बैशाख २, २०८१ आईतबार

अभिनेत्री करिश्मा अब ‘महानायिका’



काठमाडाैं – राजेश हमाललाई महानायक उपाधिबाट सम्मान गर्ने आरके इन्टरटेनमेन्ट ग्रुपले अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधिबाट सम्मान गरेको छ ।

आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा ग्रुपले करिश्मालाई महानायिका उपाधिबाट सम्मान दिएको हो। सो ग्रुपले एघार वर्षअघि अभिनेता राजेश हमाललाई महानायकको उपाधिबाट सम्मान गरेको थियो। १४ वर्षको कलिलो उमेरबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी करिश्माले २०४२ मा फिल्म ‘सन्तान’बाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी थिइन्। झन्डै तीन दशक फिल्म क्षेत्रमा सक्रिय उनी चर्चा र सफलताको केन्द्रमा रहिन्। मायालु, कस्तुरी, ट्रक ड्राइभर, पन्छी, साथी, बसन्ती, आदि उनका चर्चित फिल्म हुन्। करिश्मालाई राजेश हमालले महानायिका लेखिएको स्यास र क्राउन लगाइदिएका थिए ।

‘म एक कलाकार हुँ। यसलाई मैले अरू कलाकारहरूले मलाई गरेको सम्मानको रुपमा लिएकी छु,’ करिश्माले भनिन्, ‘म जे छु त्यसलाई आत्मसात गरेर सम्मान गर्नुभयो। त्यसमा खुशी छु।’

कार्यक्रममा करिश्मा जस्तोसुकै परिस्थितिमा पनि आफू सिनेमाबाट टाढा नहुने बताइन्। ‘नमरुन्जेल पर्दामा आइरहने प्रक्रिया जारी नै हुनेछ,’ उनले भनिन्।

आरके इन्टरटेनमेन्ट ग्रुपले फिल्म क्षेत्र चलायमान राख्न र योग्य व्यक्तिलाई सम्मान गर्न महानायिकाको दर्जाबाट करिश्मालाई सम्मान गरेको बताएको छ। कार्यक्रममा करिश्मा र राजेशबाहेक निर्देशक तथा कलाकार नीर शाह, नेपाल विद्युत प्राधिकरणका पूर्व(कार्यकारी निर्देशक कुलमान घिसिङ, शिक्षा तथा समाजसेवी रमेश अधिकारीलगायतलाई राष्ट्रिय सम्मान दिइएको थियो।