बैशाख १, २०८१ शनिबार

आयल निगमका गाडी जतिबेला पनि कारबाहीमा पर्न सक्ने चेतावनी



काठमाडौं – नेपाल आयल निगमलाई  ४८ घण्टाभित्र इन्धनको मूल्यबृद्धि फिर्ता लिन अनेरास्ववियूकाे रञ्जित तामाङ समूहका  विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

मूल्य वृद्धि गरेको विरोधमा आयल निगम घेर्न पुगेका विद्यार्थीले ४८ घण्टाभित्र मूल्यबृद्धि फिर्ता नलिए जस्ताे सुकै कारबाही गर्न सक्ने चे’ताव’नी दिएका हुन् । ‘हामी ४८ घण्टाभित्र मूल्यबृद्धि फिर्तालिन आग्रह गर्दछौं’, आन्दोलनको क्रममा बोल्दै अनेरास्ववियूका संयोजक तामाङ्गले भने, ‘जनतालाई असर गर्नेगरि गरिएको मूल्यबृद्धि फिर्ता भएन भने जे पनि हुन सक्छ ।’

उनले जनतासँग इन्धनकाे मूल्यबृद्धिका नाममा निगमले चर्को मूल्य असुलेर सरकारले दुरूपयाेग गरेकाे र  निगमका कर्मचारीले सवारीसाधन दुरुपयोग गर्ने गरेको समेत आरोप लगाए ।

मूल्यबृद्धि फिर्ता नभएमा आफूहरुले कर्मचारीका गाडि जहाँ जुनसुकै बेला पनि रोकेर कारबाही गर्ने समेत चे’ताव’नी दिए ।सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य बढाएपछि चौतर्फी बिरोध भएको छ ।

अनेरास्ववियूले मूल्यबृद्धिको बिरोधमा आज देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन समेत गरेको छ । नेपाल आयल निगमले पछिल्लो पटक यही फागुन चार गते डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो । त्यसअघि गत माघ २८ गते पनि खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ तथा पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको थियो ।