चैत्र १६, २०८० शुक्रबार

कोरोनाभाइरसको संक्रमण भएकी पूर्वरानी कोमलको स्वास्थ्यमा अझैँ भएन सुधार



काठमाडौं ।  कोरोनाभाइरसको संक्रमण भएकी पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आउन सकेको छैन।

राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी शाहलाई बिहीबार प्लाज्मा दिइएको थियो। कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसियूमा राखेर उपचार थालिएको थियो।

आइसियूमा राखेर उपचार गरिरहे पनि अवस्था सुधार नभएपछि उनलाई प्लाज्मा दिइएको थियो।

उपचारमा संलग्न नर्भिक इन्टरनेशनल अस्पतालका डाक्टरले प्लाज्मा दिँदा पनि उनले स्वास्थ्यलाभ लिन नसकिरहेको बताए।

‘प्लाज्माबाट उहाँको रगतमा आवश्यक अक्सिजनको मात्र बढ्नुपर्नेमा त्यो हुन सकेको छैन,’ स्रोतले भन्यो।

कोमललाई पहिलेजस्तै प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिइएको छ।

शाहको स्वास्थ्य स्थिर र गम्भीर रहेको नर्भिकका अस्पताल स्रोतले जानकारी दियो।

‘उहाँको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार आउन सकेको छैन, पहिलेकै अवस्था हो,’ स्रोतले भन्यो।

उपचारमा संलग्न डा: जेपी जैसवालले भने पहिलेभन्दा स्वास्थ्यमा सुधार आएको बताए।

कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल र छोरी प्रेरणा वैशाख ७ गते नर्भिकमा भर्ना भएका थिए।

ज्ञानेन्द्र र प्रेरणा पाँचौं तलाको भिभिआइपी उपचार कक्षमा छन्। उनीहरूको स्वास्थ्य सामान्य छ। पूर्वरानी कोमललाई भने तल्लो तलाको आइसियूमा राखिएको छ।