>

असार ७, २०७८ सोमबार

‘जब मैले पढ्न र पत्रकारिता गर्न खोजेँ त्यसपछि चरित्रहिनको नाम पाएँ ’



हाम्रो समाजमा बस्ने विभिन्न विचार र धारणा अनि मान्यता राख्ने मानिसहरूबीच एउटाको कुरासँग अर्कोको कुरा मिल्दैन । अर्कोको विचारसँग एउटाको विचार मिल्दैन । सबै मानिस एकै प्रकृतिको भए पनि त समस्या त हुन्थ्यो होला नी । नत्र कसैले कसैमाथि प्रश्न गर्ने कुरा नै हुँदैनथ्याे । कसैले कसैको कमजोरी अनि बल को कुरा पनि गर्दैनथे होला ।

संसारका हरेक ठाउँका मानिस हरेक जात, धारणा, मान्यता, धर्म, संस्कारका छन् । सोही संस्कार अनि मान्यतामा अघि बढेका छन् । कतिपय भने आधुनिकतातर्फ पनि आकर्षित छन् । केही भने पहिले कै कुरा, पहिलेकै बानी व्यहोरा दोहोर्‍याइरहेका छन् । म एउटा सामान्य परिवारमा जन्मिएकी केटी । हरेक कुरा परिवारका सदस्यको सल्लाह, सुझावका साथ हुर्कंदै आएकी थिएँ।

मेरा बुबाआमाले अनि आफन्तले मेरो लागी नराम्रो कहिल्यै सोच्दैन झै लाग्थ्यो । गाउँकै विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेर बेँसीसहरमा कक्षा ९ मा पढ्न आएँ । पढाई चल्दै गयो । एसएलसीको नतिजा पनि राम्रै आयो । मैले के पढ्दा ठिक हुन्छ, कहाँ जाँदा ठिक हुन्छ भनेर सल्लाह दिने कोही पनि भएन । राम्रो विषय पढाउन परिवारको अवस्था पनि थिएन ।

साथीभाइसँग सल्लाहमा बेँसीसहरमै व्यवस्थापन विषय लिएर अध्ययन गरेँ । कक्षा १२ मा पढ्दै गर्दा मेरो बिहेको कुरा चल्यो । यति छिट्टै बिहे गर्छु भन्ने सोचेको थिएन । तर, भने जस्तो कहाँ हुने रहेछ र । विवाहपछि पनि पढाउने, कुनै रोकतोक नगर्ने भन्ने कुरा आएपछि परिवार, आफन्तको जोडले बिहे गरे ।

तर, मलाई थाहा थिएन, जब मेरो बिहे भयो, तब मेरा आँशुमा डुब्ने दिन सुरु हुन्छ भनेर । यतिबेलासम्म मैले बेंसीसहरको एउटा रेडियोमा रिर्पोटरको रुपमा काम गरिसकेको थिएँ । बिहे भएको एक बर्षमा सासुको निधन भयो । घर सम्हाल्ने जिम्मा मेरो टाउकोमा थुपारियो । मलाई भने पढाई र पत्रकारिता छोड्न कत्ति मन लागेन । बाध्यतामा घरमा गएर बसेँ । कामकाज गरे ।

तर, मन मानेन हरेक दिन मेरा आँखाबाट आँशु बग्थ्यो । हरेक दिन ममा निराशा छाउँथ्यो । किन बिहे गरेँ मैले भनेर । बिहेबिहे गरेर ठूलो भूल भएको अनुभूति भयो । मेरा अफिसका दाइदिदीले दैनिक जसो फोन गरेर अब जागिरलाई निरन्तरता दिनुपर्छ, पढ्नुपर्छ भनेर सम्झाउनुहुन्थ्यो । 

तर, मेरो घरका सदस्य भने मैले अब घर नै धान्नुपर्छ । बुहारी भएपछि घर सम्हाल्ने हो । कमाई गर्ने होइन भनेर भनिरहन्थे । कहाँसम्म भने, जुन केटीले बिहे गरेर घर सम्हालेर बस्छ, छिट्टै बच्चा जन्माउँछ, ठूला घाँसका भारी, दाउराका भारी, दैनिक खेतबारीमा काम गर्छ उसैको प्रशंसा गरेको मेरो कानले सुनेको थिएँ । बजार बस्ने होइन भनेर पटकपटक भनिरहेका हुन्थे । मलाई पटक्कै यो कुरा मन परेन । मैरै मनजफ्तीले सदरमुकाम फर्किए र काम सुरु गरे । पढाईलाई निरन्तरता दिएँ ।

जब म जाँगिरमा फर्किएको थिएँ, तब मेरो श्रीमान विदेश गइसकेका थिए । जति नजिक हुँदा माया थियो, त्यती टाढा भएपछि विस्तारै कम हुँदै गयो । म एउटा केटी मान्छे, त्यसैमाथि पत्रकारितामा लागेको । हरेक व्यक्तिसंग भेटघाट, चिनजान, कुराकानी भनेको दैनिकी नै हो । जति धेरैसंग सम्पर्क, सहकार्य गर्न सके उत्तिकै काम गर्न सहज हुने पेशा ।

तर, कसले बुझ्ने मेरो काम ? काममा लागेपछि भनेको समयमा घर जान सकिन । श्रीमानको फोन आएको बेलामा उठाउन सकिन । अनि मलाई नकरात्मक रुपमा हेर्न थाले परिवारले । त्यसैमाथि मेरो काम देखेर डाहा गर्नेहरु परिवारमा नचाहिँदो कुरा लगाउन पछि हटेन । मलाई मन परेको अनि मैले छानेको काम गर्दा अरुलाई मन नपर्ने रहेछ । हुन त, सबै म जस्तो हुन्छ भन्ने पनि छै नि ! 

हरेक दिन जसो श्रीमानले तँ यस्तो, त उस्ताे रे । यस्तो गर्दै हिँड्छरे भन्ने शब्द फेसबुकको म्यासेन्जरमा आउँथ्यो । मैले बुझ्न खोजेँ के कुरा हो ? कसले भनेको ? मैले के गरेँ भनेर । तर, कहिल्यै उत्तर आएन । मात्र तँ यस्तो र उस्तो । राम्रोसंग कुरा गर्न चाँहदा पनि कुरा गर्न खोजेनन् । पटकपटक मलाई चरित्रहिनको संज्ञा दिने । म धेरैसँग बोल्ने, हिँड्ने भएर होला सायद उनलाई मन नपरेको । बिहे अघि त्यो काम मन पराउनेले समय ढल्किँदै जाँदा मन पराउन छाडे । मलाई बुझ्न छाडे । मेरो विश्वास गर्न छाडे ।

अनि बल्ल बुझ्दै गएँ, सायद म गाउँमा बसेको भए, घर सम्हालेर, घाँस दाउरा, मेलापात गरेर, बालबच्चा खेलाएर बसेको भए म एउटा असल बुहारी हुने थिएँ । पढ्न खोजेँ । जागिर खान खोजेँ । त्यही भएर मैले चरित्रहिनको संज्ञा पाएँ । यस्ता शब्दले कति पटक मेरो मन छिया–छिया भयो भनेर मलाई थाहा छ । तर, पनि बाँच्ने र अरुको सामु केहि गरेरै देखाउँछु भन्ने लागेर बसेको छु । आफुलाई सन्तुष्टी मिल्ने र मन पर्ने काम गर्दा त्यो केटी चरित्रहिन हुन्छ भनेर कहाँ लेखेको छ होला भनेर मेरो मनमा उब्जिरहन्थ्यो ।

जब एउटा केटी मान्छे, आफ्नो इच्छा अनुसार प्रतिष्ठाकाे पेशा गर्छे र हिँड्छे भने त्यो नराम्रो केटी नै हुन्छे त ? याे मेराे समाजसँग सोध्न मन लागेको प्रश्न हाे । जब महिला आत्मर्भिर हुन चाहन्छे, नाम कमाउन चाहन्छे, धेरै जनासंग चिनजान गर्न चाहन्छे, भविष्यमा सफल हुन चाहन्छे, त्यो महिलालाई नराम्रो दृष्टिले किन हेरिन्छ हाम्रो समाजमा ? समाज मात्र नभएर अझ भनौं भने आफ्नै दाजुभाई, दिदीबहिनीले समेत राम्रो मान्दैनन् ।

विहान ६ बजेदेखि राति ९ बजेसम्म कोठाबाट बाहिर भएपछि उसको बारेमा सोँच्ने र नराम्राे भन्नेहरु धेरै हुने रहेछन् । त्यसै मध्येको म एउटी हुँ । जब म विहानको समाचार बाचनका लागि जान्छु, तब खाना खाने केही समय छुट्याएर कोठा आउँछु र पुन: फर्किन्छु । काम भ्याएर कोठा फर्कदा ९ बजिसकेको हुन्छ ।

यसरी बाहिर धेरै बस्नेलाई नराम्रो सोच्नुभन्दा के काम गर्दो रहेछ ? कत्तिको दुःख रहेछ ? भनेर सोँचिदिने मान्छे भए हुन्थ्यो जस्तो लाग्छ । तर कोही भेटिन । आफन्तले त बुझेन, पराईको के कुरा गराैँ । जति पीडा र रोदन भएपनि म अघि बढिरहेको छु । पाइला रोक्न भने सकको छैन । परिवारले नै किन नराम्रो सोचोस् मेरो काममा सफलता पूर्वक अघि बढ्ने अठोट आएको छ मनमा ।

पीडापीडा भोग्दै आएर आजभोली कसैको कुरा नसुनी अघि बढ्न मन लाग्छ र बढेको पनि छु । तर, हौसला र प्रेरणा दिने भने आमा बुवा बाहेक कोही भेटिन । अनि पटकपटक आफैंलाई प्रश्न गर्न मन लाग्छ काममा हाैसला दिने साथ र सहयोग गर्ने भनेकाे केटासँग बिहे गरेर के पाएँ ? आफ्नै पौरखमा बाँच्न खोज्दा साथ पाउनुकाे साटाे पाएँ त केवल चरित्रहीनको नाम अनि घृणा । ए समाज ! ‘बुहारी भएपछि घाँस दाउरा बाहेक इज्जत प्रतिष्ठकाे काम नगर्ने ?’