चैत्र १६, २०८० शुक्रबार

डिजल पेट्रोल र मट्टीलेतको मूल्य २ रूपैयाँले बढ्याे, ग्याँसको पनि २५ रुपैयाँ बृद्धि



काठमाडाैं –  सरकारले इन्धनको मूल्य बृद्धि गरेको छ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर २ का दरले र खाना पकाउने एलपी ग्याँसको मूल्य २५ रुपैयाँ बृद्धि गरेको हो ।

आजराती १२ बजेदेखि लागू हुने गरी बढेको मूल्य लागू हुने नेपाल आयल निगमका प्रवक्ता विनित मणि उपाध्यायले बताए । नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गरेपछि हरेक अँग्रेजी महिनामा भारतीय आयल कर्पोरेसनबाट प्राप्त मूल्यको आधारमा इन्धनको मूल्य परिमार्जन गर्दै आएको भएपनि यसपटक बीचमै अकारण मूल्य बढाएको छ ।

तर आयल निगमलाई इन्धनको मूल्यमा घाटा भएकोले मूल्य बढाएको सरकारी दावी छ । आयल निगमका अनुसार अझैपनि निगमलाई १५ दिनमा (अर्धमासिक) रु ७३.८७ करोड घाटा हुने निगमले जनाएको छ ।

अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल/मटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ ।

निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो । खाना पकाउने ग्याँसकाे भाउ एक वर्षपछि बढेकाे हाे । हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । यसअनुसार १५ दिनमा निगमको घाटा ७३.८७ करोड रहने निगमले जनाएको छ । स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने उपाध्यायले बताए ।