका लागि अप्रत्यक्ष रुपमा राज्यलाई सहयोग गरिरहेको बताए। रासस