चैत्र १६, २०८० शुक्रबार

प्रतिनिधिसभामा एमालेको समानुपातिक साँसद जानकीदेवी निर्वाचित



काठमाडौं । रिक्त प्रतिनिधिसभाको सदस्यमा जानकीदेवी राम निर्वाचित भएकी छन् । नेकपा एमालेको दलित महिलातर्फको कोटाबाट समानुपातिक साँसद सानु शिवाको निधन भएपछि रिक्त रहेको पदमा जानकीदेवी निर्वाचित भएकी हुन् ।

समानुपातिक साँसदको पद रिक्त भएपछि निर्वाचन आयोगले पार्टीले पहिला नै बुझाएको उम्मेदवारको बन्दसूचीमा रहेका उम्मेदवारबाट रोलक्रमका आधारमा साँसद निर्वाचत गर्ने गर्दछ । सोही अुनसार उम्मेदवारको सूचीमा रहेकी सिरहाकी जानकीदेवी निर्वाचित भएको जानकारी संघीय संसद सचिवालयलाई गराउने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

एमालेको चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले सानु शिवाको निधन भएपछि रिक्त रहेको समानुपातिक सांसदमा जानकीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

बन्दसूचीमा धनकुमारी सुनारको नाम रोलक्रमले पहिला रहेपनि उनले पार्टी परित्याग गरेकाले उनीपछिको सूचीमा रहेकी जानकीलाई निर्वाचित गरिएको जनाइएको छ ।

जानकीदेवी राम निर्वाचित भएसँगै अब प्रतिनिधिसभामा एमालेका १२१ सांसद भएका छन् ।समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन आयोगमा पार्टीहरूले बुझाएको बन्द सूचीका आधारमा र सम्बन्धित क्लष्टरबाटै नाम सिफारिस गर्नुपर्ने प्रावधान छ। पद रिक्त भएको आधिकारिक जानकारी पाएपछि निर्वाचन आयोगले दलहरूले पहिले बुझाएको बन्द सूचीबाटै अर्को व्यक्ति चयन गर्नेछ। आयोगका अनुसार पद रिक्त भएको आधिकारिक जानकारी आयोगमा गएको छैन।