चैत्र ६, २०८० मंगलबार

 गाउँमै सिलाइकटाइमा डिप्लोमा, महिलालाई आत्मनिर्भर बनाउने मदानेको अभियान



गुल्मी – गुल्मीको मदाने गाउँपालिकाका महिलाले गाउँमै डिप्लोमा तहको सिलाइकटाइ तालिम पाएका छन् । गाउँपालिकाले साधारण सिपयुक्त सिपमा दक्ष र निपूर्ण बनाउनका लागि ५७ जना महिलालाई गाउँमै डिप्लोमा तहको तालिम दिएको हो ।  

आजभोली सिलाइकटाइ लगायतका विभिन्न तालिमका नाममा लाखौँ रकम खर्च हुने भएपनि दक्षता हासिल हुन नसकेर उपलब्धि शून्य देखिएकोले यसरी डिप्लोमा तहको तालिम सञ्चालन गरिएको गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोख्रेलले बताए ।

 डिप्लोमा तहको तालिम लिएकाहरू सीपमा निपूर्ण हुने भएकोले बेरोजगार बस्नु नपर्ने उनको भनाई छ । तालिम लिएकाहरू सामान्य कडादेखि कर्मचारीका ड्रेससम्म गाउँमै सिलाउन सक्ने भएको तर कोभिडको कारण भएको लकडाउनले तालिम पूरा हुन नपाएको हुँदा केही समयमै तालिम पूरा गरिने पोख्रेलले बताए । 

त्यसैगरी पालिकाले अन्य २ सय ६० जना महिलालाई सिलाइकटाइ आधारभूत तालिम पनि दिएको छ । तालिम लिएकाहरू सके गाउँमै स्वरोजगार बन्ने नभए अन्यत्र पनि रोजगारी पाइरहेका छन् । तालिम लिएर आफै पसल सञ्चालन गर्न चाहने तर आर्थिक अवस्था कमजोर भएकाहरूलाई ८० थान सिलाई मेसिन निःशुल्क प्रदान गरिएको छ ।

महिलाहरूलाई सीप मार्फत स्वरोजगार बनाउनका लागि गाउँपालिकाले मैनबत्ती बनाउने तालिम, सल बुनाई तालिम, मुडा बनाउने तालिम, ब्युटिपार्लर तालिम, धातुका चुरा बनाउने तालिम, टपरी गाँस्ने तालिम लगायतका तालिम दिएर आत्मनिर्भर हुने कार्यक्रम सञ्चालन गरेको छ ।