बैशाख २, २०८१ आईतबार

जनगणनाका लागि छ गुणा बढी दरखास्त



भरतपुर । आगामी १२औँ राष्ट्रिय जनगणनाका लागि चितवनमा दरबन्दीभन्दा करिब छ गुणा बढी दरखास्त परेको छ । चितवनमा गणक र सुपरीवेक्षकका लागि छ हजार ७९३ जनाको दरखास्त परेको हो । चितवनका जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले चितवनमा २०३ सुपरीवेक्षक तथा ८९५ गणकको दरबन्दी सिर्जना गरिएको जानकारी दिए ।

चितवनका लागि आवश्यक दरबन्दीभन्दा अनलाइनमार्फत फारम भर्नेको सङ्ख्या करिब छ गुणा बढी हो । त्यस्तै दरखास्त दिनेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या दोब्बर छ ।भण्डारीले चितवनमा जनगणनाका लागि तीन हजार ६१८ महिला, एक हजार ८६४ पुरुष तथा दुई जना अन्य लिङ्गीले अनलाइन फारम भरेको जानकारी दिए। जनगणना तयारीको काम तीव्ररूपमा अगाडि बढेको भन्दै जिल्लाका सात स्थानमा आगामी वैशाख १ गते स्थानीय जनगणना कार्यालय स्थापना गरिने उनले बताए ।

भण्डारीका अनुसार भरतपुरको भरतपुर–१०, भरतपुर–६ गीतानगर र भरतपुर–१८ चनौलीमा स्थानीय जनगणना कार्यालय स्थापना गरिँदैछ ।

त्यस्तै कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका हेर्ने गरी कालिकामा, रत्ननगर नगरपालिका लागि रत्ननगर नगरपालिकामा तथा राप्ती र खैरहनी हेर्ने गरी राप्ती नगरपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना हुने भण्डारीले बताए । भण्डारीका अनुसार भरतपुरमा मात्रै ४६२ गणक र १०४ सुपरीवेक्षकको दरबन्दी रहेको छ । त्यस्तै माडीमा ५३ गणक र १४ सुपरीवेक्षक, रत्ननगरमा १२२ गणक र २४ सुपरीवेक्षक, कालिकामा १०५ गणक र २२ सुपरीवेक्षक तथा राप्तीमा १५३ गणक र ३९ सुपरीवेक्षक आवश्यक पर्छ ।

सुपरीवेक्षकका लागि चैत २० गते सम्पर्क मिति तोकिएको भण्डारीले बताए । उनले सुपरीवेक्षकलाई वैशाख १६ देखि २२ गतेसम्म तालिम दिइने तथा वैशाख १६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरणको काम हुने जानकारी दिए । जेठको १० देखि १४ गतेसम्म गणक नियुक्ति तथा १७ देखि २२ सम्म तालिम हुने उनले बताए ।

मुख्य गणना भने २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुने भन्दै असार ८ गते नै १२औँ राष्ट्रिय जनगणना दिवस मनाइने भण्डारीले बताए । असोज मसान्तसम्म प्रारम्भिक नतिजा सार्वजनिक गरिने भण्डारीको भनाइ छ । त्यस्तै २०७९ वैशाखबाट अन्तिम नजिता प्रकाशन हुने कार्यसूची रहेको उहाँले बताउनुभयो । यसपटक १४ वटा विषयमा विषयगत प्रतिवेदन प्रकाशन हुनेछ ।