बैशाख १२, २०८१ बुधबार

छात्राहरूका लागि विद्यालयमै आराम कक्ष, अरू विद्यालयका लागि उदाहरण बन्न सक्छ



मोरङ । महिनावारीका बेला तनाव व्यहोरिरहेका छात्रालाई ‘रेष्ट रुम ’स्थापनापछि सहज भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–८ स्थित सालबन्दीस्थित जनक माध्यमिक विद्यालयका छात्राका लागि अलग्गै ‘रेष्ट रुम’ स्थापना भएपछि उनीहरूलाई सहज भएको हो ।

विद्यालयले ‘महिनावारी कुनै समस्या होइन, यो त प्राकृतिक प्रक्रिया मात्र हो’ भन्ने नाराका साथ रेष्ट रुमको स्थापना गरेर छात्राको विद्यालय नआउने समस्याको अन्त्य गरेको हो । विद्यालयले महिनावारी हुँदा छात्रालाई पेट दुख्ने र सेनेटरी प्याडको समस्यालाई समाधान गर्नका लागि विसं २०७५ देखि सो रुमको स्थापना गरी सञ्चालनमा ल्याएको छ । रेष्ट रुममा निःशुल्क प्याड उपलब्ध गराउँदै आएको छ ।

विद्यालयका छात्राले महिनावारी हुँदा धेरै कष्ट हुनुका साथै आफ्नो समस्या उजागर गर्न गाह्रो हुनाले अध्ययनका लागि नआउने गरेको बताएका छन् ।

छात्रा रामकुमारी मगरले निःशुल्क प्याड लगायत आराम गर्न विद्यालयले नै काेठा  उपलब्ध गराइएपछि अहिले सधैँ विद्यालय आउने गरेको बताइन् ।

यस्तै अर्का छात्रा निर्मलाकुमारी दाहालले आफूलाई परेको समस्या शिक्षिकालाई भन्न सहज भएको र कपडाको सट्टा सफा प्याडले जोखिमलाई न्यूनीकरण गरेको बताइन्। नगरपालिका, दातृ संस्थाको सहयोगमा उपलब्ध औषधिलगायत प्याड छात्राको अध्ययनमा हुने बाधालाई अन्त्य गर्न वितरण गरिएको प्रधानाध्यापक तेजप्रसाद भट्टराईले बताए ।

उनले छात्रालाई आइपर्ने समस्या सहजरुपमा भन्नका लागि विद्यालयकी आयामार्फत जानकारी प्राप्त भई समाधान गर्ने कार्य गरिरहेको बताए । विसं २०२५ म निम्नमाध्यमिक विद्यालयको रूपमा स्थापना भई विसं २०५४ देखि माध्यमिकरुपमा सञ्चालन भएको विद्यालयमा अहिले २२८ विद्यार्थीमध्ये ११२ छात्रा अध्ययन गरिरहेका छन् । विद्यालयमा शिशु कक्षादेखि १० कक्षासम्म अध्ययन हुने गरेको छ ।

विद्यार्थीलाई लामो अध्ययनबाट झर्को नलागोस् भन्नका लागि प्रत्येक दुई पिरियडपश्चात् १० मिनटको ब्रेकको व्यवस्था गरेको विद्यालयले जनाएको छ । यसबाट उनीहरूलाई अध्ययनमा लगनशीलता जगाउनका साथै शिक्षकलाई अध्यापनको समयमा कुनै बाधा समेत नहुने गरेको छ । विद्यालयबाट परिसरबाट विद्यार्थी वाहिर नजाउँन तथा अनुशासन कायम गर्न कक्षा सञ्चालन भएपश्चात् गेटमा ताल्चा लगाउने गरिएको छ । विद्यालयले विद्यार्थीलाई विपद्का समयमा आफू, आफ्ना परिवार र समाजलाई बचाउन व्यावहारिक शिक्षाका साथ तालीम दिने कार्यको व्यवस्था समेत गरेको छ ।

विद्यालयको हाताभित्र अलग्गै कक्षा कोठामा ‘चट्याङबाट बच्न अपनाउनुपर्ने उपाय’ का लागि समय–समयमा विशेषज्ञ र शिक्षकको माध्यमबाट सैद्धान्तिक तथा व्यावहारिक ज्ञान विद्यार्थीलाई प्रदान गर्ने गरिएको छ । यसैगरी विद्यालयले विशेष शिक्षाअन्तर्गत सुस्तश्रवण विद्यार्थीका लागि आवासीयरुपमा अध्ययनको व्यवस्था गरिरहेको छ ।

विद्यालयमा यस्ता फरक क्षमता भएका विद्यार्थी कक्षा छ, पाँच, चार र दुई गरी छात्रा छ जना र छात्र चारजना गरी १० जनाले आवासीयरुपमा अध्ययन गरिरहेको प्रअ भट्टराईले जानकारी दिए । सङ्घीय सरकारले फरक क्षमता भएका आवासीय विद्यार्थीका लागि प्रति विद्यार्थी रु चार हजार उपलब्ध गराउँदै आएको र सोही रकमको माध्यममाट उनीहरूले अध्ययन गरिरहेको उनले बताए ।

विद्यार्थीका लागि प्राप्त हुने उक्त रकमबाट खानालगायत अन्य सम्पूर्ण सामानको जोहो गर्नुपर्ने भएकाले प्राप्त रकम न्यून रहेको छ । साथै सोही रकमबाट अध्यापन गराउका लागि राखिको एक शिक्षकको पारिश्रमिकसमेत भुक्तानी गर्ने गरेको प्रअ भट्टराईले बताए । फरक क्षमता भएका विद्यार्थीलाई अध्यापन गराउने शिक्षकलाई आठ हजार रुपैयाँ मात्र पारिश्रमिक उपलब्ध गराउने गरेका र यसले उनको श्रम शोषण भएको बताउँदै बाध्यताले यस्‍तो गर्नु परेकाे उनको भनाइ छ ।

यस सम्बन्धमा नगरपालिकालगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि अहिलेसम्म समस्या समाधान हुन नसकेको प्रअ भट्टराईको गुनासो छ । यसैगरी विद्यालयको प्राङ्गणमा ‘अपाङ्गमैत्री’ शौचालयको निर्माण कार्य द्रूत गतिमा भइरहेको छ । ‘समुदायको विपद् उत्थानशीलताका लागि सुरक्षित विद्यालय परियोजना’अन्तर्गत प्लान इन्टरनेशनल र फरवार्ड नामक गैरसरकारी संस्थाको सहयोगमा १३ लाख ७५ हजार ८३५ रुपैयाँको लगानीमा सो शौचालयको निर्माण भइरहेको छ ।

अपाङ्गता भएका विद्यार्थीलाई मैत्रीशौचालय उपलब्ध नुहँदा समस्या हुने गरेको र यसले उनहरुको अध्ययनमा समेत बाधा पुर्‍याइरहेकाले शौचालयको निर्माणमा सहयोग गरिएको फरवार्डकी गनिता चौधरीले जानकारी दिइन्। उनले यही फागुन २५ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा अहिले छत ढलान कार्य मात्र सम्पन्न भएको बताउँदै आउँदो चैत महिनाभित्र सम्पूर्ण कार्य सम्पन्न भई सञ्चालनमा आउने बताइन् । यहाँका बालबालिकालाई सामुदायिक विद्यालयमा अध्ययनका लागि आकर्षण गर्न कक्षा तीनसम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन भइरहेको विद्यालयका शिक्षक सरोज दाहालले जानकारी दिए ।

उनले प्रत्येक वर्ष अङ्ग्रेजी माध्यमबाट पढाइ हुने कक्षा थप गर्दै जाने नीति विद्यालयले लिएको बताए । उनले अङ्ग्रेजी माध्यमको कक्षा अझ व्यवस्थितरुपमा सञ्चालनका लागि थप निजी शिक्षकको व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता रहेको जानकारी दिए । दुई बिघा जग्गा क्षेत्रफलमा फैलिएको सो विद्यालयको खेलकूद मैदानलाई व्यवस्थित गर्न बजेटको अभाव रहेको छ । बजेट अभावका कारण खेलमैदान क्षेत्रमा पर्खाल लगाउन नसकिएको उनको भनाइ छ।

प्रदेश नं १ उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतको पहलमा विसं २०७६ मा स्थापना भएको विज्ञान प्रयोगशाला विगत छ महिनादेखि शिक्षक अभावका कारण सञ्चालन हुन सकेको छैन । गत असोजमा प्रयोगशाला शिक्षकको अन्यन्त्र सुरुवा भएका कारण विद्यार्थीले उचित अध्ययन, अनुसन्धान एवं प्रयोगात्मक शिक्षा आर्जन गर्न नपाएको उल्लेखगर्दै प्रअ भट्टराईले यस सम्बन्धमा सम्बन्धित निकायमा जानकारी गराएको बताए ।

यसैगरी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट विद्यालयका चार शिक्षकलाई प्रदान गरिएको आइसिटी तालीम कम्प्युटरको अभावका कारण सदुपयोग हुन नसकेको विद्यालयले जनाएको छ । कम्प्युटर अभावका कारण शिक्षकले तालीमबाट आर्जन गरेका ज्ञानको समुचित प्रयोग हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै प्रअ भट्टराईले विद्यालयका लागि आवश्यक पर्ने कम्प्युटर चाँडै नै उपलब्ध गराउन सरकारसँग आग्रहसमेत गरे । विद्यालयले प्राविधिक शिक्षाको आवश्यक्ता बोध गरे पनि भौतिक पूर्वाधार, दक्ष शिक्षककर्मीको कारण सञ्चालन गर्न नसकेकोमा प्रअ भट्टराईले दुखेसो व्यक्त गरे ।

उनले शिक्षालाई रोजगारीसँग जोड्न प्राविधिक शिक्षा आवश्यक रहेको बताउँदै यस सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए ।

विद्यालयले दलित एवं आदिवासी छात्रालाई छात्रवृत्तिको रकम प्रत्येक वर्ष ४०० रुपैयाँका दरले वितरण गरेको उनले बताए । ग्रामीण क्षेत्रमा स्थापित विद्यालयले यस क्षेत्रका विद्यार्थीलाई जीवनउपयोगी ज्ञान प्रदान गरी उनीहरुलाई भविष्यमा राष्ट्रको मेरुदण्डको बनाउने कार्यमा लागेकोमा स्थानीयवासी खुशी र प्रसन्न रहेका छन् ।