चैत्र १५, २०८० बिहीबार

दलितको जीवन महत्त्वपूर्ण कि मन्दिर ?



काठमाडौं । सांसद सुजता परियारले मन्दिर संरक्षणका नाममा इलाममा दलित परिवारलाई विस्थापित गरेको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद परियारले इलाम नगरपालिका वडानम्बर ७ स्थित भिमसेनस्थान मन्दिर संरक्षण र सम्वर्द्धनका बहानामा नगरपालिकाले पुस्तौदेखि बसोबास गर्दै आएका दलितहरूको घरपरिवारलाई उठिवास लगाउने काम गरेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएकी हुन् ।

‘मन्दिर छेउमा दलितको घर भयो, नियमित पुजापाठ गर्दा दलितको अनुहार देख्नुपर्यो, दलितहरुका कारण मन्दिर अछुतो भयो भन्दै इलाम नगरपालिका वडा नम्बर ७ स्थित भिमसेनस्थान मन्दिर संरक्षण र सम्वर्द्धनको बहानामा इलाम नगरपालिकाले इलाम बजारमा पुस्तौदेखि बसोबास गर्दै आएका दलितहरुको घरपरिवारलाई उठिवास लगाउने कार्य गरेको छ’, परियारको भनाई छ । त्यस्तै उनले यस्तो व्यवहार दलितमाथिको विभेदको पराकाष्ठा भएको भन्दै दलितको जीवन भन्दा मन्दिरको संरक्षण महत्वपूर्ण हुन नसक्ने समेत बताइन् ।

‘यो दलितमाथिको विभेदको पराकाष्ठा हो । दलितहरुको जनजीवन भन्दा मन्दिरको संरक्षण कसरी महत्वपुर्ण हुनसक्छ ?’ परियारको प्रश्न छ । उनले समतामुलक समाज यस्तो हुन नसक्ने भन्दै थप प्रश्न गरिन्, ‘सम्मृद्ध नेपाल सुखी नेपालीको नारा दलितमाथि किन लागु हुदैन ? संरक्षणका नाममा मन्दिर नजिक घर भएकाहरुलाई विस्थापित गरिनु कहाँको न्याय हो ?’